चैत्र २८, सुर्खेत | दैलेखका डिलु गुरुङ वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने तयारीमा थिए । गाउँमा बसेर केही गर्न सकिँदैन पैसा कमाउन त विदेशै जानुपर्छ भन्ने उनी सोच्थे । विदेश हिड्नै आटेको बेला सुरु भयो कोरोना महामारी । अनि उनी गाउँमै रोकिए ।
विदेश जाने सबै तारतम्य मिलाएका उनलाई कोरोनाले रोकेपछि केही समय के गर्ने भनेर गाउँमा भौतारिए । पाँच वर्षसम्म निजी स्रोतमा स्थानी भगवती आधारभुत विद्यालयमा पनि पढाए । यसपछि उज्यालो साना किसान सहकारी संस्थामा पनि काम गरे । सहकारीमा जोडिएपछि कृषिसम्बन्धी तालिम दिन आफै गाउँमा पुग्थे । तालिम दिने क्रममा एकाएक उनमा अर्काे सोच आयो किसानलाई तालिम दिने म आफै किन तरकारी व्यवसाय नगरौँ । आफैबाट तरकारी व्यवसाय सुरु गर्नु पर्छ भनेर आफै तरकारी व्यवसायमा होमिए ।
दैलेखको भैरवी गाउँपालिका–७ कुसापानी सिम्सेर कुसापानीका डिलु गुरुङले विदेश जाने पैसा गाउँमै लगानी गरे । १० रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गरेका उनी अहिले भने यसैले चिनाइरहेको छ ।
आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ तरकारी खेती सुरु गरेका डिलुले बारीमा टमाटर, काउली, आलु, बन्दालगायत तरकारी लगायका छन्। केही समयअघि घरको लागि समेत बाहिरबाट तरकारी किनेर ल्याउने उनी र उनको परिवार अहिले आफ्नै बारीमा फलेको ताजा तरकारी बेच्छन् । उनी भन्छन्– त्यही तरकारी बेचेको पैसाले सहजै घरखर्च चलाउन पुग्छ । तरकारी बेच्न उनलाई अहिले बजारको कुनै समस्या पनि छैन। गाउँमा फलाएको तरकारी घरबाटै बिक्री भइरहेको छ।
बीएडसम्म अध्ययन गरेका उनले भनेजस्तो काम नपाएपछि गाउँमै व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका हुन्। मिहिनेत गरेपछि आफ्नै गाउँठाउँमा प्रशस्त सम्भावना रहेको उनको भनाइ छ । उनले भने, 'जहाँ मिहिनेत र लगनशीलता, त्यही सफलता।’
डिलुको कृषिमा प्रगतिको सिको गर्दै गाउँमै दर्जन बढी कृषक व्यवसायीक तरकारी खेतीमा
व्यवसायिक तरकारी खेतीमा रमाएका ३१ वर्षीय डिलु गाउँका लागि पनि उदाहरणीय पात्र बनेका छन् । उनले सुरु गरेको व्यवसायिक कृषि खेती देखेर उनकै टोलका एक दर्जनभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
उक्त गाउँमा भैरवी गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनालगायतका संघ–संस्थाले स्वच्छ खानेपानीका धारा, सिंचाइ पोखरी, टनेललगायत सहयोग गरेको छ । सहयोग पाएपछि यहाँका किसानमा व्यावसायिक कृषिमा अग्रसर बनेको अर्का स्थानीय मानबहादुर बरालले बताए। तरकारी व्यवसायबाटै सबै खर्च धानेर बचत समेत हुने गरेको बराल बताउँछन्।
सोही गाउँकी सीता गुरुङको पनि घरछेउको बारीमा लटरम्म तरकारी फलाएकी छन् । अहिले उनको बारीमा काउली, टमाटरलगायतका विभन्न तरकारी फलाएर राम्रो आम्दानी गरेको उनी सुनाउँछिन् । आफ्नै गाउँमा रोजगारीका अवसरहरू सिर्जना भए कुनै पनि नेपाली नागरिक रोजगारीको लागि भौतारिनु नपर्ने उनी बताउँछिन् । युवाहरूलाई विभिन्न सीपमूलक तथा व्यावासायीमा जोड्न स्थानीय सरकारले पनि जोड दिनुपर्ने उनको भनाइ छ।
भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले पालिकाभित्रका किसानहरूलाई प्रोत्साहनका लागि गाउँपालिकाले कृषि र पशुपालनजस्ता व्यवसायलाई महत्व दिएको जानकारी दिए। कृषि कार्यक्रमअन्तर्गत भैंसीपालन, गाईपालन, डेरी सञ्चालनजस्ता व्यवसायमा पालिकाले विशेष ध्यान दिएको उनको भनाइ छ।
'हामीले तरकारी तथा फलफूल खेतीका लागि पनि काम गरिरहेका छौँ,' उनले भने, 'कृषि र पशुपालनजस्ता व्यवसायको लागि गाउँपालिकाले कृषि विकास कार्यालय र पशु सेवा कार्यालयसँग समन्वय गर्दै अघि बढिरहेका छौँ ।’