हिमालय एयरलाइन्सको अर्को नयाँ गन्तव्य: काठमाडौँबाट अब सिधै छिङ्दाओ शहर !

Posted on: 10 Sep, 2023

भदौ २४, काठमाडौं । नेपाल–चीनको संयुक्त लगानीमा रहेको हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा सिधा उडान सुरु गरेको छ । 


नयाँ रुटमा उडान सुरु गरेसँगै यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने हिमालय एअरलाइन्सले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । एअरलाइन्सका अनुसार साप्ताहिक रुपमा काठमाडौँ-छिङ्दाओ सहर उडान सेवा सञ्चालन गर्ने तयारी छ ।

यसै अनुसार आजै काठमाडौँ-छिङ्दाओ सहर अन्तर्गत पहिलो आउटबाउन्ड उडान, H9 7220, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गर्यो । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहेको एअरलाइन्सले जानकारी दिएको छ । काठमाडौँ-छिङ्दाओ सहरको पहिलो उडानमा H9 7220 विमानले कूल एक सय जना यात्रु बोकेको थियो ।


नयाँ गन्तव्य उडानबारे जानकारी दिन एअरलाइन्सले राखेको पत्रकार सम्मेलनमा संस्कृति पर्यटन नागरिक उड्ययनमन्त्री सुदन किराँती सहित नेपालका लागि चीनिया राजदुतको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एनयोबले काठमाडौँ–छिन्ताओ–काठमाडौँ उडान सेवाको उद्घाटन हिमालय एअरलाइन्सको लागि महत्वपूर्ण उपलब्धी भएको बताए । उनका अनुसार छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्ने काम गर्छ । यो उडानले नेपाल-चीनबीच कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्नेछ । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराँतीले चिनियाँ ग्रामिण समाजको संस्कृति र नेपाली संस्कृति धेरै मिल्दोजुल्दो छ भनेर त्यहाँका अध्याताहरुले दाबी गर्ने गरेको भन्दै चिनियाँ नागरिकहरुलाई नेपालमा पाहुनाको रुपमा भित्र्याउन सकेमा र नेपालको ग्रामिण जिवन र ग्रामिण संस्कृतिको जरासम्म पुर्याउन सकेनेपालको पर्यटन क्षेत्रमा एउटा नयाँ गन्तव्य बन्न सक्ने विस्वास गरे । मन्त्री किरातीले हिमालयको नयाँ गन्तव्य उडान मार्फत धेरै भन्दा धेरै चिनियाँ पाहुनाहरु नेपाल आउने आशा गरे । मन्त्री किरातीले एयरलान्स क्षेत्रको विकास गर्दै काठमाडौंबाट पोखरा, पोखराबाट चाइनाको विभिन्न शहर र पोखराबाट काठमाडौं हुदै चाइना जानेसम्मको उडान गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड समेत दिए । उनले हिमालय एअरलाइन्सको नयाँ रुटबाट उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको बताए । साथै उनले छिङ्दाओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिए  ।


यस्तै चिनिया राजदुत चेब सोबले काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताए । चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनको भनाई छ । उनले नयाँ रुटसंगै नेपालको उड्डयन उद्योगमा नयाँ गति आउने र नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्याउने बताए । 

यस्तै हिमालय एअरलाइन्सका प्रवक्ता समेत रहेका विजय श्रेष्ठले नयाँ सुरु गरिएको रुटप्रति उत्साह व्यक्त गर्दै हिमालय एअरलाइन्सको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने भएको बताए । यस रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको उनले बताए । 


नयाँ गन्तव्य उडानसंगै चिनिया तथा नेपाली यात्रुहरूलाई हिमालय एअरलाइन्सको टिकटि काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एअरलाइन्सको वेबसाइटबाट काठमाडौँ–छिङ्दाओ–काठमाडौँ उडानको टिकट बुक गर्न सक्ने जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!