चैत्र ११,काठमाडौँ । बैदेशिक रोजगारीमा जाने कामदारमाथि हुने ठगि नियन्त्रणमा हुनुको सट्टा बढ्दै गएको देखिएको छ । नियामक निकायको रुपमा रहेको बैदेशिक रोजगार विभागको भूमिका कमजोर हुँदा ठगिका घटना झन् बढ्दै गएको विभागकै रेकर्डले पुष्टी गर्दछ ।
विभागमा हाल ५२ करोड रुपैयाँभन्दा बढी वैदेशिक रोजगार ठगीको उजुरी फछ्र्योट हुन बाँकी रहेको छ । विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको ठगी उजुरीको विवरण अनुसार संस्थागत तथा व्यक्तिगत गरी १ हजार ३ सय ८३ उजुरीमा ६७ करोड ६८ लाखको माग दावी देखिएको हो ।
जसअनुसार फागुन मसान्तसम्म दुबै तर्फगरी १५ करोड ३७ लाख ९२ हजार रुपैयाँ फछ्र्योट भई ५२ करोड रुपैयाँ बिगो असुल हुन बाँकी रहेको छ । गत माघ महिनासम्म सो बिगो रकम ४४ करोड रहेको थियो । विभागले २० करोड ५८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधीकरणमा १ सय ५७ वटा वैदेशिक रोजगार ठगी मुद्दा दायर गरेको छ । विभागले दायर गरेको यो व्यक्तिगत परेका उजुरी मात्र हुन् ।
बाँकी ३० करोड बराबरको बिगोका ठगी मुद्दा वैदेशिक रोजगार न्यायाधीकरण जान नसकेको विभाग स्रोतको भनाइ छ । फागुन महिनासम्म म्यानपावर र व्यक्तिगततर्फ गरी १ हजार ३ सय ८३ वटा उजुरी परेकोमा ८ सय ९ वटा फछ्र्योट भएका छन् । त्यसमा व्यक्तिगत तर्फ १ सय ४२ र संस्थागत अर्थात् म्यानपावरतर्फ ६ सय ६७ वटा उजुरीहरु रहेका छन् ।विभागको तथ्यांक अनुसार त्यसमा व्यक्तिगत ठगीतर्फ ३५ करोड र संस्थागत अर्थात् म्यानपावर कम्पनीतर्फ करीब १६ रुपैयाँ बिगो फछ्र्योट हुन बाँकी देखिन्छ ।
हाल संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत उजुरी बढेका छन् । फागुनमा संस्थागततर्फ ८३ वटा उजुरी पर्दा व्यक्तिगत ८६ वटा उजुरी परेका छन् । फागुनमा व्यक्तिगततर्फ वैदेशिक रोजगार न्यायाधीकरणमा १४ उजुरी ठगी मुद्दा दायर भएको छ भने त्यस अवधिमा विभागले कुनैपनि म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर गरिएको छैन । विभागमा उजुरी परेपछि म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधि विभाग गई मिलापत्रका आधारमा कामदारको रकम फिर्ता गर्दै आएका विभागले जनाएको छ।