एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

Posted on: 09 May, 2021

वैशाख २६, काठमाडौँ (रासस) । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करीब रु दुई  करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका  लागि एक सय  अक्सिजन कन्सन्ट्रेटर  पठाउने निर्णय गरेको हो ।

बैठकमा संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नका लागि तत्काल  अक्सिजन सिलिन्डरलगायत समस्या रहेकाले अल्पकालीन तथा दीर्घकालीन योजनासहित  अघि बढ्नुपर्ने सुझाव दिनुभयो । 

अध्यक्ष  पन्तले सरकारका तर्फबाट स्वास्थ्योपचारमा पहल  हुँदाहँुदै पनि कोरोना भाइरस तीव्र रुपमा बढिरहँदा  बिरामीले अस्पतालमा शय्यासमेत नपाउने अवस्था रहेको जानकारी दिनुभयो ।  संघका उपाध्यक्ष डा बद्री केसीले संघका सक्रियतामा टेलिमेडिसिन सञ्चालन भइररहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्प डेस्कको आवश्यकता रहेको बताउनुभयो ।  संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्नका लागि  सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गर्नुभयो  । संघ अमेरिकाका महासचिव  पशुपति पाण्डेले संघ अमेरिकाका सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा  आइसोलेशन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

 संघ बेलायतका अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिनुभयो । संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंँडेलले कोरोना भाइरसको  संक्रमणविरुद्ध लड्नका लागि नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायका तर्फबाट अर्थ संकलन भइहेको जानकारी दिनुभयो ।

बैठकमा वक्ताले कोभिड १९ विरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पिसिआर टेष्ट र  स्वास्थ्य  जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाव  दिएका थिए । बैठकले संघका अध्यक्ष पन्त तथा अन्य संक्रमितको स्वास्थ्यलाभको कामना गरेको संघ कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!