नक्कली प्रमाणपत्रमा श्रमस्वीकृति जारी गर्ने कर्मचारीहरुको विवरण श्रम मन्त्रालयमा

Posted on: 10 Oct, 2023

अनिल अधिकारी । असोज २३, काठमाडौँ । वैदेशिक रोजगार बिभागले जापानी भाषा तथा संस्कृति सम्बन्धित तालिमको नक्कली प्रमाणपत्र पेश गरि जापान पठाएको प्रकरणमा जोडिएका कर्मचारीहरुको नामावली श्रम मन्त्रालयमा पठाएको बताएको छ । बिभागका महानिर्देशक मदन दहालले जापानी भाषाको नक्कली प्रमाणपत्र बुझाएर पनि जापान जान श्रम स्वीकृति दिने बिभिन्न समयका श्रम कार्यालयका कर्मचारीहरको विवरण श्रम मन्त्रालयमा पठाएको बताएका हुन् । 

महानिर्देशक दहालले भाषा परीक्षा पासनै नभएकाहरुलाई जापान जान श्रम स्वीकृति दिने कर्मचारीहरुलाई कारवाही गर्न मन्त्रालयलाई लेखि पठाएको जानकारी दिए । उनका अनुसार कारवाहीको लागि लेखि पठाइएकोहरुमा श्रम बिभागको कर्मचारीदेखि अन्य बिभागका कर्मचारीहरु परेका छन् । उनले भने 'मेरो मात्र कर्मचारी भएको भए मैलेनै कारवाही गर्थें तर अरु बिभागका कर्मचारी पनि भएकाले मन्त्रालयलाई लेखि पठाएको हुँ ।' 

यसअघि वैदेशिक रोजगारमा जापान कामदार पठाउने प्रयोजनको लागि आवश्यक पर्ने जापानी भाषा तथा संस्कृति सम्बन्धि तालिमको नक्कली प्रमाणपत्र प्रकरणमा मुछिएको प्रमाणित भएको भन्दै १४ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार बिभागले निलम्बन गरेको थियो । महानिर्देशक दाहालले यो प्रकरणमा मुछिएका म्यानपावरहरुबारे अनुसन्धान जारी रहेको भन्दै निलम्बनको समयसिमा ६ महिनाको हुने बताए । उनले दिएको जानकारी अनुसार ६ महिनाभित्र बिभागले यो प्रकरणको अनुसन्धान सक्नुपर्ने हुन्छ । यो प्रकरणमा २३ म्यानपावर जोडिएको तर किन १४ म्यानपावरलाई मात्र निलम्बन गरिएको भन्ने प्रश्नमा दहालले जापान पठाउन अनुमति पाएका १४२ म्यानपावर मध्ये जो सुकै यो प्रकरणमा जोडिएको हुनसक्ने बताए । उनले कुन कुन म्यानपावर यो प्रकरणमा दोषी छन् अनुसन्धानकै क्रममा रहेकोले निलम्बनमा पर्ने सक्ने म्यानपावर अझै बढ्न सक्ने बताए । 

महानिर्देशक दहालले कतिपय म्यानपावरहरुले नक्कली प्रमाणपत्र भन्ने जान्दा जान्दै पनि त्यस्तो प्रमाणपत्र पेश गरेर श्रम स्वीकृति लिएको दावी गरे । उनले भने 'म्यानपावरलाई प्रमाणपत्रको सक्कली/नक्कली अवस्था थाहा किन हुँदैन ? कतिपय म्यानपावर आफैले त्यस्ता प्रमाणपत्र बनाउन बिद्यार्थीलाई सहयोग गर्ने गरेका छन् । JAAN (JICA ALUMNI ASSOCIATION OF NEPAL) ले म्यानपावरलाई यसबारे जानकारी दिएको हुन्छ ।' महानिर्देशक दाहालका अनुसार जापानी भाषा र संस्कृतिको प्रमाणपत्र पेश गर्दा फेल भएको प्रमाणपत्रको आधारमा समेत श्रम स्वीकृति जारी भएको पाइएको छ । 

