भदौ ३० | नेपाली संस्कारमा छोराछोरी हुर्केसके पनि आमाबाबुले उनीहरुलाई सधै बच्चा नै देख्ने सोचले गर्दा आमाबाबुले आफ्नो जीवन भर सधै बच्चाहरु प्रतिको माया साथै चिन्ता पनि लिन्छन।
सानो बच्चामा जस्तै आफ्नो सम्पूर्ण खुशी नै बच्चाहरुको आँखामा देख्न चाहन्छन । त्यसैले होला बच्चाहरुको भलाईको लागि जीवनभर मरिमेट्छन। हाम्रो जोडीको सल्लाहले म पनि छोराको माया र चिन्ताले छोरासँग केहि दिन सँगै बस्नु पर्यो भनेर छोरा भएको ठाउँ कोलोराडो गए। शुरुमा अल्लारेहरुको च्यालब्याल देखेर कस्तो कस्तो महसूस नभएको होईन फेरी पनि धैर्य गरे।
आमाछोरा दिउसोको खानादेखि बेलुकीको खाना खादा दुखसुखको कुरा हाँसो गर्दै बिताउदा निक्कै रमाईलो लाग्दै आयो। एकदिन म्युजियम हेर्न छोराको सानै देखिको छिमेकी साथि पनि हामीसँग गएको थियो। उनीहरुको बालककालको कुरा चल्यो। त्यसै सिलसिलामा छोराको साथी राजनले अतीतलाई स्मरण गर्दै भन्यो।
पोखराको फेवातालमा सबै साथीहरु हाम फालेको देखेर आफु पनि हाम फाल्यो तर पौडी खेल्न नजानेकोले पानीमा डुबेको देखेर युदिर हाम्रो छोरा ट्युब लिएर आफुलाई बचाउन आयो तर, आफुले युदिरलाई झम्टेर दुवै झन्डै मरेको भन्दै दुवै हाँसे।
अनि, मैले सोधे कसरि बाँच्यौ त तिमीहरु? उनीहरुले भने – एउटा दाई पानीमा हाम फालेर हामी दुवैलाई पानीबाट बाहिर ल्याईदियो र हामी बाच्यौ, यो कुरा सुनेर म झसंग भए। मैले सोधे त्यो दाईको नाम तिमीहरुलाई याद छ दुबैले उत्तर दिए छैन भनेर।
मेरो मन रसाएर आयो, मेरो आँखाबाट आँसू झर्यो। ति दुई छोराहरु जीवनमा घनिष्ट दोस्ती हुनुको कारण बुझे। अहिले पनि उनीहरु एक अर्कामा सुख मात्र होईन दुख पनि साट्छन। भन्छन साथि हजारौ भेटिन्छन तर मित्र भेट्न गाह्रो त्यसैले सच्चाँ मित्र ईश्वरको बरदान स्वरुप हो भन्छन।
युदिर र राजनको मित्रता देखेर यस्तै लाग्छ। हामी छोरा कहाँ जादा राजनलाई पनि आफ्नै छोरा जस्तो लाग्थ्यो र उनले पनि अंकल अण्टि भनेर हामीलाई माया गर्छन खुशी लाग्छ, उनीहरुको असल मित्रताप्रति।
त्यत्ति मात्र नभएर आज हामी आमाबाबु हुनुको गर्व गर्न पाएका छौ। दुई युवकहरुले आफ्ना जीवन पाएका छन। त्यो सबै उनै अपरिचित भगवान जसले आफ्नो ज्यान बाजी राखेर दुई बच्चाहरुलाई पानीबाट निकाल्यो। मानवको यो भन्दा ठुलो धर्म के हुन् सक्ला र ? हामी उहाँप्रति आभारी छौ र भगवानले उहाँको रक्षा गरुन यहिँ कामना छ।