२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुलले दियो रोजगारी

२०७५, ९ फाल्गुन बिहीबार ०५:३४

सुशीला रेग्मी | फागुन ९, बेझाड | बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ । वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बनेको छ । 

कालीगण्डकीका विभिन्न घाटमा पक्की पुल धमाधम निर्माण शुरु भएपछि सयौँ युवाले रोजगारीको अवसर पाएका छन् । रोजगारीको समस्याले विदेशमै भौँतारिनुभन्दा घरमै बसेर आफ्नै गाउँठाउँमा काम गर्ने अवसर पाएकामा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने थर्कबहादुर कुमालले खुशी व्यक्त गर्नुभयो । 

कुमाल अहिले पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७ जोड्ने गौरीघाटमा निर्माण भइरहेको पक्की पुलमा दुई वर्षदेखि निरन्तर काम गर्दै आउनुभएको छ । “घरपायक रोजगारी मिलेको छ, विदेश गएपनि काम गर्ने यस्तै हो, एउटा काम भनेर गयो, अर्कैै दुःखको काम पर्छ, यही काम गर्न पाउँदा आनन्द लाग्छ” कुमालले भन्नुभयो । उहाँले दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निरन्तर खटेर काम गरेवापत रु ७०० ज्याला बुझ्नुहुन्छ । यसैबाट छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन सहज भएको उहाँ बताउनुुहुन्छ । मजदुरी गरेर आफ्ना सन्ततीलाई उच्च शिक्षा दिलाउने कुमालको अठोट छ । 

विगत १५ वर्षदेखि रामपुर क्षेत्रमा काम गर्दै आउनुभएका रुपन्देहीका मङ्गलप्रसाद चौधरीलाई पनि पुलले रोजगारी दिएको छ । चौधरी पुल निर्माणमा मेसिन, विल्डिङसम्बन्धी काममा निकै सिपालु हुनुहुन्छ । उहाँले साँझ बिहानको खाना खाएर मासिक रु ३५ हजार रकम कमाई गर्नुहुन्छ । वैदेशिक रोजगारीको कमाई यहीँ बसेर सजिलैसँग गर्दै आएको उहाँ बताउनुहुन्छ । “नेपालमै महीनामा रु ३५ हजार कमाई भएपछि वैदेशिक रोजगारीमै जानु परेन, खाना बासको खर्च तिर्नुपर्दैन, तलब जति सबै घरखर्च, छोराछोरीको पढाइ खर्चमा मात्र नभई केही रकम बचतसमेत गर्न थालेको छु”, चौधरीले भन्नुभयो । 

रोजगारीकै लागि बर्दियाका ४३ वर्षीय प्रभा थारू दुई वर्षदेखि निरन्तर पुल निर्माणकार्यमा संलग्न हुनुुहुन्छ । थारूले यहाँ दैनिक मिस्त्री काम गरेर रु ८०० कमाएर पारिवारिक गुजारा राम्रैसँग चलेको बताउनुभयो । “विदेशको मुख ताकेर बस्ने होइन, आफ्नै देशमा सकेको जानेको सीप गरियो भने विदेशमा कमाउने धन यहीँ कमाउन सकिन्छ”, थारूको भनाइ छ । उहाँले १५ वर्षदेखि मुलुकका विभिन्न नदी, खोलामा पुल निर्माणमा काम गर्दै आउनुभएको छ । 

पुल निर्माणकार्य शुरु भएपछि होटल व्यवसाय पनि फस्टाउँदै गएको नगरपालिका–६ का कमला डोटेलले बताउनुभयो । पहिला सुनसान बनेको व्यवसाय अहिले व्यापार बढ्दै गएपछि व्यवसायमा हौसला मिलेको उहाँले बताउनुभयो । 

जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीमार्फत २०७२ फागुन १६ गते शिलान्यास गरिएको गौरीघाटको पुल निर्माणकार्यमा ४० कामदारले निरन्तर रोजगारी पाएका छन् । एक सय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा सम्झौता भई निर्माणकार्य शुरु भएको हो । 

कामदारको कामअनुसार ज्याला उपलब्ध गराउँदै आएको निर्माण कम्पनीका प्रतिनिधि एवं चापाकोट नगरपालिका–७ का अध्यक्ष एकदेव भट्टराईले बताउनुभयो । यहाँ काम गर्ने कामदारले दैनिक कम्तीमा रु ७०० देखि एक हजार ५०० सम्म ज्याला रकम बुझ्ने गरेका छन् । 

सडक डिभिजन कार्यालय पाल्पाअन्तर्गत जिल्लामा चालू आर्थिक वर्षमा छ पक्की पुल निर्माणकार्य भइरहेको छ । रामपुर नगरपालिकास्थित कालीगण्डकीको गौरीघाट, प्याक्लुकघाट, निर्दिमघाटमा करोडौँको लगानीमा पक्की पुल निर्माण हुँदैछन् । जिल्लाको तिनाऊ गाउँपालिकास्थित तिनाउखोला, झुम्साखोला र कचलखोलामा ठूलो लगानीमा पक्की पुल निर्माणकार्य बढाइएको छ । यहाँ धेरै युवाले रोजगारीको अवसर प्राप्त गरेका छन् । पुल निर्माणकार्यमा पुरुषले मात्र नभई महिलाले पनि रोजगारी पाएका छन् । 

प्रयोगविहीन प्रशोधन भवन 

दुई वर्ष अगाडि निर्माण भएको अदुवा प्रशोधन भवन अहिलेसम्म प्रयोगमा आउनसकेको छैन । जिल्लामा उत्पादन भएका अदुवालाई जिल्लाबाटै प्रशोधन गरी अन्यत्र खपत गर्न जिल्लाको तानसेन नगरपालिका–८ चुच्चोबारीमा बनाइएको भवन प्रयोगविहीन अवस्थामा छ । 

जुन उद्देश्यअनुसार बनाइएको छ, सोहीअनुसार प्रयोगमा नआउँदा सबैको चासोको विषय बनेको छ । अदुवा प्रशोधन गर्ने उपकरण नहुँदा भवनलाई प्रयोगमा ल्याउन नसकेको भवन निर्माण समिति अध्यक्ष एवं जिल्ला अदुवा व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष कृष्ण जिसी बताउनुहुन्छ । “कृषकले उत्पादन गरेका अदुवालाई जिल्लामै प्रशोधन गरी बाहिर पठाउने गरी भवन निर्माण गरियो तर भवनमा प्रयोग गर्ने उपकरण खरीद गर्न नसक्दा भवन अलपत्र अवस्थामा छ”, उहाँले भन्नुभयो । 

अदुवा प्रशोधनका लागि आवश्यक पर्ने उपकरण खरीद गर्न सम्बधित ठाउँमा जानकारी गराए पनि अहिलेसम्म कोही कसैबाट सुनुवाइ नभएको जिसी बताउनुहुन्छ । नेपाल सरकारको राष्ट्रिय मसला बालीमार्फत रु ३२ लाख सहयोग र स्थानीयको जनश्रमदानसहित रु ४० लाखको लागतमा भवन निर्माण गरिएको छ । अदुवा बिक्रीका लागि वर्षेनी सास्ती खेप्दै आएका यहाँका कृषकलाई अदुवा उत्पादनमा प्रोत्साहन गर्न र बजारको समस्या हटाउन भवन निर्माण गरिएको हो । 

भवन निर्माण भएको दुई वर्ष बितिसक्दा पनि प्रयोगमा ल्याउन नसक्दा कृषकले अदुवा बिक्रीका लागि निकै कष्ट भोग्न बाध्य छन् । वर्षेनी ठूलो परिमाणमा पाल्पामा अदुवा उत्पादन हुने गरेको अदुवा व्यवसायी सङ्घ पाल्पाका व्यवस्थापक भेषराज तिमिल्सिनाले बताउनुभयो । 

अदुवा प्रशोधन केन्द्रकै समस्याले वर्षेनी यहाँका कृषकले बारीमै अदुवा कुहाउन बाध्य रहेको उहाँ बताउनुहुन्छ । “भवन बनेर मात्र भएन, त्यसका लागि चाहिने अत्यावश्यक उपकरण खरीद गर्न करीब रु ३० लाख लाग्ने अनुमान छ, उपकरण खरीद समस्याले प्रशोधन केन्द्र शुरु हुनसकेको छैन”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