असोज २१ , काठमाडौँ , (एजेन्सी)। भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ । सडकमा हिँडिरहेको छाडा गाईलाई बचाउने क्रममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन् ।
भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहीबार पर्यटक बोकेको बस दिल्लीबाट बहराइच जाने क्रममा दुर्घटना भएको हो । भारतीय मिडियाका अनुसार बिहीबार बिहान ५ बजेतिर दुर्घटना भएको हो । बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०-७० यात्रु सवार थिए ।
पुलिसका अनुसार तीव्र गतिमा गुडिरहेको बसको अगाडि अचानक गाई आएपछि बचाउने क्रममा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।गाई भने जोगिएको छ । यी दुई गाडी बेजोडसँग ठोक्किएकाका कारण दुबैको अगाडिको भाग ध्वस्त भएका छन् । बसमा थुप्रै यात्रुको शव र यात्री गाडीभित्र नराम्रोसँग च्यापिएका थिए ।