मनोज पराजुली | बैशाख ३१, काठमाडौं | बैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारको अध्यागमन सुरक्षा जाँच गर्ने जीएसजी कम्पनीमा पनि छापा मारेको छ । मलेसिया जाने नयाँ कामदारबाट प्रतिव्यक्ति ३२ सय संकलन गरिरहेको पाइएपछि विभागले मंगलबार छापा हानेको हो ।
जीएसजी सर्भिस नेपालले आईएससी अर्थात् इमिग्रेसन सेक्युरिटी क्लियरेन्स गराउन कामदारबाट प्रतिव्यक्ति ३ हजार ३२ सय रुपैयाँ उठाइरहेको विषयमा साझा सबालले यसअघि निरन्तर समाचार प्रकाशित गरेको थियो ।
अनुगमनको क्रममा विभागको टोलीले जिएसजीसंग कामदारको तथ्याङ्क माग गरेको थियो तर जिएसजीले मलेसियन राजदूतावासको अनुमतिबिना दिन मिल्दैन भन्दै एक दिनको समय माग गरेको छ ।
जीएसजी सर्भिस नेपाल कम्पनीका निर्देशक निशान पन्तले सबै डाटा मलेसियन दूतावासको नियन्त्रणमा रहने भन्दै तत्काल अनुगमन टोलीलाई दिन नसकिने बताएका छन् । उनले कलिङ भिसा आएकाहरुलाई मात्र आईएससी गराइरहेको विभागको अनुगमन टोलीलाई जानकारी गराएका छन् ।
सरकारले गत चैत्र १८ गते बाट मलेसियाको कलिङ भिषा आएका कामदारलाई विधि र प्रक्रिया अनुसार श्रम स्वीकृति दिने निर्णय गरेको थियो तर त्यस विपरित विभिन्न म्यानपावर कम्पनीले पठाएका सयौं नयाँ कामदारले दैनिक जिएसजी लाई ३२ सय तिर्दै आएका छन् । जिएसजी बारे भोलि थप अनुसन्धान हुने विभागका महानिर्देशक डा. भिष्म भुसालले बताए । मलेसिया जानको लागि कलिङ भिषा आएका बाहेक कामदारले तिरेको ३२ सय रुपैया फिर्ता हुन्छ ? भन्ने साझा सबालको प्रश्नमा महानिर्देशक भुसालले भने "हाल अनुसन्धान गर्दैछौं, के गर्ने अनुसन्धान पछि थाहा हुन्छ।"
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गत वर्ष जेठ २ गते जिएसजीले लिने शुल्क अबैध भन्दै खारेज गरेका थिए, त्यस पश्च्यात मलेसियाको रोजगारी बन्द छ ।