भदौ २१, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिका जान खोजेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सन् २०२०को अमेरिकाको डिभी नजितामा नाम निस्केका तर शैक्षिक योग्यता नपुगेपछि नक्कली प्रयोग गरी जान खोजेको आरोपमा ६ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

नाम निस्केपनि भिसा प्रकृयाको लागि आवश्यक कक्षा १२ को शैक्षिक योग्यताको कागजात उनीहरूले नक्कली बनाएर पेश गरेको आरोप छ। पाल्पाका ३५ वर्षीय सुमितरत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल, नवलपरासीका ३० वर्षीय नरेश केसी, ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रेका ३३ वर्षीय दिप बिष्ट र काठमाडौंका सोहिली शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले शुक्रबार काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। उनीहरूले प्रयोग गरेको विभिन्न नक्कली प्रमाणपत्र समेत प्रहरीले बरामद गरेको उनले बताए। साथै नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको महाशाखाले जनाएको छ।
उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।