प्रदेश नं २ मा पर्ने ‘लालबन्दी नगरपालिका’ मुख्य व्यापारिक क्षेत्र पनि हो । सत्र वडा रहेको नगरपालिकाका सिमाना पूर्वमा ईश्वरपुर, पश्चिममा हरिवन र हरिपुर, दक्षिणमा हरिपुर र ईश्वरपुर नगरपालिका तथा उत्तरमा सिन्धुली जिल्ला पर्छन्
नगरपालिका जिल्लाकै सबैभन्दा बढी क्षेत्रफल दुई सय ३८.५ वर्ग किलोमिटर फैलिएको छ । विसं २०६८ को जनगणनानुसार नगरपालिकाको कूल जनसङ्ख्या ५९ हजार ३९५ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । नगर विकास कोषले नगरपालिकालाई नेपालकै उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ । नगरपालिकाका गतिविधिलगायत विषयमा नगर प्रमुख मानबहादुर खड्कासँग राष्ट्रिय समाचार समितिका प्रतिनिधि शङ्खर पहाडीले गरेको कुराकानीको अंशः
राससः नगरपालिकाले कृषि विकासका लागि केकसरी काम गर्दै आएको छ ?
खड्काः नगरपालिकाले कृषि विकासकै लागि भनेर धेरै काम गर्दै आएको छ । सिँचाइसम्बन्धी काम भइरहेको छ । सडक निर्माणको काम पनि हामीले गरेका छौँ । नगरपालिकाभित्र मकै पकेट क्षेत्र छुट्याएका छौँ । पशुपालनतर्फ पनि हामीले जोड दिएका छौँ । पशु पकेट क्षेत्र पनि छुट्याएका छौँ । सहकारीमार्फत पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौँ । विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर माउपाठी, बीउ वितरणको कार्यक्रम पनि राखेका छौँ ।
नगरपालिकाभित्रको एउटा वडालाई गाई पकेट क्षेत्र भनी छुट्याएका छौँ । कृषकलाई कम्पोष्ट मल बनाउने तालीम दिइरहेका छौँ भने उत्पादित तरकारी बजारीकरणको व्यवस्था पनि मिलाएका छौँ । उत्पादित खाद्यवस्तु प्रशोधनको काम गरेका छौँ भने भण्डारणको कामलाई अघि बढाएका छौँ । हाम्रो नगरपालिकालाई समृद्ध बनाउने मूलतत्व भनेको नै तरकारी उत्पादन हो । विशेषगरी यहाँ टमाटर धेरै मात्रामा उत्पादन हुने गरेको छ । गोलभेँडाको शहर लालबन्दी भनेर पहिचान बनिसकेको छ ।
राससः नगरपालिकाका कति नागरिक कृषि पेशामा आबद्ध छन् ?
खड्काः यहाँका ५० प्रतिशतभन्दा बढी नागरिक कृषि पेशामा आबद्ध छन् । हामीले हरेक वर्ष पशुपालनतर्फ उत्कृष्ट काम गर्ने कृषकलाई रु १० हजार दिएर सम्मान गर्ने गरेका छौँ । यति हुँदाहुँदै पनि फलफूल राम्रो उत्पादन गर्ने कृषकलाई चाहिँ पुरस्कारको व्यवस्था मिलाउन सकिएको छैन ।
राससः उत्कृष्ट काम गरेको भनी नगर विकास कोषले लालबन्दी नगरपालिकालाई सम्मान गर्दा कस्तो महसुस गर्नुभयो ?
खड्काः म त खुशी छु । नगर विकास कोषद्वारा हाम्रो नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका घोषणा गरी सम्मान गरिएको छ । राम्रो काम गर्यो भने त्यसको परिणाम पनि राम्रो आउने रहेछ । कोषले हामीलाई उत्कृष्ट नगरपालिका घोषणा गरी कदरपत्र र रु एक लाख पुरस्कारले सम्मान गरेको छ । नगरपालिकाले कोषको लगानीमा डुमडुमे मन्दिर नजिक छतले व्यावसायिक भवन निर्माण गरिरहेको छ जसबाट पनि हाम्रो मूल्याङ्कन फरक तरिकाबाट भएको होला ।
राससः तपाईं निर्वाचित हुनुअघि र निर्वाचित भइसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?
खड्काः यो मुलुक सङ्घीयतामा गएपछि सात वटा गाविस मिलेर हाम्रो नगरपालिका बनेको हो । नगरपालिकाभित्र पहिलाको तुलनामा त अहिले धेरै परिवर्तन आएको छ । अहिले सडकको विकास भएको छ । खानेपानीको उचित व्यवस्थापन भएको छ । कच्ची सडक पनि धमाधम पिच हुन थालेका छन् । सबै वडामा स्वास्थ्यचौकीको स्थापना भएको छ । सिँचाइको काम भएको छ । पर्यटन विकासको लागि जोड दिएका छौँ । नगरपालिका भवनको निर्माण भएको छ । स्वास्थ्य भवन निर्माण भएका छन् । विकासनिर्माणका काम अघि बढेका छन् । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि विशेष ध्यान दिन थालिएको छ । साथै ग्रामीण क्षेत्रका नागरिकको दुःखसुखको साथी स्थानीय तह बनाउने काममा हामी लागिपरेका छौँ ।
राससः नगरपालिकामा ठूला योजना तथा परियोजना केके छन् ?
खड्काः ठूलो योजनाका रुपमा पुल निर्माणको काम रहेको छ । नगरपालिकाले रु १३ करोडको लगानीमा पुल निर्माणको काम गरेको छ । यसमा रु पाँच करोड बजेट सङ्घीय सरकारको रहेको छ । नारायण डाँडामा रु एक करोडभन्दा बढीको लगानीमा भ्यूटावरको निर्माण भइरहेको छ । हामीले केही उद्योग पनि सञ्चालन गरेका छौँ । नगरपालिकाको आयस्रोत वृद्धि गर्नका लागि ठूलाठूला भवन निर्माण गरेर भाडा लगाउने काम पनि गरेका छौँ । रु ६० लाखसम्म भाडा आउने गरेर भवनको निर्माण गरेका छौँ । प्रत्येक वर्ष आएको रकमबाट २० प्रतिशत आर्थिक वृद्धिका लागि लगानी गर्ने गरेका छौँ । पचास प्रतिशत रकम वडाका ससाना कामका लागि वितरण गर्दै आइरहेका छौँ । बचेको ३० प्रतिशत बजेटबाट नगरपालिकाको ठूलाठूला आयोजना अथवा गौरवको आयोजनाका काममा खर्च गर्ने गरेका छौँ । यहाँका दुई वडामा बिजुली बत्ती पुगेको छैन । यद्यपि ७० प्रतिशत घरमा बिजुली पुगिसकेको छ र हाम्रै कार्यकालमा ती दुई वटै वडामा बिजुली पु¥याइसक्ने गरी काम शुरु भएको छ ।
राससः तपाईंको नगरपालिकाको सबैभन्दा ठूलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ?
खड्काः ठूलो उद्योगको रुपमा भूदेव खाद्य उद्योग छ । यसले दाल, चामललगायत उत्पादन गर्छ । यसबाहेक नगरपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योग प्रशस्त छन् ।
राससः सबैभन्दा धेरै कर कुन कम्पनीले तिरेको छ ?
खड्काः सबैभन्दा बढी कर त भूदेव खाद्य उद्योगले नै तिर्ने गरेको छ । यसबाहेक पसल कर सङ्कलन हुने गरेको छ । नदी पनि ठेक्कामा लगाउँदा सोहीअनुसार कर उठ्ने गरेको छ ।
राससः आफ्नो नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?
खड्काः हामी पर्यटनको विकासका लागि भनेर नै भ्यूटावरको निर्माण गर्र्दै छौँ । पर्यटकीय क्षेत्रमा सडक पु¥याउन पनि हामी लागिपरेका छौँ । हामीले मठ, मन्दिरको निर्माण पनि गरिरहेका छौँ । डुमडुमे मन्दिर पनि हाम्रो नगरपालिकामा रहेको छ । हामीले पर्यटन पूर्वाधारको विकासमा पनि जोड दिएका छौँ भने स्थानीय सञ्चारमाध्यमबाट नगरभित्रका पर्यटकीय तथा धार्मिकस्थलको समयानुसार र आवश्यकतानुसार प्रचारप्रसार गरिरहेका छौँ ।
राससः नगरपालिकाले युवालाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?
खड्काः नगरपालिकाभित्र युवा स्वरोजगार कार्यक्रम सञ्चालन भइरहेको छ । हामीले युवा स्वरोजगारअन्तर्गत पनि रोजगार दिँदै आइरहेका छौँ । सरकारी तथा गैरसरकारी सङ्घ÷संस्थालगायतसँग सहकार्य गर्दै केही युवालाई कृषि पेशामा संलग्न गराएका छौँ । केही युवालाई भने विकास निर्माणलगायतका काममा पनि लगाइरहेका छौँ ।
राससः विकासनिर्माणको काम कत्तिको प्रभावकारी भएका छन् ?
खड्काः नगरपालिकामा अहिलेसम्म भएका विकासनिर्माणको काम प्रभावकारी छन् । हामीले अरुमार्फत काम गराउँदा पनि स्थलगत अनुगमन गरिरहेका छौँ । हामीले आशा गरेअनुसार विकासनिर्माणको काम भइरहेको हुनाले हामी खुशी नै छौँ । विकासनिर्माणका काममा नगरवासीले पनि आवश्यक सहयोग गरिरहनुभएको छ ।
राससः स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?
खड्काः प्रदेश सरकारसँग हामीले योजना तथा कार्यक्रम मागेका हुन्छौँ । योजनाअनुसारको बजेट आउने गरेकै छ । गत वर्ष प्रदेश सरकारले हामीलाई रु एक करोड ५० लाख बजेट पठाएको थियो । हरेक वर्ष आवश्यकताअनुसार प्रदेश सरकारले सहयोग गरिरहेको छ ।
राससः स्थानीय तहमा काम गर्दा मुख्य समस्या केके आइपर्छन् ?
स्थानीय तहमा काम गर्दा सामान्य समस्या देखा पर्ने गर्छ । प्रतिशोध भएका मानिस समाजमा धेरै नै हुन्छन् । राजनीतिक प्रतिशोध पनि भइरहेकै हुन्छ । यसले गर्दा कतिपय ठाउँमा समस्या पनि हुने गरेको छ । सामान्य विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ तर पनि यस्ता समस्यालाई समाधान गरेर हामी अघि बढिरहेका छौँ । केही व्यक्तिबाहेक सबै नगरवासीले हामीलाई सहयोग गरी रहनुभएको छ ।
राससः केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?
खड्काः केन्द्र सरकारबाट पनि हामीले राम्रो सहयोग पाएका छौँ । केन्द्र सरकारलाई योजना पेश गर्दा उसले केही बजेट पठाउने गरेको छ । आवश्यकताका आधारमा बजेटको व्यवस्था केन्द्र सरकारले गरिरहेकै छ ।
राससः तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना छ ?
खड्काः नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना छ । कृषिका माध्यमबाट कसरी स्वरोजगार बनाउन सकिन्छ भनेर विशेष ध्यान दिइरहेका छौँ । सबै वडासम्म पुग्ने तथा हाइड्रोसँग जोड्ने सडक कालोपत्रे गर्ने योजना छ । हरेक नागरिकका घरमा बिजुलीबत्ती र सडक पुर्याउने लक्ष्य लिएको छु । सोहीअनुसार अहोरात्र काम गरिरहेका छौँ । नगरका सबै जनप्रतिनिधिको साथ सहयोग निरन्तर रहेको छ ।
राससः नगरपालिकामा तपाईंले चाहेर पनि गर्न हुन नसकेको विकासनिर्माणका कार्य केके छन् ?
