वैशाख २५, काठमाडौ | सवारी चालक अनुमपति पत्र (लाइसेन्स) को नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने भएको छ ।‘जेठ १ गत्ते नै खोल्ने भनिएको थियो, निर्वाचनले गर्दा जेठ ४ गते सारिएको हो,’ सूचना अधिकारी पनेरुले भने, ‘कुनै प्राविधिक समस्या नआए तोकिएकै समयभित्र सुरु हुने छ ।’
उनका अनुसार वैशाख अन्तिमसम्म पुराना सबै लाइसेन्स वितरण गरिसकिने छ । ‘पुराना लाइसेन्स जति छन्, अहिले धमाधम प्रिन्ट गर्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यसैले सबै पुराना लाइसेन्स वितरण गरेर मात्र नयाँ आवेदन खुल्ला गरिन लागेको हो ।’ विभागले वैशाख अन्तिमसम्म सबै लाइसेन्स वितरण गरीसक्ने दाबी गर्दै आएको छ ।
सन् २०२१ को सबै लाइसेन्स प्रिन्ट सकिसकेको छ । सन् २०२२ को मात्र बाँकी रहेको उनको भनाइ छ । लाइसेन्सका लागि आवेदन दिएकाहरुलाई सन् २०२४ नोभेम्बरसम्म समय तोकिएपनि त्यसलाई व्यवस्थापन गर्ने काम भइरहेको उनको दाबी छ । अब पहिलाको जस्तो लामो समय लाइसेन्सका लागि पर्खिनु नपर्ने उनको भनाइ छ ।
आवेदन दिएको १५ दिनभित्र लाइसेन्सका लागि प्रक्रिया अर्थात लिखित र ट्रायल परीक्षा अघि बढाउने गरी कार्यालयले बोलाउने छ । त्यस्तै नवीकरण लाइसेन्सको पनि प्रक्रिया थालेको तीन सातामा काठमाडौंमा र उपत्यका बाहिर एक महिना भित्र उपलब्ध गराइने उनले बताए ।