२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुंगा: झोलुंगे पुल बन्दा बाजागाजासहित खुशीयाली

२०७४, २२ पुष शनिबार ०८:०१

पूर्णप्रसाद मिश्र/पुस २२, ओखलढुंगा । आधुनिकताले जतिसुकै फड्को मारे पनि यहाँका बासिन्दा झोलुंगे पुल निर्माण हुँदा बाजागासहित खुशी मनाउँछन् ।

मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खाङसाङबाट ओखलढुंगाको पलापु जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि ७३ वर्षीया रत्नकुमारी सार्की हर्षित हुनुहुन्छ । 

वर्षौंदेखि सुनकोशी नदी पार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता पुल निर्माणसँगै अन्त्य भएकोमा उहाँलगायत स्थानीयवासी खुशी भएका हुन् । 

जीवनको छ दशक सुनकोशी नदीमा डुंगाबाटै आवतजावत गर्दा धेरै मानिसलाई बगाएको उहाँको स्मरणमा अझै ताजा छ । कुनै दिन आफू पनि डुंगाबाटै झरिएला भन्ने डरका बीच पुलबाट यात्रा गर्न पाउँदा खुशीको सीमा नाघेको ७० वर्षीया वृद्ध गोमलाल माझीले सुनाउनुभयो । 


स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) सस्पेन्सन वृज डिभिजनले निर्माण गरेको १९४ मिटर लम्बाइको पुल शुक्रबार संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले उद्घाटन गर्नुभयो । कार्यक्रममा उपस्थित स्थानीयवासीले पुल निर्माण हुँदा दशकौँदेखिको सपना साकार भएको भन्दै खुशी व्यक्त गरे । 

कार्यक्रममा राज्यमन्त्री चौधरीले नदीमाथि मानिस ओहोरदोहोर गर्ने स्थानमा पुल निर्माण गर्ने मन्त्रालयको कार्यक्रम रहेको जानकारी गराउनुभयो । 

“अहिलेको युगमा पनि खोला तर्न झोलुंगे पुलसमेत बन्न नसक्ने अवस्था रहनुहुन्न, यसैले चालु आवमा मन्त्रालयले ६०० झोलुंगे पुल बनाउने कार्यक्रम बनाएको छ”– उहाँले भन्नुभयो । 

वर्षौंदेखिको यहाँका जनताको सपना बनेको पुल निर्माणलाई मूर्तरुप दिन समन्वयको भूमिका निर्वाह गर्नुभएका पूर्व सांसद एवं नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भए पनि जिल्लाले विकास निर्माणमा नहार्ने प्रतिबद्धता जनाउनुभयो । 

पुल निर्माणका लागि रु ८० लाख ५४ हजार ६४० लागत लागेको विभागको सस्पेन्सन बृज डिभिजनका वरिष्ठ डिभिजन इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिनुभयो । विसं २०७३ असार १७ गते शुरु भएको पुल यसै वर्ष भदौ २० गते सम्पन्न भएको थियो । 

पुल निर्माणको अवधि पुस १६ गतेसम्म भए पनि निर्माण कम्पनी एमपी कन्स्ट्रक्सन कम्पनी प्रालि, नेपालगञ्जले चार महिना अघि नै सम्पन्न गरेर उदाहरणीय काम गरेको स्थानीय डिल्लीराम खनालले बताउनुभयो । 

पुल निर्माणका लागि रु ९३ लाख ८७ हजार ५३० लाग्ने अनुमान गरिए पनि रु १३ लाख कम बजेटमै सम्पन्न भएको विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले जानकारी गराउनुभयो । 

नवलपुरमा पक्की पुलको शिलान्यास 

यसैगरी ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकालाई मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको फिक्कल गाउँपालिकासँग यातायातले जोड्न सुनकोशी नदीमाथि पक्की पुल बन्ने भएको छ । 

पुलको राज्यमन्त्री चौधरीले शुक्रबार नै शिलान्यास गर्नुभयो । यो पुल निर्माण भएपछि जिल्लाको पश्चिमी भेगका मानिस घुर्मी हुँदै ओखलढुंगा घुमेर जानुपर्ने समस्या नहुने चम्मादेवी गाउँपालिका–२ का अध्यक्ष विष्णु पुलामीले बताउनुभयो । 

यो पुल निर्माण सम्पन्न भएपछि जिल्ला सदरमुकाम जानसमेत छोटो दूरी पर्नेछ । पुल निर्माणका लागि गत वर्ष नै ठेक्का भए पनि निर्माण कम्पनी टुण्डी/शर्मा जेभीले नक्सा बनाउन ढिलाइ गर्दा शिलान्यास गर्न समय लागेको सो अवसरमा जानकारी गराइयो । 

सुनकोशी नदीमाथि दुई लेनको २०० मिटर लम्बाइको पुल निर्माण हुनेछ । पुल निर्माणपछि ओखलढुंगा पश्चिमी र रामेछापको पूर्वी भेगका बासिन्दा लाभान्वित हुनेछन् । 

विसं २०७६ असारसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने पुलको लागत रु २१ करोड ९३ लाख रहेको पुल निर्माणमा खटिनुभएका सडक विभागका इञ्जिनियर रमेश सुवेदीले बताउनुभयो । 

पुलको शिलान्यास गर्नुहुँदै राज्यमन्त्री चौधरीले अबको राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिनुभयो । “आर्थिक समृद्धिका लागि मुलुक स्थिर बाटोमा अघि बढ्नुपर्छ, अन्नको भण्डार तराई, जडीबुटी, जल र ऊर्जाको स्रोत हिमाल एवं पहाडको समन्वयात्मक विकासले मात्र समग्र देशको विकास हुन्छ”– उहाँले भन्नुभयो । 

पूर्वसांसद खतिवडाले हाल रामेछाप सदरमुकाम मन्थली जान ७० किमी घुम्नुपर्ने बाध्यता रहेकामा पुल सम्पन्न भएपछि १६ किमीमै पुगिने सुनाउनुभयो । पुल बन्नुअगावै नवलपुर–कोशभञ्ज्याङ–ओखलढुंगा सडक कालोपत्र गर्न आफू लाग्ने वाचासमेत उहाँले गर्नुभयो । 

चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले सुनकोशी नदीमाथि पक्की पुल नहुँदा भूकम्पपछिको पुनःनिर्माणमा निर्माण सामग्री लैजान, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था लैजान समस्या भइरहेको बताउनुभयो । 

कार्यक्रममा डोलिडारका महानिर्देशक श्रेष्ठ, नेपाली काँग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवार, महासमिति सदस्य डिल्लीराम खनाललगायतले तोकिएकै समयमा पुल निर्माण सम्पन्न गराउन निर्माण कम्पनीको ध्यानाकर्षण गराउनुभयो । 

निर्माण कम्पनीबाट पुल हेर्न खटिनुभएका उपप्रमुख व्यवस्थापक मञ्जिल मिश्रले समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे