प्रभात सुवेदी । काठमाडौंबाट बर्दियातर्फ आउँदा बुटवल आएपछि र बर्दियाबाट काठमाडौं जाने क्रममा मुग्लिङ पुगेपछि केही आशा जागेर आउने गर्दछ कि अब बर्दिया पुुगियो वा अब काठमाडौं पुगिन्छ । तर विडम्बना आखिर यात्रा भनेको यात्रा नै रहेछ भनेजस्तो र सोचेजस्तो कहाँ हुन सक्दोरहेछ र ? यस्तै भयो करीब दुइ साताअघिको मेरो राजधानीको यात्रा ।
नारायणगढ मुग्लिङ खण्ड अन्तर्गत जलविरे भन्ने स्थानमा विहान करिव ४ बजे देखि नै पहिरो खस्न शुरु गरेको रहेछ । यसरी खस्दै गरेको पहिरोले विकराल रुप लिएपछि हजारौंको संख्यामा सवारी तथा मालबहाक साधनहरु अलपत्र परे भने लाखौंको संख्यामा यात्रुहरु बिचल्लीमा परेको अवस्था थियो ।
यसरी विचल्लीमा पर्ने यात्रुहरुको एउटा एकाई यो पंक्तिकार पनि थियो । मानिसमा सास रहेसम्म आश भन्ने सामाजिक उखानले जरा गाडेको हुने रहेछ भन्ने कुरा यो समयमा प्रष्टै देखियो । पहिरो यति भयानक थियो कि माथिबाट पहाडै खसेको अवस्था थियो । पहाडको पहरोदेखि नै बगाएको सुख्खा ग्रेगर तथा ढुंगाहरुको ह्रासले पुरै बाटो सम्म बनाएर त्रिशुली नदीसम्म ल्याएको थियो ।
बर्दियाबाटै सांगितीक कामका लागि जान लाग्नुभएका एक जना शिक्षक मित्रले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोको स्मरण भएको बताउनुभएको थियो । आशा जागिरहेतापनि जब पहिरो हटाउनको लागि एउटा मात्रै स्क्याभ्याटर देखियो केही झिनो आशा धिपधिप गरी मलिनो बल्दै गरेको थियो । हामी करिब पाँच बजे विहान पुगिसकेको अवस्था भएपनि सात बज्दाको अवस्थासम्म बीसको साढे उन्नाइस पनि नदेखिएपछि यात्रुहरुमा निराशाको वादल भने मडारिरह्यो । अव अनेक उपायहरुको खोजी गर्न थाले यात्रुहरु । केही साना सवारीहरु त फर्केर बाइरोडको बाटो हुँदै जाने भन्दै आए । नारायणगढबाट गएका सवारीहरु फर्के भने कोही भोलीको फलाइट छ भन्दै डाँडापाखा उक्लिँदै पहिरो छलेर जाने प्रयासमा थिए । खानेकुराको अभाव बढ्दै गयो ।
छेउछाउका पसलहरुमा भएका विस्कुट, चाउचाउ, पानी लगायतका सुख्खा खाद्य बस्तुहरुको अभाव भैसकेको थियो । हामी पनि एउटा पसलमा चिया सम्म खाउँ भनेर गयौं तर विडम्बना चिनी सकिएपछि यात्रुहरु अण्डा उसिन्न लगाएर खाँदै थिए । बाँच्नुको विकल्पको खोजी गरिरहेकै थिए । पहिरोतर्फ हेर्दा कहाली लाग्दो अवस्था थियो । यस्तै भोगिरहेको अवस्थामा हामी आफू आएको बसलाई छाडेर करिब पाँच/छ किलोमिटर हिँडेर पहिरो खसेकै स्थानमा पुगेका थियौं । केही मानिसहरु पहिरोलाई छिचोलेर पहिरो खसेकै पहाडबाट उक्लिँदै चेपाङ बस्तीबाट मुग्लिङ जाने तर्खर गर्दै गर्दा हामीलाई पनि उत्सुकता भयो । मुग्लिङ सम्म पुगेर केही खान पाए पनि हुने थियो भन्ने ।
एक जना करिब पचास नाघिसक्नुभएका अग्रज भेटिनुभयो मसँग फोन माग्नुभयो र काठमाडौंमा आफन्तलाई फोन सम्पर्क गरी यथार्थ वस्तुस्थिती बताउनुभयो । वहाँले त्यसपछि हामीलाई पनि सबै गएका छन् हामी पनि जाउँ न त भन्नुभयो र हामी वहाँकै साथमा लागेर हिड्यौं पहिरो छिचोल्ने प्रयाससाथ । हामी तराइमा नै जन्म्यौं, हुक्र्यौं कहिल्यै पनि पहाडको हिँडाईको अनुभव नभएको हुनाले मनमा केही त्रासका पोकाहरु जिउँदै थिए ।
मेरो साथमा शिक्षक रामप्रसाद लामिछाने र मेरी छोरी प्रश्ना थिइन् । छोरी त अझै पहाडै नदेखेकी कसरी चढ्लिन् भन्दै थिएँ मनमनै मैले तर मेरो हिँडाई भन्दा उनको हिँडाई निकै फूर्तिलो रह्यो । करिब डेढ घण्टा यात्रा गरिसकेपछि हाम्रा हातगोडा सेलाए । भएछ के भने पहाडको जहाँनिरबाट पहिरो खसेको हो हामी त त्यसकै शिरमा पो पुगेछौं । हामी हिड्ने बाटोको त नामो निशाना पनि थिएन त्यहाँ । सबै पहिराले नै लगिसकेको रहेछ । केही यात्रुहरु मात्रै विकल्प खोजेर भिरमा भएका खरका बोट तथा जराहरु समाउँदै गए भने हामीलाई समात्नका लागि न त खरका बोट नै ।
भएका लहरा र जराहरु पनि चुँडिएको अवस्था थियो । मस्तिष्कले अव काम गर्न छाडेको जस्तो भयो । तल हेर्दा सिधै त्रिशुली मात्रै देखिन्छ, माथि बादलले भरिएको आकाश भने दायाँ बायाँ सबैतिर डरलाग्दो भिरै भिर । अब कता जाने यतिबेला नै भयो कि “नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छो बाबुको अनुहार ।” फर्केर जाउँ भने डेढ घण्टाको कठिन यात्राको लगानी अगाडि बढौं त ज्यान नै हत्केलामा राखेर हिँड्नु पर्ने । रुखमा चढेर हेरेका केही गोठालाहरु भन्दै थिए ल फेरि पहिरो गयो, यहिँनिरबाटै पहाड खसिरेहको छ, भागौं भागौं । यो सुनेपछि मुटुको धड्कन बढ्यो, हात गोडाहरु थर्थरी काँप्न थाले । हाम्रो मन नै अस्थिर भयो, बेचैन भयो, असिन पसिन भयौँ ।
कुरो के रहेछ भने पहाड काटेर जाने बाटो हामी पुगेको केही समय अगाडि नै पहिरोेले काटेर लगिसकेको रहेछ ।
कमजोर पहाडको संरचनामा हामी पुगेका रहेछौं । सुख्खा पहिरो निरन्तर खसिरहेको थियो । त्यो बेलाको हाम्रो अतास, हतास मनको शाब्दिक बयान गर्न कुनै शब्द पनि सक्षम छैनन् होला । हामी विचलित भयौं । अनि भिरमा केही बेर सुस्ताएर मुटुको धड्न केही कम भएपछि फर्किने निर्णय ग¥र्यौं । जीवनमा गरेका भूलहरुमध्ये अत्यन्तै ठूलो भूल सम्झी हामी अन्ततः डेढघण्टाको यात्रालाई तिलाञ्जली दिँदै पुनर्गमन ग¥र्यौं । केही तल आएर पहाडको झरनाबाट खसेको पानी पियौँ । करिब गन्तव्यमा पुग्न आधा घण्टा बाँकी रहेको स्थानमा एउटा छाप्रो बनाइएको रहेछ ।
त्यस छाप्रोमा तीस जनाजति बाँचेर फर्केकाहरुबीच खुसीको आदान प्रदान ग¥र्यौँ । त्यहाँबाट पहिरो खसेको स्थान, अवरुद्ध सडक, सबै यात्रुहरुको अवस्था प्रष्टै देखिन्थ्यो । हामीले करिब २ घण्टा जति विताउँदा बेलुकाको ५ बजिसकेको थियो । केही मानिसहरुलाई हिडेर पार गर्न मिल्ले भएपछि प्रहरीले वारपार गराइरहेका थिए । दुइवटा डोजर र एउटा स्क्याभ्याटरले करिव बाह्र घण्टााको निरन्तर प्रयासबाट पहिरो हटाउँदै जाँदा बल्लतल्ल बाटोको सतह देखिएको थियो । हामी पनि अब त बाटो खुल्ला भनेर केही आशा लिँदै झ¥यौं । र, पहिरोको नजिकै गएर केहीबेर कुरेपछि हामीले पनि पैदल पहिरो छल्ने मौका पायौं ।
त्यतिबेला हामीलाई ठूलै युद्ध जितेजस्तै लागेको थियो । त्यसपछि करिब ५ किलोमिटर पैदलै मुग्लिङ पुग्यौं । यसरी अगाडि बढिरहँदा एकजनाले बेच्दै हिँडेको चिया २५ रुपैँया तिरेर खायौँ । बाटामा अलपत्र परेका सवारीहरुको तस्वीर लियौँ । एक स्थानमा ट्रकहरु मात्रै लस्करै थिए फोटो खिच्दा ट्रक नभएर ट्रेन जस्तै देखिएको थियो मैले त्यही तस्वीर सामाजिक सञ्जालमा नेपालको रेल भनेर राखिदिएँ थुप्रै टिप्पणीहरु आएका थिए त्यो तस्वीरमा । मुग्लिन पुगेर नास्ता गरि हामी बसको प्रतिक्षा गरिरह्यौं । करिब साढे सातबजेतिर बस आएपछि साडे राती एघार बजे हामी राजधानी पुग्यौं । यसरी ३० घण्टाको यात्रापछि राजधानी पुगियो ।
