बैशाख २०, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि लाग्ने शुल्क रोजगारदाताले नै तिर्नु पर्ने व्यवस्था गरिने भएको छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष सरकारले नेपालीहरु विदेश जाँदा कामदारले तिर्नु पर्ने शुल्क रोजगारदाताले नै व्यहोर्नुपर्ने गरी कामदार पठाउने देशसँग श्रम सम्झौता गर्ने बताइन् ।
सरकारले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने राष्ट्रपति भण्डारीले बताइन् । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले थप देशहरुसँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको जानकारी दिईन । अब गरिने श्रम सम्झौतामा कामदारको व्यवसायजन्य सुरक्षा, स्वास्थ्य सम्बन्धी व्यवस्था लगायत कामदारको अधिकतम हितलाई ध्यान दिने उल्लेख छ ।
त्यस्तै सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरेको छ ।
सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुन्छ । तर, वृद्धभत्ता ५ हजार पुर्याउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।
बजेट निर्माणको क्रम सुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत वृद्धभत्ता बढ्ने बताएका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त ५ वृद्धभत्ता ५ हजार पुर्याउने दाबी गरेका छन् ।
अर्थ मन्त्रालयका अधिकारीहरुले भने एक हजारसम्म बढ्न सक्ने दाबी गरेका छन् ।