खड्काः नदीलाई नियन्त्रण गर्ने काम त्यत्तिकै छ । शैक्षिक क्षेत्रको सुधारतर्फ सोचेजस्तो काम गर्न सकिएको छैन । शहरी क्षेत्रमा शिक्षाको अवस्था राम्रै भए पनि ग्रामीण क्षेत्रमा भने धेरै सुधार गर्नुपर्ने छ । बजार, बसपार्क र बस्ती व्यवस्थापन गर्न सकिएको छैन ।
राससः नगरपालिकाले खेलकूद विकासका लागि भनेर केकस्ता योजना ल्याएको छ ?
खड्काः विद्यालयस्तरको खेलकूद प्रतियोगिता नगरपालिकामा धेरै हुने गरेका छन् । नगरपालिकामा राधाकृष्ण, लाफा, लेकाली चौंरीलगायत खेल मैदान छन् । ती खेल मैदानमा वडास्तरीय खेलकूद प्रतियोगितादेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगितासम्म सञ्चालन भएका छन् । बक्सिङ, भलिबल, कराते, फुटबललगायत खेल नगरपालिकाले आयोजना गर्ने गरेका छौँ ।
राससः नगरपालिकाको विकासनिर्माणमा कोरोना भाइरसले कतिको प्रभाव पा¥यो ?
खड्काः खासै प्रभाव परेन । सर्लाही जिल्लामा रहेका बीस वटा स्थानीय तहमध्ये सबैभन्दा कम कोरोना प्रभावित स्थानीय निकायका रुपमा लालबन्दी थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिका साथै नगरवासीको उच्च सतर्कताका कारण यहाँ कोरोना भाइरसले त्यति धेरै प्रभावित बनाएन । कोरोना भाइरस सङ्क्रमण नफैलिएको भए अलि बढी विकासनिर्माणको काम हुन्थ्यो भने कोरोना भाइरस फैलिएपछि त्रासका कारण सोचे जति विकासनिर्माणको काम नभए पनि काम रोकिएन । विकासनिर्माणका लागि नगरले व्यवस्था गरेको केही बजेट कोरोना व्यवस्थापनका नाममा खर्च भयो । अरु विकासनिर्माणका काममा नगरमा खासै प्रभाव नपरे पनि बाहिरबाट आउने विकासनिर्माणका काममा प्रभाव भने अवश्य परेको थियो । अहिले केही सहज हुन थालेको छ ।
राससः स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै हुनुहुन्छ ?
खड्काः हामीले नगरपालिकाभित्रका सम्पूर्ण वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याएका छौँ । यस वर्ष हामीले अस्पताल निर्माणको काम पनि अघि बढाएका छौँ । सम्पूर्ण नागरिकको प्राथमिक स्वास्थ्य सेवासम्म पहुँच पुगेको छ भने आँखा उपचार केन्द्र एवं विभिन्न सङ्घसंस्थाद्वारा सञ्चालित स्वास्थ्य सेवा नगरपालिकामा उपलब्ध भइरहेका छन् । सरकारी स्वास्थ्य संस्थालाई दूरदराजका नागरिकको स्वास्थ्यको साथीका रुपमा स्थापित गराउने कामको शुरुआत गरेका छौँ ।
राससः अन्य जनप्रतिनिधिसँग कस्तो सम्बन्ध छ ?
खड्काः चुनावी मैदानमा हुँदा जुन पार्टीबाट चुनाव जिते पनि जनप्रतिनिधि भएपछि कतै पनि राजनीतिक सङ्केत देखिएको छैन । नगरका विकासनिर्माणमा सबै जनप्रतिनिधि साथीहरुले साथसहयोग दिइरहनुभएको छ । सबैसँगको छलफल र सल्लाहअनुसार नगरको विकासनिर्माण चलिरहेका छन् ।