३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डेढ महिनादेखि सडक सञ्जालबाट मनाङ पूर्णरूपमा विच्छेद, दैनिकी चलाउनै समस्या

४ श्रावण २०७८, सोमबार ०६:४४

नवीन लामिछाने । साउन ४, मनाङ (रासस)। देशैभर मनसुन शुरु भएको एक महिना भयो । मनसुनसँगै हिमाली जिल्ला मनाङले बाढीपहिराको बढी प्रभाव र क्षति भोगेको छ । डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद छ । जिल्लामात्र नभई मनाङभित्रैका गाउँ पनि एकअर्कासँग आवतजावत हुन सकेको छैन । 

बाढीपहिराका कारण सडक मात्र नभई मनाङमा विद्युत् र खानेपानीको सेवा पनि ठप्प छ । सदरमुकाम चामेमा नै समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ । बाढीपहिराले क्षति गर्दा कतिपय गाउँ अझै पनि विद्युत् र सञ्चार सम्पर्कमा जोडिन सकेका छैनन् । सबै क्षेत्रमा क्षति भोगेको हिमाली जिल्ला मनाङले निकै नै सकस तथा जोखिमपूर्ण अवस्था बेहोर्न बाध्य भएको छ । मस्र्याङ्दी नदीमा बाढीको सतह केही कम भएपछि पनि धेरै जोखिम र सकस भोग्दै आएको छ । स्थानीयवासीका अनुसार सडक सञ्जाल विच्छेदले सबैभन्दा बढी सकस बनाएको छ । सडक सञ्जालको नामोनिसान मेटिएपछि जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तु पु¥याउन नसक्दा अभाव सिर्जना भएको छ ।

स्थानीयवासीले आवश्यक परेका सामग्री पसलमा गएर किन्न पाएका छैनन् । बिरामी परेमा उपचारका लागि अस्पतालसम्म पुग्न पनि उत्तिकै कठिन छ । पैदल हिँडडुल नै असहज बनेको छ । एउटा गाउँबाट अर्को गाउँमा आउजाउ गर्दा रुखको जरा समाएर स्थानीयवासी हिँडडुल गर्न बाध्य भएका छन् । ज्यान जोखिममा राखेर पहरो कोपेर बनाइएका साँघु तरेर यात्रा गरिरहेका छन् । “जोखिम र सकसपूर्ण अवस्थामा अहिले हामी गुज्रिरहेका छौँ । सबैभन्दा अप्ठ्यारो अवस्था हामीलाई अहिलेसम्मको पहिलो समस्या होला सायद”, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ भन्नुहुन्छ, “सबैतर्फबाट हामीले समस्यै समस्या भोगेका छौँ ।” गुरुङका अनुसार खाद्यान्न ढुवानी गर्न नपाउँदा बढी समस्या भएको छ । लमजुङको बेँसीशहर हुँदै खाद्यान्न ढुवानी गर्ने अवस्था नरहेपछि मुस्ताङ हुँदै खच्चडबाट आवश्यक खाद्यान्न र दैनिक अत्यावश्यक वस्तु ढुवानी गरेर जीविका चलाउनुपरेको उहाँ बताउनुहुन्छ । 

मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ (पाँच हजार ४१६ मिटर) पार गर्नुपर्छ । माथिल्लो मनाङवासीले अहिले थोराङ्ला भञ्ज्याङ हुँदै खाद्यान्न र आवश्यक वस्तु ढुवानी गरिरहेको गुरुङले बताउनुभयो । “पिसाङमा दुई र खाङ्सारमा एक ट्रिप सामान थोराङ्ला हुँदै ढुवानी भयो, अब मनाङवासी पनि केही दिनमा सामान ल्याउने तयारीमा छन्”, उहाँले भन्नुभयो । यो रुटमार्फत खच्चडबाट गरिएको ढुवानी निकै नै महँगो पर्छ । थोराङ्ला फेदी (मुस्ताङतर्फ)बाट मनाङसम्म खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो रु ४० खर्च लाग्ने उहाँले बताउनुभयो । थोराङ्ला भञ्ज्याङको मुस्ताङको फेँदीसम्म गाडी पुग्छ । मुक्तिनाथबाट डेढ दिनमा सामान मनाङ आइपुग्ने उहाँले बताउनुभयो । 

“दाल, चामल, तेल, नुन, औषधिसहितका सामान अहिले मुस्ताङबाट ल्याउन थालेका छौँ, यताबाट ल्याइएन भने माथिल्लो मनाङमा अभाव सिर्जना हुन्छ”, उहाँले भन्नुभयो । गुरुङका अनुसार गाडीबाट बेँसीशहर हुँदै मनाङसम्म प्रतिकिलो रु १० मा सामान ढुवानी हुन्थ्यो, तर अहिले खच्चडबाट ल्याउँदा रु ४० र हेलिकप्टरमार्फत रु २५० पर्ने गरेको छ । “अब त तल (चामे हुँदै) सामान आउने सम्भावना नै छैन, मान्छे हिँड्न त डोरीको भरमा हिँड्नुपर्ने अवस्था छ, हुनेखानेले पो हेलिकप्टरबाट ल्याउलान्, सामान्य मानिसले सामान ल्याउन सक्ने अवस्था नै छैन”, उहाँले भन्नुभयो, “उपचारमा बढी समस्या, बिरामी परे अस्पताल पुग्नै कठिन छ, मौसम खराबीले हेलिकप्टरको उडानमै कठिनाइ छ ।” पैसा भए पनि हेलिकप्टर नै आउन सक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।  

दाताको सहयोगमा ल्याइएको रासन बाहिरबाट आएका कामदार र एकल तथा गरिब परिवारलाई उपलब्ध गराउने गरिएको गुरुङले बताउनुभयो । एकल महिला, गरिबलाई राहत दिने गरी योजना बनाएकोसमेत उहाँले जानकारी दिनुभयो । “बाहिरबाट आएकालाई यहाँ बढी कठिन भएको छ । उनीहरुले मौज्दात सामान राख्न पनि सकेका छैनन्, गोरखा, धादिङ, रुकुम, रोल्पाका मान्छे यहाँ कामका लागि आउनुभएको छ, न त घर जान सक्ने अवस्था छ, न त यहाँ सहज भएको छ उहाँहरुलाई, केही सहयोग भने हामीले गरेका छौँ”, उहाँले भन्नुभयो ।   

उद्योग वाणिज्य सङ्घ मनाङका अध्यक्ष सन्तोष श्रेष्ठले मोटरबाटो नखुल्दा अवस्था कठिन बन्दै गएको बताउनुभयो । “माथिल्लो भेगमा समस्या छ । खाद्यान्न ढुवानीमा समस्या छ । पैसा भएर पनि सामान ल्याउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बाटो नभएपछि बजार ठप्प छ । बजारमा सामान किन्न पाइन छाड्यो, चामेतिर पनि अवस्था उस्तै छ, पैसा भए पनि सामान पाइने अवस्था छैन । उहाँले थोराङला भञ्ज्याङ हुँदै दैनिक उपभोग्य र अत्यावश्यक वस्तु ल्याउन बाध्य भएको बताउनुभयो । 

मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ । एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार मौज्दात खाद्यान्न पनि सकिन थालेको छ । उहाँले हेलिकप्टर वा थोराङ्ला भञ्ज्याङ पार गराएर सामान ल्याउनेबाहेक विकल्प नै नभएको बताउनुभयो । “अझै पनि मान्छे घर फर्किन सकेका छैनन्, तालगाउँका करिब ९० प्रतिशत घरका मान्छे आफन्त कहाँ आश्रय लिइरहेका छन्, कतिपय बाँडिएर गाउँमै बसेका छन्, सामूहिकरूपमा चार ठाउँमा गाउँले बसेका छन्”, उहाँले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मनाङको अवस्था जोखिमपूर्ण बन्दै गएको छ । गाडी नचलेपछि खाद्यान्न, औषधि, अत्यावश्यक वस्तु अभाव हुन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार बिजुली अभाव छ, सौर्य ऊर्जाको भरमा काम गर्न मुस्किल भएको छ, बजारमा सामान किन्न पाइने अवस्था छैन । “यहाँ बढी अस्थायी बासिन्दालाई समस्या परेको छ”, उहाँले भन्नुभयो, “तर कसैलाई भोकै बस्न नपरोस् भनेर हामी जुटाउनतर्फ सचेत भएका छौँ ।”

प्रजिअका अनुसार सदरमुकाम चामेमा १५० र हुम्डेमा ८० क्विन्टल चामल मौज्दात छ । खाद्य संस्थानसँग एक हजार क्विन्टल चामल माग गरेको उहाँले बताउनुभयो । “हेलिकप्टरबाट चामल ल्याउने हो, अझैसम्म त कोही भोकै परेका छैनन्”, उहाँले भन्नुभयो, “सबैतर्फबाट गाह्रो भएको छ, माथिल्लो मनाङबाट तल्लो मनाङसम्म सामान ल्याउन पनि सकिने अवस्था छैन ।” यस्तो अवस्थामा सरकारले कहिलेसम्म सडक सञ्जाल सहज बनाउन पहल गर्छ भन्ने आशमा मनाङवासी बसेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