कार्तिक २,ओखलढुंगा । ओखलढुंगामा नियम विपरीत लघुवित्त सञ्चालन हुनेक्रम बढ्दै गएको छ । विगत पाँच वर्षयता सदरमुकाममा लघुवित्त कारोबार गर्ने संस्था तिव्रगतीमा खुलिरहेका छन् । अहिले सिद्धिचरण नगरपालिकाभित्रै १३ वटा संस्थाले लघुवित्त कार्यालय सञ्चालन गरिरहेका छन्,भने थप दुई कार्यालय स्थापनाको अन्तिम तयारीमा छन् । अझै तीनवटा लघुवित्तले शाखा स्थापना गर्न सम्भाव्यता अध्ययन गरिरहेका छन् । आर्थिक वर्ष ०७२/७३ मै ६ वटा लघुवित्तले शाखा स्थापना गरी कारोबार थालेका छन् ।
राष्ट्र बैंकले आफ्नै नियम विपरीत यत्ति धेरै लघुवित्त संस्थालाई एकै स्थानमा शाखा खोल्न अनुमति दिएको हो । वित्तीय पहुँच कम भएको जिल्ला भएकाले पनि आँखा चिम्लेर अनुमति दिने गरेको सरोकारवालाको भनाइ छ । जब कि एउटै गाविस वा नगरपालकाभित्र ५ वटाभन्दा बढी लघुवित्त कारोबार गर्ने संस्थालाई अनुमति दिने प्रावधान छैन । तर, आफैंले बनाएको नियम विपरीत राष्ट्र बैंकले सिद्धिचरण नगरपालिकाभित्रै १५ वटा संस्थालाई अनुमति दिइसकेको छ । संस्था स्थापना हुनु आफंैमा नराम्रो नभएपनि यसले बढाएको अस्वस्थ प्रतिस्पर्धा चिन्ताको विषय भएको लघुवित्तकर्मीहरुकै भनाई छ । अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको उद्देश्य पूरा नहुने र लगानी डुब्ने खतरा बढेको छ ।
राष्ट्र बैंकको नियमअनुसार एकजनालाई एक मात्र लघुवित्तले सदस्य बनाउन पाइन्छ । तर, ओखलढुंगामा एउटै व्यक्तीलाई चारवटासम्म संस्थाले सदस्य बनाए पनि यसको अनुगमन र कारबाही हुन सकेको छैन । जिल्लामा खुलेका अधिकांश लघुवित्तले कार्यक्षेत्रका रूपमा सदरमुकाम आसपासका गाविसलाई मात्र लिएका छन् । उत्तर, पश्चिमतिरका दुर्गम गाविसहरूमा पुग्न सकेको छैन । सदरमुकाम बाहिर महुली सामुदायिकले मानेभन्ज्याङमा शाखा स्थापना गरेको छ । सामुदायिक लघुवित्तले रामपुरमा सेवा केन्द्र स्थापना गरेको छ । छिमेक लुघुवित्तले प्राप्चा सम्म सेवा पु¥याएको छ । बाँकी सबै संस्था सदरमुकाममै कार्यालय सञ्चालन गरेर कारोबार गरिरहेका छन् ।
महिला समूह बनाई विपन्नलाई जीविकोपार्जन तथा व्यवसाय गर्न लघुवित्तले लगानी गर्ने प्रावधान छ । तर लगानीको नाममा विपन्नसँग चर्को ब्याज असुल्ने गरेको गुनासो समेत बढेको छ । दुर्गम जिल्ला मानेर ओखलढुंगालाई राष्ट्र बैंकले बर्सेनि वित्तीय पहुँच नभएको सूचीमा राख्ने गरेको छ । तर, मौद्रिक नीति पुनरावलोकन गरी मापदण्डहरूको स्थिति अनुगमन गरेको देखिएको छैन ।
लगानीलाई सुनिश्चित गर्न लघुवित्तले सुरुमा बिनाधितो ५० हजारसम्म लगानी गर्ने चलन भए पनि लोकप्रियताका लागि कतिपयले १ लाखसम्म लगानी गर्न थालेका छन् । बिनाधितो ३ लाखसम्म लगानी गर्न पाउने नियम छ । जिल्लामा व्यापारिक कारोबार कम हुने गरे पनि वित्तीय कारोबारकै लागि बैंकका संख्यासमेत सात पुगेका छन् । राष्ट्रिय वाणिज्य, सिभिल, भिबोर विकास, कृषि विकास, कुमारी, टुरिजम डेभलपमेन्ट र सगरमाथा फाइनान्स सञ्चालनमा छन् ।
लघुवित्त कारोबार गर्ने संस्थाहरूमध्ये सबैभन्दा बढी कारोबार गर्नेको सूचीमा महुली सामुदायिक छ । जसले दुईवटा शाखा स्थापना गरी जिल्लाको १ नगरपालिका र ३२ गाविसमा ४ हजार ७ सय सदस्य बनाएको छ । १० करोड ५० लाखको हाराहारीमा कर्जा लगानी गरेको छ । कारोबारका रूपमा दोस्रो स्थानमा स्वावलम्बन लघुवित्त छ । उसको ७ करोडको हाराहारीमा लगानी रहेको कान्तीपुर दैनिकमा पनि खबर छ ।