कात्तिक २, काठमाडौं | बैदेशिक रोजगारीको क्रममा म्यानपावर धाउनेहरुलाई म्यानपावरले अब नयाँ तरिकाले ठग्ने उपाय रचेका छन् । विदेश जान चाहने कामदारहरुलाई कानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएका म्यानपावर सञ्चालकहरुले नै भिजिट भिसाको धन्दा चलाउने गरिएको पाईएको छ ।
पछिल्लो समय बिदेशिक रोजगारी भन्दा भिजिट भिसामा कामदार पठाउने काम फाइदा हुने देखेपछी म्यानपावर संचालकहरु यस्तो धन्दामा लागेका हुन् । संचालकहरुले बैदेशिक रोजगारीका लागि आएका व्यक्तिहरुलाई बिभिन्न प्रलोभन देखाई खाडी मुलुक पठाउने र उनीहरूबाट ठूलो रकम असुली गर्ने धन्दा संचालन गरेको भेटिएको हो । यसै अभियोगमा प्रहरीले पान्डोरा टिम कर्पोरेसनका सञ्चालक ईश्वर भण्डारीलाई पक्राउ गरेपछि भिजिट भिसा चलाइरहेको गिरोहबारेको तथ्य खुलेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोले बागलुङको हटिया घर भई पान्डोरा टिम कर्पोरेसन मेनपावर सञ्चालन गरिहेका भण्डारीसहित सोही मेनपावरका लागि एजेन्टको काम गरिरहेका विर्घमान गुरुङ, राजु घले र भानु ढकाललाई पनि पक्राउ गरेको हो । उनीहरु मध्ये भानु ढकाल भने ट्राभल सञ्चालक हुन् । उनीहरुलाई १६ जनालाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स पठाएर अलपत्र पारेको अभियोग लागेको थियो । म्यानपावरले राम्रो पारिश्रमिकको लोभ देखाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स पठाएको थियो । तर त्यहाँ लागेपछी नत रोजगारी दियो नत यता म्यानपावरले भनेजस्तो नै भयो । यसैक्रममा उनीहरू अलपत्र परेपछि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) र एनआरएनए युएई शाखाको सहयोगमा नेपाल फर्काइएको थियो ।
म्यानपावर संचालन गर्ने तर डिमाण्ड झार्न नसके पछी यस्तो गिरोहमा लागेका म्यानपावरहरु नेपालमा प्रसस्त रहेको बताइएको छ । भिजिट भिसामा पठाइएका केहि व्यक्तिहरु भने त्यहाँ पुगेपछि बिभिन्न कम्पनीमा अन्तर्वार्ता दिएर पास हुने र आवश्यक कागजात बनाएर बैध रुपमा काम गर्न सक्छन तर धेरैजसोलाई भने समस्या हुन्छ । रोजगारदाता देशमा पेसा तथा राम्रो भाषाको ज्ञान नभएकाहरुले रोजगारी पाउन गाह्रो हुने हुँदा अलपत्र पर्ने गरेका छन् ।
अबैध कामदारको अलावा म्यानपावरहरुमा डलर र एक म्यानपावरको डिमाण्डमा अर्कोले कमिसन खाएर समेत पठाउने गरिएको छ । यसरी कमिसन माथि कमिसन खुवाउनु पर्दा निशुल्क भिषा तथा टिकटको ब्यबस्था समेत लागु हुन सकेको छैन ।
भिजिट भिषामा शिक्षितहरु फस्ने गरेका छन् । म्यानावरले बढी कमाउने आशा देखाई रकम अशुली गरेर भिजिट भिषामा विदेश पठाउने गरेको छ ।