शर्मिला पाठक। भदौ १६, काठमाडौँ (रासस)। काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म स्थानीय पाठ्क्रम लागू गरेका छैनन् ।
संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । त्यसमा कुन भाषा छनोट गर्ने, कुन विषयवस्तुलाई समावेश गर्ने, कहिलेबाट पठनपाठन सुरु गर्ने भन्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई रहे पनि काठमाडौँ जिल्लाका नागार्जुन, टोखा र कीर्तिपुर नगरपालिकाले अझैसम्म लागू गर्न सकेका छैनन् ।
सुरु गर्न बाँकी रहेका दुई स्थानीय तहले यही शैक्षिक सत्रदेखि लागू गर्नेगरी व्यवस्था भइरहेको बताएका छन् भने कीर्तिपुर नगारपालिकाले कोरोना महामारी कम भएपछि सुरु गर्ने जनाएको छ । बाँकी अन्य आठ स्थानीय तहले पठनपाठन गराइरहेका छन् । अहिलेसम्म लागू गरेकामध्ये धेरैले नेपाली भाषा रोजेका छन् ।
काठमाडौँ महानगरपालिका र कीर्तिपुर नगरपालिकाले भने नेपाल भाषा छनोट गरेका छन् । त्यसमध्ये गोकर्णेश्वर नगरपालिकाले सबैभन्दा पहिले विगत तीन वर्षदेखि नै आफ्नो पाठ्क्रम तयार गरी पठनपाठन गराइरहेका छन् । काठमाडौँ महानगरापलिका, चन्द्रागिरि, शङ्खरापुर, कीर्तिपुर, दक्षिणकाली, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकामा हाल पठनपाठन भइरहेको छ ।
नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक सय पूर्णाङ्कको एक विषय अध्ययन÷अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।
कामपाले गत शैक्षिक सत्रदेखि नेपाल भाषामा अध्ययन गराउन सुरु गरेको हो । काठमाडौँका अन्य स्थानीय तहले पुरानै शिक्षकबाट स्थानीय विषयलाई अगाडि बढाइरहँदा कामपाले आफ्नै साधन र स्रोतमा शिक्षकको दरबन्दी सृजना गरी विद्यालयमा पठाएको छ ।
केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो ।
अधिकांशको पहिचान मठमन्दिर र धर्म संस्कृति
पढाउन सुरु गरिसकेका र तयारीमा रहेका सबै स्थानीय तहका पाठ्यक्रमको मुख्य विषयवस्तु आफ्नो क्षेत्रको धर्म संस्कृति, भाषा, रहनसहन, पर्यटकको आकर्षक केन्द्र ऐतिहासिक सम्पदा र उद्यान रहेको छ । आ–आफ्नो स्थानीय तहमा रहेको ऐतिहासिक सम्पदाको पहिचान गराई तिनको संरक्षणमा सन्ततिलाई जिम्मेवार बनाउने उद्देश्यका साथ पाठ्यक्रम लागू गरिएको शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराउनुभयो ।
चन्द्रागिरि नगरपालिकामा निजी र सामुदायिक गरी ८० विद्यालय छन् । ती सबै विद्यालयमा अहिले चन्दागिरिको पहिचान झल्कने ‘हाम्रो चन्दागिरि’ नामको पुस्तक पठनपाठन भइरहेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी गराउनुभयो ।
काठमाडौँ महानगर र कीर्तिपुरले छाने नेपाल भाषा
काठमाडौँ जिल्लाका अन्य नौ स्थानीय तहले नेपाली भाषालाई छनोट गरिरहँदा कामपा र कीर्तिपुर नगरपालिकाले नेपाल भाषालाई पठनपाठनको माध्यम बनाएका छन् । कामपामा उक्त विषय पठनपाठन सुरु भइसकेको छ भने पाठ्यक्रम तयार भए पनि कीर्तिपुरमा भने हालसम्म सुरु गरेको छैन । कोरोना महामारी केही कम भए पनि मात्र पठनपाठन सुरु गर्ने तयारी नगरपालिकाको छ ।
कला, धर्म संस्कार र संस्कृति नै काठमाडौँ उपत्यकाको पहिचान रहेको भन्दै कामपा र कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्क्रम पठनपाठनका लागि नेपाल भाषा छनोट गरेका छन् ।
कामपा प्रमुख विद्यासुन्दर शाक्य काठमाडौँ नेवारहरुको बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको बताउनुहुन्छ ।
कामपाको पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा चुन्दा बज्राचार्यले पाठ्यपुस्तकमा काठमाडौँ महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, समाजलाई योगदान पुर्याएका विशेष व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको बताउनुहुन्छ । यी दुवै स्थानीय तहका पाठ्यक्रममा नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । “बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरिनेछ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ,” कामपा शिक्षा विभागका प्रमुख सुवेदीले भन्नुभयो, “कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ ।”
स्थानीय विषय पठनपाठनका लागि कामपामा १७२ शिक्षक नियुक्त
यस विषय पठनपाठन गर्नका लागि कामपाले आफू मातहत रहेका सामुदायिक विद्यालयमा एक सय ७२ नयाँ शिक्षक नियुक्ति गरेको छ । कामपाले आफ्नो मातहतमा रहेको सामुदायिक विद्यालयमा सेवा करारअन्तर्गत नियुक्त गरेको हो । यसरी नियुक्त गरिएको शिक्षकको हरेक एक वर्षमा समयावधि थप गर्ने व्यवस्थाअनुरुप शिक्षक राखिएको हो ।
सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरी दुवैलाई अनिवार्य लागू गरे पनि नयाँ शिक्षक भने सामुदायिक विद्यालयमा मात्र पठाएको छ । निजीका शिक्षकलाई भने कामपाले आवश्यकताअनुरुप तालिमको व्यवस्था गरिदिएको छ ।
कामपामा रहेका ९१ सामुदायिक र पाँच सय ४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो । हाल यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार सात सय ९१ शिक्षक कार्यरत छन् । कामपाले यसरी नयाँ दरबन्दी नै सृजना गरी शिक्षक राखिरहँदा काठमाडौँकै धेरै स्थानीय तहले भने आफूसँग साधन स्रोतको कमी रहेकाले पुरानै शिक्षकबाट पठनपाठन गरिरहेको बताएका छन् ।
स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाहरुको सहभागिता तथा आवश्यकता र औचित्यका आधारमा तयार गरिने योजना हो । स्थानीय भन्ने बित्तिकै स्थानीय व्याक्तिको आवश्यकता, विषयवस्तु तथा निर्माणमा स्थानीय विज्ञ वा व्याक्तिको संलग्नता रहन्छ । स्थानीय पाठ्यक्रम विद्यालय, समुदायभित्र रहेका व्याक्तिको चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोत साधन, भूगोल, भाषा, वेशभूषा, पेसा आदिसँग सम्बन्धित रहेर निर्माण गर्नुपर्दछ ।
त्यसैगरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । स्थानीयस्तरमा लुकेर रहेका ज्ञान सीपलाई पुनः उजागर गरी आधुनिक सभ्य मानिएको विश्व समाजलाई चिनाउन तथा नेपालीको प्रत्यक्ष जीवन पद्धतिसँग जोडिएर रहेका विषयहरु अगाडि ल्याउन स्थानीय पाठ्यक्रम अति आवश्यक छ । स्थानीय पाठ्यक्रमले नेपालमा रहेका विविधतालाई चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ ।