काठमाडौँ | आज मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २ हजार ६ सय रुपैयाँ घटेको हो । यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यसअघि भन्सार दर घटाइएसँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो । जुन दिन सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँ घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो भने जुन दर सोमबारदेखि कार्यान्वयनमा आएको थियो ।
यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएकोमा मंगलबार घटेर १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ ।