२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निस्दी लघुजलविद्युत् : स्थानीयवासीको दैनिकी फेरियो

५ पुष २०७५, बिहीबार ०९:०१

   सुशीला रेग्मी पुस ५, बेझाड (रासस) |  पाल्पा, निस्दी गाउँपालिका–५ गल्धाको ढुङ्गानाबेँसीमा सञ्चालित निस्दी लघु जलविद्युत् आयोजनाबाट यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचबाट टाढा रहेका यहाँका स्थानीयवासी घरघरमा आयोजनामार्फत बिजुली बत्ती उपभोग गर्न पाउँदा दङ्ग छन् । 

दुर्गम क्षेत्र मानिएको ढुङ्गानाबेँसीमा सबैका घरमा उज्यालो बत्ती बलेपछि गाउँ नै झिलिमिली बनेको छ । आयोजनाबाट विद्युत् सेवा पुगेपछि टिभी हेर्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, रेडियो बजाउन, लेखपढ गर्न सजिलो भएको छ । विद्युत् लाइनकै कारण यहाँका स्थानीयवासीको जनजीवनमा परिवर्तन आएको स्थानीयवासी लालबहादुर ढेँगाले बताउनुभयो । “शहर बजारदेखि टाढा रहेको र यहाँको विकासमा कसैको ध्यान नजाँदा स्थानीयवासीले सधैँ अन्धकारमा जीवन बिताउन बाध्य थिए, अहिले स्थानीयवासीकै सक्रियता र जनश्रमदानमा आयोजना निर्माण गरी सञ्चालनमा आएपछि गाउँको मुहार नै परिवर्तन भएको छ,” उहाँले भन्नुभयो । 

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु १७ लाख ५० हजार, १३३ घरधुरीबाट प्रतिघरधुरी रु पाँच हजारका दरले छ लाख ६५ हजार, साविक गल्धा गाविसबाट दुई लाख ३५ हजार, गाबुखोला सोसाइटी समूहमार्फत एक लाख, बूढीकोट सामुदायिक वन समूहबाट २५ हजार, साविक जिविस पाल्पाबाट एक लाख ४० हजार सहयोग प्राप्त भएको आयोजनाका सचिव चन्द्रबहादुर ढेँगाले बताउनुभयो । 

सचिव ढेँगाका अनुसार कृषि विकास बैंक शाखा रामपुरमार्फत सात लाख ५० हजार ऋण सहयोग, स्थानीय समूह गाबुखोला सोसाइटी समूहमार्फत तीन लाख ऋण सहयोग र स्थानीयवासीको दश लाख बराबरको जनश्रमदान गरी करीब ५० लाखको लागतमा आयोजना सम्पन्न भई हाल सञ्चालनमा छ । २०६६ बाट शुरु भएको आयोजनाबाट हाल १६५ घरधुरीका करीब ८०० जनसङ्ख्या लाभान्वित बनेको आयोजनाका अध्यक्ष घनबहादुर खण्डलुकले बताउनुभयो । बस्तीदेखि करीब एक हजार ६०० मिटर टाढा रहेको निस्दी खोलाको घ्याङ्गसिङ्घारी ठाउँबाट बाँध बाँधेर आयोजना निर्माण गरिएको हो । दैनिक बिहान ७ देखि १० बजेसम्म तीन घण्टा विद्युत् लाइन बन्द हुने र अरू समय नियमित सञ्चालन भइरहेको छ । 

आयोजना सञ्चालनका लागि दुई जना अपरेटर र एक जना सहयोगीको व्यवस्था गरिएको छ । केन्द्रीय विद्युत् लाइनको पहुँच नपुगेको यस क्षेत्रमा स्थानीयवासीको अथक प्रयास र जनश्रमदानमा आयोजना गाउँमा सञ्चालन भएपछि ठूलो राहत मिलेको छ । अहिले धान, मकै, गहुँ, कोदो कुटानी–पिसानीका लागि आधुनिक मिल पनि सञ्चालनमा आएको छ । आयोजना सञ्चालन नहुँदासम्म यहाँका स्थानीयवासी सधैँ ढिकीजाँतोमा धान, गहुँ, मकै, कोदो कुटानी–पिसानी गरेर साँझ–बिहानको छाक टार्न बाध्य थिए । आयोजना सञ्चालनमा आएदेखि खाना पकाउन, फ्रिज चलाउन, टिभी हेर्न, छोराछोरीलाई उज्यालोमा राखेर पढाउन सजिलो भएको आयोजनाका कोषाध्यक्ष सम्झना गैरेले बताउनुभयो । 

“बिजुली नहुँदा रातभरि ढिकीजाँतो गर्नुपथ्र्यो, महँगो मूल्यमा मट्टीतेल किनेर टुकीको भरमा जीवन बिताउनुपर्ने अवस्था थियो, अहिले गाउँभरि नै सबैका घरमा उज्यालो बत्ती बलेको देख्दा आनन्द लागेको छ,” उहाँले भन्नुभयो । कुटानीपिसानीका लागि मिल सञ्चालनमा आएपछि गाउँका महिलालाई ठूलो राहत पुगेको उहाँको भनाइ छ । “टुकीमा बसेर पढ्दा निकै समस्या हुन्थ्यो, कहिलेकाहीँ बजारमा मट्टीतेल अभाव हुँदा लेखपढ गर्नै पाइँदैनथ्यो, अहिले त रातभरि उज्यालोमा बसेर पढ्न पाइन्छ,” विद्यार्थी विशाल खण्डलुकले भन्नुभयो । 

लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि साविक गल्धा गाविसका विद्यार्थीलाई लक्षित गरी माध्यमिक तह र उच्च शिक्षाको वार्षिक परीक्षा पनि गाउँमै सञ्चालन हुँदै आइरहेको छ । यहाँ विद्युत् अभावकै कारण माध्यमिक तह तथा उच्च शिक्षाको वार्षिक परीक्षा दिन रामपुरमा जानुपर्ने बाध्यता थियो । अहिले यो समस्याबाट यहाँका विद्यार्थी मुक्त भएका छन् । विद्युत्कै कारण ढुङ्गानाबेँसी बजारमा पसल, व्यवसाय खुल्ने क्रम बढ्दो छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य