कात्तिक १९, काठमाडौँ । नेपाली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा आज प्रतितोला रू आठ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण यहाँ पनि मूल्य वृद्धि भएको हो । गत शुक्रबार बजारमा सुन प्रतितोला रू ५६ हजार ७०० मा कारोबार थियो । आज सुनको मूल्य रू ५७ हजार ५०० कायम भइ कारोबार भएको छ ।
तेजावी सुनको मूल्य गत साता रू ५६ हजार ४५० मा कारोबार भएकामा आज प्रतितोला रू ५७ हजार २५० मा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य गत साताको तुलनामा प्रतितोला रू ३० ले वृद्धि भइ आज रु ८४० कायम भएको छ । सामान्य अवस्थामा सुन दैनिक १० किलो कारोबार हुँदै आएकामा तिहारमा दैनिक ३० किलो कारोबार भएको सङ्घले जनाएको छ । रासस