बैशाख ३१, काठमाडौं । वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीमा सोमबार छापामा छापा हानेको छ । विमागका महानिर्देशक डा.भिष्मकुमार भुसालकै नेतृत्वमा जुपिटर ओभरसीज प्रा.लि, स्काई अफ दि वल्र्ड र ट्रष्ट नेपाल ओभरसीज प्रालिमा छापा मारिएको विभागले जानकारी दिएको छ ।
ति म्यानपावर कम्पनीमा छापा मारेर केही कागतजागत नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको विभागले जनाएको छ । कामदारका गुनासाका आधारमा ति म्यानपावर कम्पनीमा छापा हानेको विभागले जनाएको छ । ती म्यानपावर कम्पनीले पूर्व स्वीकृति नै नगरि मलेसियाको इमिग्रेसन सेक्युरिटी क्लियरेनस (आईएससी) गराउन कामदार पठाएको उजुरी विभागमा परेको थियो । सरकारले नयाँ कामदार पठाउन अनुमति नदिएको अवस्थामा पनि प्रति कामदार ३२ सय रुपैंया लिएर मलेसियाको जिएसजी गराएको दावी विभागमा परेको उजुरीमा रहेको बताइएको छ ।
जुपिटर ओभरसीज प्रालि र स्काई अफ द वल्र्डमा फ्रि भिसा, फ्रि टिकट अन्तरगतको डिमाण्डमा कामदार छनौटमा समस्या देखिका कारण छापा मारिएको विभागले जानकारी दिएको छ ।
मलेसियाबीच गत कार्तिकमा भएको द्विपक्षीय श्रम समझदारीपछि पनि नयाँ कामदारलाई मलेसिया पठाउने बारे सरकारले निर्णय गरेको छैन । सरकारले गत चैत १८ गतेबाट कलिङ भिसा आएका कामदारको लागि अन्तिम श्रम स्वीकृति दिएको छ । म्यानपावर व्यवसायीले कलिङ भिषा बाहेक पनि मलेसिया कामदार पठाउनै भन्दै धामधाम अन्तर्वार्ता लिइरहेका छन् । तिनै कामदारलाई मेडिकल र जिएसजी मार्फत रकम तिर्न लगाएर कामदारलाई आर्थिक भर थप्दै आएका छन् ।