वैशाख २१ काठमाडौं | मलेसियाले अवैधानिक कामदारलाई घरफिर्तीका लागि ६ महिना समय थप गरेको छ । नयाँ व्यवस्था अनुसार आउँदो जुन ३० अर्थात असार १६ गतेसम्म अवैध आप्रवासी कामदारहरुलाई घरफिर्तीका लागि समय तोकिएको छ । उक्त अवधिसम्म आप्रवासी कामदारले घर फिर्र्तीका लागि आवेदन दिन सक्नेछन् । यसअघि डिसेम्बरको ३१ सम्मको समय दिइएको थियो ।
मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रेमराज गौतमका अनुसार उक्त अवधिमा मलेसिया मै पुनः वैधानिक हुन तथा स्वेच्छिक घरफिर्ती कार्यक्रममा सहभागी हुन पाइनेछ ।
मलेसियामा हाल करिब १ लाखको हाराहारीमा नेपाली कामदार अवैधानिक रूपमा रहेको हुनसक्ने अनुमान छ । गत वर्ष अवैधानिक रुपमा रहेका १५ हजार ८ सय ५५ जना नेपाल घरफिर्ती कार्यक्रममा सहभागी भएका थिए । अवैधानिक कामदारलाई स्वेच्छिक घरफिर्तीका लागि सहयोग गर्न मलेसिया सरकारले ८ वटा कम्पनी तोकेको छ । त्यसमा केरिकम, पीएमएफ कन्सोर्टियम, फारफेस रिसोर्स, ईन्टरनेशनल माकेर्टिङ एण्ड नेट (आईएमएएन) रिसोर्स, बुक्ति मेघा, प्रोफाउण्ड रोडियन्स्, पेरुन्डिङ जोन जेर्निही र दुक्ति महिला गाइरहेका छन् । ती संस्थाबाट सहयोग लिई स्वदेश फर्कन सक्ने दूतावासले उल्लेख गरको छ ।