काठमाडौँ । वैदेशिक रोजगारीका नाममा व्यक्तिगत श्रम स्वीकृति गराएर इजाजतप्राप्त संस्था मार्फतनै कुवेत पुर्याईएका दुई जना युवा नेपाल फर्किएका छन् । सिन्धुलीका रामलाल बम्जन र धादिङका देवेन्द्र भण्डारीलाई गत जनवरी १ मा काठमाडौँ सिनामंगलस्थित आयुष ओभरसिस प्रालिले अबैध प्रक्रिया मार्फत कुवेत रोजगारमा पठाएको पाइएको हो ।
पीडितहरुको अनुसार सबै कारोबार तथा वैदेशिक रोजगारको प्रक्रिया म्यानपावर कम्पनीको कार्यालय भित्रैबाट भएको हो । आर्थिक कारोबार म्यानपावरकै कर्मचारीहरु अजय चौधरी र मीना बस्नेत मार्फत भएको पाइएको छ । म्यानपावरका पुर्व कर्मचारी चौधरीले यस विषयमा आफूलाई म्यानपावरका अधिकारीहरुले निर्देशन दिए अनुसार गरेको भन्दै आफ्नो दोष नभएको बताए । हाल सोहि म्यानपावरमा कार्यरत मीना बस्नेत भने आफू मिना बस्नेत नभएको बताउँछिन् ।
पीडितहरुको अनुसार कुवेत पठाउने धन्दामा चौधरीपछि सम्बन्धित म्यानपावरका म्यानेजर प्रदिप बुढाथोकिको संलग्नता छ । पीडितहरुले बुढाथोकीकै योजनामा भारतको दिल्ली हुँदै मुम्बई पुगेर कुवेत पुगेको बताएका छन् । पीडितहरुको श्रम स्वीकृति व्यक्तिगत तर्फ भएको पाइएको छ । सबै प्रक्रिया पुरा गरेपछि विदेश जानु अघि म्यानेजर खड्काले भिडियो समेत बनाएर आफूहरुलाई कुवेत पठाएको पीडितहरुको भनाई छ । पीडितहरुको अनुसार रोजगार प्रक्रियामा जोडिने क्रममै सम्बन्धित म्यानपावरका म्यानेजर प्रदिप बुढाथोकी र संचालक उदित नारायण शाहलाई समेत चिनेको बताएका छन् ।
पीडित कामदारहरूका अनुसार, व्यक्तिगत श्रम लिने प्रयोजनमा सेटिङ गर्न जनही ६५ हजार रकम घुस तिर्नुपर्ने कुवेतमै रहेका अख्तर नाम गरेका बिचौलियाले भनेको बताएका थिए । त्यसैको आधारमा वैदेशिक रोजगार कार्यालयको समेत सेटिङमा व्यक्तिगत श्रम जारी भएको अख्तरले बताएको पीडितले बताए । सम्बन्धित पीडितहरुको विदेश जानु अघि दुई दिने अभिमुखिकरण तालिम पनि नलिएको पाइएको छ । उनीहरुको सेटिङबाटै म्यानपावरले अभिमुखिकरण तालिम लिईदिएको पाइएको छ ।
पछिल्लो समय श्रम कार्यालयमा व्यक्तिगत श्रम गर्न आवश्यक कागजात नपुगे वा इमेल नभए घुस खुवाएर काम हुने गरेको गुनाशो बढ्दै गएका छन् । यसरी संकलन हुने घुस दैनिक ७० लाख भन्दा बढी हुने समाचार रिपोर्टहरु यसघिनै सार्वजनिक भईसकेका छन् । मंगलबार बैदेशिक रोजगार कार्यालय ताहाचल अगाडी एक एजेन्टले कतारको दुतावास छाप हान्न ८० हजार लाग्ने बताएको प्रमाण साझा सबाल मिडियासँग सुरक्षित छ ।
व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका, २०६९ को नियम ३ मा व्यक्तिगत श्रम स्वीकृति लिई विदेश जाने कामदारले सो को कागजात सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरिएको छ । यसै प्रक्रियाको नाममा दुतावासले घुस लिएर स्टाम्प हान्नको लागि घुस लिने गरेको गुनाशो छ । यहि प्रयोजनमा श्रम स्वीकृति लिन काठमाडौँको ताहाचल स्थित बैदेशिक रोजगार कार्यालयले समेत घुस लिने गरेको पाइएको छ ।
भारतको बाटो हुँदै कुवेत पुर्याईएका युवाहरुले कुवेत पुगेपछि म्यानपावर कम्पनीले भनेजस्तो काम र तलब नपाएपछि आफूहरु ठगिएको थाहा भएको बताए । त्यसै क्रममा सम्बन्धित म्यानपावरलाई आफ्नो समस्या राख्दा केहि समयमा समाधान हुने भन्दै झुलाउने गरेको बताएका छन् । पीडितहरुलाई मासिक १०० कुवेती दिनार हुन्छ भनि श्रम गर्दा १४० केडी तलबको श्रम गरेर पठाइएको तर ६३ केडी मात्र पाईएको, त्यसै पैसाले खान पर्ने भएपछि मासिक १५/२० हजार पनि नबच्ने स्थितिको विषयमा म्यानपावरलाई गुनाशो गर्दा समाधान नभएपछि १२ दिनसम्म अलपत्र भएर आफ्नै खर्चमा नेपाल फिर्ता भएका हुन् ।
कुवेतमा समस्यामा परेको पटक – पटक जानकारी गराएपछि म्यानपावरका बुढाथोकीले क्रमश फोन नै नउठाउने, उठाएपनि के गर्न सक्छौं गर भन्दै धम्क्याएको पीडितहरुको गुनाशो छ । पीडितहरुको अनुसार कुवेत स्थति दुतावासमा समेत आफ्नो समस्या लिएर पुग्दा उनीहरुको साथमा दुतावास सेटिङ गरिदिने अख्तर नाम गरेका बिचौलिया समेत संगै दुतावासमा पुगेका थिए । दुतावासले नेपाल फर्किएपछि अशुली भएको पैसा म्यानपावरले फिर्ता गर्छ भन्ने आशा देखाएको पीडितहरुको भनाई छ ।
तर नेपाल आएपछि पैसा फिर्ता नपाएर पीडित बनेको उनीहरुले बताए । पीडित युवाहरुले कुवेत जानु अघि गिरोहको निर्देशन अनुसार पटक-पटकगरि दुई लाख ५० हजार खर्च गरेको बताएका छन् । सिन्धुलीका राम लाल बम्जनले म्यानपावरकै मीना बस्नेतलाई पैसा हालेको बताए । रामलाल मार्फत मीना बस्नेतको प्रभु बैंकको खाता नम्बर ३११७०४६२३९१०००१८ मा आईएमई मार्फत १ लाख, ६० हजार, ४० हजार, ६० हजार र कनेक्ट आईपीएस मार्फत ५० हजार बिभिन्न मितिमा पैसा हालेको रामलालले प्रमाण पठाएका छन् । रामलालका अनुसार आफ्नो क्षमा र दाई मार्फत बस्नेतलाई रकम हालेको उनले पठाएको प्रमाणबाट देखिन्छ । यसै सम्बन्धमा गिरोहमा संलग्न बस्नेतको पीडितहरुबाट प्राप्त सम्पर्क नम्बरमा फोन गर्दा आफू मीना बस्नेतनै नभएको भन्दै आक्रोशित हुँदै फोन काटेकी छन् । उनले भनिन् ‘मेरो परिचय दिन आवश्यक छैन । म मीना बस्नेत होइन, रङ्ग नम्वर, फोन राख्नु ।’ तर पीडित कुवेतमा हुँदा अडियो संदेश पठाउने म्यानपावरकि मीना बस्नेत र हामीले फोन गर्दा फोन उठाउने महिलाको आवाज एकै रहेको पाइएको छ ।
तश्वीरमा: मीना बस्नेतको खातामा पैसा जम्मा गरेको प्रतिनिधि प्रमाण ।
त्यस्तै अर्का पीडित देवेन्द्र भण्डारीले सिटिजन बैंकको खाता नम्वर ०३१०१००००२९८७०४१ मा एक लाख ९० हजार र इसेवा नम्वर ९८२४८९६६२८ मार्फत ४५ हजार हालेको पाइएको छ । प्राप्त इसेवा नम्वर जय विजयकिल्ला यातायात महोत्तरीको नम्वरसँग मेल खान्छ ।
तश्वीरमा: म्यानपावर कर्मचारी अजय चौधरीको अनुरोधमा खातामा पैसा जम्मा गरेको प्रतिनिधि प्रमाण ।
पीडितको गुनाशोको आधारमा पिडितहरूबाट पैसा अशुल्ने अजय चौधरीले म्यानपावरकै निर्देशन अनुसार आफूले काम गरेको बताएका छन् । म्यानपावरकै योजनामा कुवेत पठाउने काम भएको चौधरीले पुष्टि गरे । उनले भने ‘म कर्मचारी मात्र हुँ । पत्यार लाग्दैन भने मलाई म्यानपावरले दिएको मेरो परिचयपत्र समेत छ । मैले नियोजित रुपमा जानेर बुझेर पीडितहरुलाई कुवेत पठाएको होइन । पछि म्यानपावरको धेरै गुनाशो आउन थालेपछि मैले म्यानपावर छाडेको हुँ ।’
यसै बिषयमा पीडितहरुले दिएको नम्बर अनुसार थप जानकारी लिन सम्बन्धित म्यानपावरका म्यानेजर प्रदिप बुढाथोकिलाई सम्पर्क गर्दा फोन उठाएनन् । म्यानपावर संचालक उदित नारायण शाह नेपालमा नरहेको जानकारी पाइएको छ । उक्त म्यानपावरमा कार्यरत आधिकारिक कर्मचारी को-को छन् भनि वैदेशिक रोजगार बिभागको पोर्टलबाट जानकारी लिन खोज्दा बिभागको वेबसाइटमा संचालक बाहेको कुनै आधिकारिक विवरण भेटिएन । वैदेशिक रोजगार बिभागले म्यानपावरको अध्यावधिक विवरण नियमित अपडेट नगर्दा बेथिति बढेको पाइएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ अनुसार इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम भराई त्यस्तो इजाजतपत्रवालालाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुने र त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्र समेत रद्द हुने उल्लेख छ ।
त्यस्तै यसै ऐनकै दफा ५२ मा इजाजतपत्रवालाले दफा २१ को उपदफा (३) विपरीत व्यक्तिगत रुपमा कामदार पठाएमा त्यस्तो इजाजतपत्रवालालाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा इजाजतपत्र रद्द वा दुवै सजाय हुने उल्लेख छ । ऐनको दफा २१ को उपदफा (३) मा कुनैपनि इजाजतपत्रवाला संस्थाले व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउन नपाउने उल्लेख छ ।
वैदेशिक रोजगारको नाममा इजजात लिएका संस्थाहरुलेनै वैदेशिक रोजगार ऐनको उल्लङ्घन गरिरहेको विषयमा सरकारी निकायले तल्लो तहसम्मपुगेर अनुसन्धाननै गर्दैनन् । अवैध काम गर्ने केहि व्यवसायीसँग मिलिमतो गरेर मुद्धा कमजोर बनाउनेदेखि पीडितहरुलाईनै अर्कोपटकदेखि बुझेर विदेश जान भन्दै सिकाएर पठाउने गरेको पुरानै रोग कायम छ । बिभागले वैदेशिक रोजगार ऐनको गम्भीर उल्लङ्घन गरेको विषयलाई समेत फितलो अनुसन्धान गर्दा बिभिन्न चोरबाटोबाट आर्थिक कारोबार हुने गरेको र वैदेशिक रोजगारको अबैध गतिबिधि बढ्ने गरेको पाइएको छ ।