फागुन ३०, काठमाडौँ | एक नयाँ अध्ययनले पुनः प्रयोग गर्न मिल्ने पानीको बोतलमा औसत 'ट्वाइलेट' सिट भन्दा ४० हजार गुणा बढी ब्याक्टेरिया हुने गरेको देखाएको छ।

अमेरिकामा रहेको वाटरफिल्टरगुरु डटकमका अन्वेषकहरूले चार लोकप्रिय प्रकारका पानीका बोतलहरू स्पाउट, स्क्रू-टप, स्ट्रे र स्क्विज-टपको परीक्षण अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् ।

अन्वेषकहरूले बोतलका विभिन्न भागहरू स्वाब गरेर त्यसभित्र कसरी कोलोनी फर्मिङ इकाइ (सीएफयू) फेस्ट हुन्छन् भनेर अध्ययन गरेका थिए। सीएफयू कुनै पनि नमूनामा ब्याक्टेरियाको कन्सन्ट्रेसन निर्धारण गर्न प्रयोग गरिने एकाइ हो ।

अध्ययनमा खासगरी ग्राम नेगेटिभ रड र ब्यासिलस नामक दुई प्रकारका ब्याक्टेरियाहरू फेला परेका छन् । ई कोलि र क्लेबसिएला जस्ता ग्राम नेगेटिभ ब्याक्टेरियाले निमोनिया जस्ता गम्भीर संक्रमण निम्त्याउन सक्छ ।

ब्याक्टेरियाले गर्दा हुने संक्रमणहरू एन्टिबायोटिक्सलेसमेत काम नगर्ने किसिमको हुँदै गएका छन् । ब्यासिलसको सेवनले वाकवाकी, बान्ता, पखाला, र ग्यास्ट्रोइंटेस्टाइनल समस्याहरू निम्त्याउन सक्छ ।

'ब्याक्टेरियालाई पिउने पानीको जैविक दूषित पदार्थ भनेर चिनिन्छ । तिनीहरू चार प्रकारका प्रदूषकमध्ये एक प्रकारका हुन्, जुन तपाईंको धाराबाट निस्कने पानीमा र तपाईंको पुनः प्रयोग गर्न मिल्ने बोतलहरूमा हुन सक्छन् । अमेरिकी धाराको पानीलाई संसारको सबैभन्दा सुरक्षित मानिए पनि त्यहाँ पनि प्रदूषण हुन सक्छ,' अध्ययन पेपरमा भनिएको छ ।

औसतमा बोतलहरूमा २ करोड ८ लाख सीएफयू ग्राम नेगेटिभ ब्याक्टेरिया पाइएको छ। स्पाउट र स्क्रू-टप लिड बोतल ३ करोड सीएफयूसहित सबैभन्दा बढी प्रदूषित पाइएको छ।

तुलनात्मक हिसाबमा शौचालय अथवा ट्वाइलेटको सिटमा ५ सय १५ सीएफयू हुने देखिन्छ। यसको अर्थ भनेको फेरि प्रयोग गरिने बोतलहरूमा कम्प्युटर माउसको भन्दा चार गुणा बढी ब्याक्टेरिया, कुकरलाई खाना खुवाउने बल भन्दा १४ गुणा बढी र शौचालयको सिट भन्दा ४० हजार गुणा बढी ब्याक्टेरिया हुने गरेको यो अध्ययनले देखाएको छ। त्यसैले, तपाईंको बोतल सफा गर्नु तपाईंको दैनिक दिनचर्याको एक हिस्सा हुन आवश्यक छ।