महानिर्देशक दाहालले सम्बन्धित नक्कली प्रमाणपत्र बुझाउनेहरु पास वा फेल भएको भन्नेबारे म्यानपावर संचालक तथा कर्मचारीहरु जानाकार भएको दावी गरे । उनले भने 'म्यानपावरहरु जानाकार हुन्छन् । अधिकांश म्यानपावरहरु आफैले सबै काम गर्छन् । JAAN मा गएर पैसा बुझाउने देखि सर्टिफिकेट लैजानेसम्मको काम म्यानपावर आफैले गर्छन् । यस्तो अवस्थामा हामीलाई सम्बन्धित बिद्यार्थीको प्रमाणपत्रबारे जानकारी हुँदैन भन्न मिल्दैन । १/२ जनाको हकमा बिद्यार्थी आफै आएर लागेको हुन सक्छ होइन भने म्यानपावर कम्पनी आफै यसमा जोडिएको छ ।' उनले अगाडी भने 'JAAN मा परीक्षा दिन जानुपर्छ भनेर म्यानपावरलेनै पठाउँछन्, पैसा म्यानपावरले नै गएर तिर्छन्, प्रमाणपत्र पनि म्यानपावरले नै ल्याउँछन् अनि ल्याएर सिस्टममा अपलोड गर्छन् अनि जापान गएको केटोले सबै गरेको भन्न पाइन्छ ?' JAAN ले बिभागलाई दिएको जानकारी अनुसार कोभिडको समयमा केहि बिद्यार्थी आफैले त्यस्तो प्रमाणपत्र लिएर गएका थिए अन्यथा म्यानपावरले नै त्यस्ता प्रमाणपत्र लिएर जान पाउने नियम छ । महानिर्देशक दाहालले संकास्पद सबै म्यानपावरलाई एकै तराजुमा हाल्न नमिल्ने अवस्था देखिएकोले अनुसन्धान गर्नुपरेको बताए ।

त्यसो त JAAN (JICA ALUMNI ASSOCIATION OF NEPAL) ले समेत बिज्ञप्ति जारी गर्दै परीक्षार्थीको प्रमाणपत्र म्यानपावरलाईनै दिने गरिएको बिज्ञप्तिमा उल्लेख गरेको छ । केहि म्यानपावर व्यवसायीले परिक्षा पास गरे/नगरेको म्यानपावरलाई थाहा नहुने भन्दै आएको अवस्थामा 'जान' ले बिज्ञप्तिमा उल्लेख गरेको छ 'जानले परीक्षाको नतिजा वैदेशिक रोजगार बिभाग, वैदेशिक रोजगार पर्वर्दन वोर्ड, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल र सम्बन्धित म्यानपावर कार्यालयलाई इमेल तथा पत्र मार्फत समेत परीक्षा संचालन भएको भोलीपल्ट र सो दिन विदा परेमा कार्यालय खुलेको दिनमा उपलब्ध गराउँछ । जानले परीक्षाको नतिजा सम्बन्धित सक्कल कागजात सम्बन्धित म्यानपावर कम्पनीलाईनै उपलब्ध गराउँछ ।' यो हेर्नुहोस् जानको सूचना: 


यसै सम्बन्धमा वैदेशिक रोजगार बिभागका प्रवक्ता कविराज उप्रेतीले JAAN लाई समेत अनुसन्धानमा तान्न पर्ने जस्तो देखिएको बताए । अनुसन्धानमा तानिएका म्यानपावरहरुले जानले यसबारे जानकारीनै नदिएको समेत बताएका छन् । उनले यो प्रकरणमा अनुसन्धान चल्दै गर्दा बिभागमा अनावश्यक चलखेलको समेत कोसिस भएको बताएका छन् । 

यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले JAAN को आवश्यकताबारे प्रश्न उठाएका छन् । जापानको भिसा जारी भईसकेपछि JAAN को परीक्षा पटक-पटक दिंदा पनि पास गर्न नसक्ने अवस्था रहेको भण्डारीले जानकारी दिए । भिसा जारी भएपछि ९० दिन समय मात्र रहने र त्यस अवधिमा चारपटकसम्म परीक्षा दिदा पनि पास नभएको अवस्थामा सरकारी कर्मचारी छिरेर हिजोको दिनमा श्रम स्वीकृति दिएको तर आज आएर आफैले स्वीकृति दिएको कार्यलाई सम्बन्धित निकायले उल्ट्याउने र अनावश्यक बखेडा झिक्ने काम गरेको भण्डारीको भनाई छ । अध्यक्ष भण्डारीले भने 'सरकार आफैले डुप्लिकेट कागजात पेश हुँदा पनि श्रम स्वीकृति जारी गर्ने अनि पछि फेरी डुप्लिकेशन भएछ भन्न पाइन्छ र ?' भन्ने प्रश्न गरे ।

यता बिभागले निलम्बनको कारवाही गरेपछि बिभिन्न १४ म्यानपावर कम्पनीहरु बिभिन्न निकाय र नेताहरुलाई हार गुहार गरिरहेका छन् । आफ्नो म्यानपावर कारवाहीमा परेपछि वैदेशिक रोजगार सम्बन्धि गतिबिधिमा अंकुश लागेको भन्दै हारगुहार गर्न पुगेका हुन् । कारवाहीमा परेकाहरु मध्ये केहिले छुट्टै समूह बनाएर फुकुवाको बिभिन्न तरिकाले प्रयास समेत गरिरहेका छन् । यस सम्बन्धमा निलम्बित म्यानपावर संचालकहरु हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी बिदेशमा रहेकोले उनि नेपाल आएपछि आफूहरुको कारवाही फुकुवा हुनेमा आशावादी देखिन्छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!