२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुहार फेर्दै बागलुङ बजार

२०७७, २४ आश्विन शनिबार १०:३१

असोज २४, बागलुङ | अबदेखि बागलुङ बजार छिर्दा तपाईँले केही फरक पाउनुहुनेछ । धुले सडक, साँघुरा चोक, अस्तव्यस्त ट्राफिक र पोलैपिच्छे गुजिल्टिएका तारबाट बजारमुक्त हुँदैछ । अघिल्लो वर्ष शुरु भएको बजारको मुहार फेर्ने योजनाले यसपालि साकार रूप लिन थालेको हो । वर्षौँदेखि अव्यवस्थित र बिरुप बजारको परिचय बदल्न बागलुङ नगरपालिका जुर्मुराएको छ ।

बजारको सौन्दर्यीकरण गरिछाड्ने जनप्रतिनिधिको अठोट छ । सडक–चोक सुधारका लागि नगरपालिकाले ट्राफिक कार्यालयदेखि घर–टहारासम्म हटाएको छ । बजारको मुखैमा रहेको ट्राफिक र समीक्षालयचोक पहिलेभन्दा दोब्बर चौडा भएको छ । हल्लन, क्याम्पस र शिवधाराचोक पनि विस्तार भएको छ । घन्चमन्च सवारी गुड्ने, मोडिन नसकी बस÷ट्रक चोकमै अड्कने स्थितिबाट केही छुटकारा मिलेको छ । सडक फराकिलो बन्दा पैदलयात्रीको आउजाउ पनि सहजउन्मुख छ ।

“चोक सुधारले सवारी व्यवस्थापनमा केही सहजता थपिएको छ”, ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले भन्नुभयो । चोक–सडक विस्तारसँगै सडक सुरक्षाका पूर्वाधार पनि बनाउनुपर्ने उहाँको भनाइ छ । सडकछेउका जीर्ण विद्युत् पोल हटाउन ट्राफिक प्रहरी आफैँ पनि अग्रसर छ । “नगरपालिकाको अभियानमा हामी पनि साथ छौँ, यसले ट्राफिक व्यवस्थापन चुस्त बनाउन सघाउ पुग्छ”, प्रनानि पाठकले भन्नुभयो । उहाँले मालवाहक सवारीलाई बिहान–बेलुका मात्र बजार छिर्न दिने गरी प्रबन्ध गर्न लागिएको बताउनुभयो ।

साँघुरा सडक र बढ्दो सवारी चापलाई दृष्टिगत गरी ट्राफिक प्रहरीले गत वर्षदेखि पार्किङसमेत एकतर्फी गराउँदै आएको छ । सडकछेउ पैदलमार्ग नभएका कारण पनि ट्राफिक व्यवस्थापनमा थप चुनौती छ । पैदलयात्री सडककै बीच भएर जथाभावी हिँडिरहेका देखिन्छन् । नगरपालिकाका इञ्जीनियर गौरव शर्माले मापदण्डभित्र पर्ने संरचना हटाएर सडक चौडा पारिएको बताउनुभयो । उहाँका अनुसार बजारका मुख्य सडक १० र सहायक सडक ७ मिटरसम्म फराकिलो बनाइँदैछ । सडक विस्तार र स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको इञ्जीनियर शर्माको भनाइ छ ।


भूपी शेरचनचोक–किरानाटोल, धवलागिरि बहमुखी क्याम्पसको पश्चिम गेटदेखि गोल्डेनगेटचोक र वीरेन्द्र–एश्वर्य उद्यान आसपासको सडक चौडा पारिएको छ । सडक विस्तार गर्दा ट्राफिक कार्यालय, वीरेन्द्र–ऐश्वर्य उद्यानको पर्खाल, ज्ञानोदय भगवती पुस्तकालयको व्यावसायिक भवन भत्काइएको थियो । यस्तै मापदण्डभित्र पर्ने तत्कालीन जिल्ला विकास समिति, मालपोत, नापी कार्यालयको पर्खाल, माइक्रो काउण्टर र सार्वजनिक शौचालयसमेत हटाइएको नगरपालिकाले जनाएको छ । भूपिचोकदेखि किरानाटोलसम्म घरका पेटीसहितका संरचना फालेर सडक चौडा पार्ने काम भइरहेको छ ।

सडक विस्तार गर्ने, खाल्डाखुल्डी पुर्ने, जीर्ण पोल, तार हटाउने काम एकसाथ अघि बढेको वडा नं. २ का अध्यक्ष जीवन आचार्यले बताउनुभयो । “धेरै पुराना र अव्यवस्थित २८ वटा विद्युत् पोल हटाइसक्यौँ”, उहाँले भन्नुभयो, “आउँदो तीन÷चार महिनाभित्रमा बजारको स्वरुप केही फेरिन्छ ।”

वडाध्यक्ष आचार्यका अनुसार बजार क्षेत्रमा एक सयभन्दा बढी पुराना विद्युत् पोल हटाउनुपर्ने स्थिति छ । पोलमा गुजुल्टिएका र जथाभावी टाँगिएका विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तारले बजारलाई बिरुप तुल्याएको थियो । नेपाल विद्युत् प्राधिकरण,  टेलिकम कार्यालयलगायतसँगको समन्वयमा तार हटाउने काम भइरहेको छ । 

प्राधिकरणले नाङ्गो तार हटाएर नयाँ प्लाष्टिकजडित कालो तारबाट विद्युत् सेवा दिन शुरु गरेको छ भने टेलिकम पनि पुरानो तामाको तारको सट्टा फाइबर विस्तारमा केन्द्रित बनेको छ । बजारभित्रका जीर्ण सडक कालोपत्र गर्नेसमेत योजना नगरपालिकाको छ । गत वर्ष नै चोक सुधारको काम सक्ने लक्ष्य लिइए पनि कोभिड–१९ का कारणले पछाडि धकेलिएको जनाइएको छ । बजारका भित्री सडक र नाली निर्माणलाई पनि प्राथमिकता दिइएको वडाध्यक्ष आचार्यको भनाइ छ । 

उहाँले बजारमा आवादी बढेकाले पूर्वाधार विकास पनि सोहीअनुसार गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख जनकराज पौडेलले सडक मापदण्ड कडाइका साथ लागू गरिने बताउनुभयो । “सडकको अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाइरहेका छौँ, अब बजार व्यववस्थित हुन्छ, चोक–सडक सुधारको योजना निरन्तर चल्छ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख पौडेलले सडकबत्ती र सिसी क्यामेरालाई पनि थप व्यवस्थित गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले दशैँअघि नै सडकका खाल्डाखुल्डी पुर्ने बताउनुभयो । बजारको ढल निकासका लागि रु ७० करोडको डिपिआर तयार भएको र  यही वर्ष ठेक्का प्रक्रियामा जाने नगरप्रमुख पौडेलले बताउनुभयो । उक्त योजनाका लागि सङ्घ सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ ।

व्यवस्थित ढल निकासले वर्षायाममा बागलुङ बजारका सडक जलमग्न हुने समस्या सधैँका लागि अन्त्य हुनेछ । “बजारलाई व्यवस्थित र आधुनिक बनाउन प्रयासरत छौँ”, नगरप्रमुख पौडेलले भन्नुभयो । नगरपालिकाले बजार क्षेत्रमा पर्ने वीरेन्द्र–ऐश्वर्य र शहीद स्मृति उद्यानमा समेत सौन्दर्यीकरणको काम थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो