१८ खर्ब ४४ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति,१२.३ महिनाको आयात धान्न सक्ने

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | नेपालको विदेशी मुद्रा सञ्चिति वृद्धि हुँदै गइरहेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको जनाएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको हो ।

यो मुलुकको वार्षिक बजेट भन्दा पनि ठुलो परिमाण हो । आर्थिक वर्ष २०८०/८१ को कूल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबर मात्र छ ।  २०८० असार मसान्तमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६करोड रुपैयाँ बराबर रहेकोमा १९.९ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । 


अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

२०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!