यतिका प्रसँगले आदरणीय पाठकहरुलाई केही छोयो वा छोएन तर यो घटना पंक्तिकारको जीवनमा अविश्मरणीय बनेर रहेकोछ र रहनेछ । मनमनै यो सोच पनि नआएको हैन कि अन्य मुलुकमा भएको भए बढीमा एक दुइ घण्टामा नै खसेको पहिरोको सफाइ हुने थियो होला भन्ने । अब यही कुरा मैले लिएर गएको स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट निकाल्ने काममा पनि भयो । कुरा के भने सन्सारमा हरेक मानिसहरुको आप्mनै खाले कार्य व्यस्तताहरु र समयको महत्व हुन्छ ।
वर्तमान समय र प्रविधीको चरम विकास भएको अवस्थामा पनि कम्प्युटर प्रविधीको उपयोग गर्दै सेवाग्राहीहरुका लागि छिटो र छरितो सेवा दिनका लागि अझै पनि हाम्रा सरकारी निकायहरु सक्षम भैसकेका छैनन् । यो कुरा परीक्षा नियन्त्रणको कार्यालय बल्खुमा देखियो । फारम त भरियो बुझाउने कहाँ हो ? बैंकमा भौचर भरियो पैसा बुझाइयो फेरि अर्को रसिद काट्न पर्ने रे त्यो कहाँ हो ? बल्ल तल्ल लाइनमा बसेर रसिद त काटियो फेरि त्यो लगेर बुझाउने कहाँ हो ? बल्ल तल्ल बुझाइयो अनि आवाज आयो हजुर एक हप्तापछि आउनुस् । अव सारा कुरा चौपट । एक जना मित्र भन्दै हुनुहुन्थ्यो कि त्यहाँ गएपछि यस्सो टाउको कन्याउनुस् न दिइहाल्छन् । मैले बुझिन टाउको कसलाई कन्याउने हो कर्मचारीलाई वा सिस्टमलाई । मलाई त्यो कुरा थाहा भएन र कन्याउन चाहिन । र, अब कसैलाई पठाउनु पर्ला भनेर लुतुक्क फर्केँ ।
अव यसरी अत्याधुनिक सूचना प्रविधीको प्रयोगमा व्यापकता आइरहेको समयमा जलविरेको पहिरोमा जस्तै सास्ती खेप्नु प¥यो । त्यहाँ पनि प्रविधीको प्रयोग नगरिएको पनि हैन । थिएन भनौं भने दुई÷दुई वटा डोजरहरु र एउटा स्क्याभ्याटर निरन्तर लागिरहेकै थिए । तर, काम निकै धिमे गतिमा भएको थियो । यात्रुहरु आलसतालस भएका थिए । भोक, प्यास, थकान, निद्रा सबै मारेर मात्रै हैन भोलीपल्ट गएर के के गरुँला भनेका सबै योजनाहरु टुक्रिँदै थिए । यही टुक्राइ भयो परीक्षा नियन्त्रण कार्यालय बल्खुमा पनि ।
प्रविधीको प्रयोग गर्दैमा पनि नुहुने रहेछ । पढ्न जति सजिलो भयो आप्mनो लब्धाङ्क प्रमाणपत्र निकाल्न त्यति सजिलो भएन । त्यति लामो समयसम्म बसेर कुरिरहन पनि समय भएन । त्यसैले अबको आवश्यकता के हो भने प्रविधीलाई रुपान्तरित गरिनु पर्दछ । सेवागा्रहीहरुलाई छिटो छरितो चुस्त सेवा दिनु पर्दछ ।
पहिरो ग्रस्त क्षेत्र भनेर ठाउँ ठाउँमा बोर्डहरु त राखिएको छ तर कुरा के भने यति हुँदा हुँदै पनि यस प्रकारको प्रकोपको दिगो व्यवस्थापनका लागि विकल्प खोजिनु जरुरी भएजस्तै फारम भरेर बुझाएको एक घण्टा वा सो भन्दा कम समयमा प्रमाणपत्र दिने गरी प्रविधीलाई परिमार्जन गरिनु पर्दछ वा यो सेवालाई आगामी दिनमा विकेन्द्रिकृत गरिनु पर्दछ । हैन अब टाउकै कन्याएर हुन्छ भन्ने कुरा मात्रै छैन । टाउको कन्याउनलाई टाउकामा जुम्रा पनि त हुनु पर्ने होला त्यसै हातका औंलाहरु टाउकामा घिसारिँदैनन् जस्तो लाग्छ मलाई त । यहाँहरुलाई कस्तो लाग्दछ ?