२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असारे भाका गाउँदै धान रोपाइँ गर्ने बेठी परम्परा लोप हुन थाले

२०७७, २१ असार आईतवार ०४:३४

भविन कार्की । असार २१, खाँदबारी । सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको छ । 

पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको छ । लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्न सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ वानाका चार दाजुभाइले गत वर्ष बेठी लगाएर धान रोपाइँ गरेका थिए । चार दाजुभाइले २० वर्षपछि लगाएको बेठी युवापुस्ताका लागि अत्यन्तै नौलो र रोचक दृश्य बनेकोे पाँचखपनका स्थानीय वृद्ध बृहस्पति गौतमले बताउनुभयो । नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित गत वर्ष बेठी लगाउँदै धान रोपाइँ गरिए पनि यस वर्ष निरन्तरता पाउन सकेन । हराउनै लागेको बेठीको संरक्षण गर्नका लागि आफूहरुले यस वर्ष बेठी लगाएको चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । वर्षौँअघिदेखि चल्दै आएको बेठी रोपाइँको चलन अहिले एक देशको कथाजस्तो भएको स्थानीयवासीको भनाइ छ ।

पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक शुरु हुन्छ । मानव जीवन र हिलो माटोबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन रहेको पाँचखपन–१ का ७१  वर्षीय टीकादत्त भट्टराईले बताउनुभयो ।

देशमा भूमिसम्बन्धी जिम्मावाल व्यवस्था कायम रहुञ्जेलसम्म जिम्मावालको सान र रवाफको पर्याय बन्दै आएको बेठी परम्परा विसं २०२१ मा लागू भएको भूमिसुधार कार्यक्रमपछि गाउँ समाजमा सामाजिक प्रतिष्ठाका रूपमा हुनेखाने वा गाउँका धनीमानी वा मुखियाहरुकै प्रतिष्ठा वृद्धिको माध्यमका रूपमा चल्दै आयो । नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ । सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्छ । 

रोपाइँ सकेपछि भोज खाने चलन रहेकाले यसलाई किसानले पछिल्लो समय पर्वका रूपमा मनाउन थाले । बेठीको दिन आप्mना चेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन छ । नौमती बाजा, दर्जनौँ हलगोरु, सयौँ रोपाहार र बाउसेहरुले एकै दिन रोपाइँ गरेर उनीहरुले यसलाई पर्वका रूपमा मनाउने गरेका थिए । अरुबेला गरिएको रोपाइँमा खेताला पर्म र बोलाइएकाहरुलाई पैसा दिनुपर्ने भए पनि बेठीमा आएकाहरुको पर्म तिर्नु पर्दैन तर रोपाइँ सकिएपछि माटोको टीका र धानको बीउको फूल लगाएर रोपाहार र चेलीबेटीलाई दक्षिणास्वरुप पैसा दिने चलन छ । बेठी परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएर सरकारको समेत कर्तव्य भएको सरोकारवालाको भनाइ छ । 

नेपाली समाजमा यो चलन कहिले शुरु भयो कसैले यकिनसाथ भन्न सक्तैन । जे जसरी शुरु भए पनि पहिलेको समाजमा मुखिया वा जमीनदारहरुले बेठी लगाउने दिन भनेपछि उसको समाजका सबैले आफ्नो परिवारबाट एक जना श्रमिक पठाउने गर्दथे । तत्कालीन समाजमा बेठीमा आएका श्रमिकलाई ज्याला दिइँदैनथ्यो । न पर्म नै तिरिन्थ्यो । जिम्मावाल वा मुखिया प्रथामा आएको परिवर्तनसँगै बेठी परम्परामा समेत आएको परिवर्तनले श्रमिकहरुलाई ज्याला दिने चलन बसेको थियो । सामाजिक परिवर्तनको लहर वा मानिसहरुको दृष्टिकोण र बानी व्यवहारमा आएको परिवर्तनले बेठी परम्पराको अस्तित्व लोप हुनपुगेको छ ।

आजभोलि गाउँघरतिर पहिलेको जस्तो खेतीपातीको काममा आकर्षण छैन । पछिल्लो समय ग्रामीण भेगका युवापुस्ता शहर केन्द्रित श्रम, वैदेशिक रोजगारी र कृषि कार्यमा अपेक्षित ज्याला नपाइने भएकाले खेतीपाती छाड्ने गरेका छन् । सङ्खुवासभामा १३ हजार हेक्टर जमीनमा धानखेती गरिने गरेको कृषि ज्ञान केन्द्र सङ्खुवासभामा प्रमुख गोविन्द आचार्यले बताउनुभयो । जिल्लामा अहिलेसम्म १७ प्रतिशत धान रोपाइँ सकिएको प्रमुख आचार्यको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