वैशाख ७, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन विश्वजगत यतिखेर संघर्षरत छ । यो क्रममा विभिन्न देशमा रोजगार, अध्ययन र भ्रमणको क्रममा रहेका नेपालीहरु बढी प्रभावित बनेका छन् । नेपालमा लकडाउन भएपछि कयौं नेपालीहरु त्यसको प्रत्यक्ष प्रभावमा परेका छन् ।
सबैभन्दा बढी नेपाली रहेका देशहरु खाडी र मलेसियामा कयौं नेपालीहरुले सम्बन्धित देशमा बिभिन्न समस्या भोग्नुपरेको गुनाशो गरेका छन् । जति समस्या परेपनि यथास्थितिमा स्वदेश फर्कन नपाएका कारण कतिपय विदेशमा रहेका नेपालीहरुलाई आफ्नै देश परदेशजस्तै लाग्न थालेको भन्दै टिप्पणी गर्न थालेका छन् । बिभिन्न देशले नेपालमा रहेका आफ्नो नागरिक फिर्ता गराएको भन्दै समस्यामा परेका नेपालीहरुलाई समेत फिर्ता गर्न तत्परता नदेखाएको गुनाशो आईरहेका छन् ।
विदेशमा रहेका केहि युवाले सरकार आफैले उद्दार गर्न सक्दैन भने आफ्नै खर्चमा नेपाल फिर्ता हुन चाहेको र सरकारले तोकेको समयसम्म आफ्नै खर्चमा क्वारेन्टाइनमा समेत बस्न इच्छा प्रकट गरेका छन् ।
विदेशमा रहेका अधिकांशको नेपालीले आफ्नो समस्याबारे सुनाउदै तालव नपाएको र खाना खान समेत समस्या आउने स्थिति रहेको बताएका छन् भने केहिले कोरोना संक्रमणको सम्भावना र त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्, उनीहरुले यथासक्य स्वदेश फिर्ता हुन पाए विदेशको रोजगार समेत त्याग्न तयार रहेको बताएका छन् ।
खाडी मुलुकमा रहेका कयौं कामदारहरु भिसा सकिएर नेपाल आउने तयारीमा रहेका र विदा समेत लिएर नेपाल फर्कन चाहेकाहरुलाई मुख्य समस्या अहिले देखिएको छ । पहिलेदेखिनै निर्धारित रुपमा नेपाल फर्कने तयारीमा रहेकाहरुलाई यथासक्य स्वदेश फर्कन पाए हुने भन्ने छ भने कोरोनाको जोखिमकै वीच काममा जानु पर्दा सम्भावित संक्रमणको जोखिमले डराईरहेका पनि छन् । केहि देशले अवस्थालाई बुझेर भिषाको म्याद सकिएको अवस्थामा समेत नविकरण गरिदिने भनेपनि कतिपयले आफ्नै खर्चमा विदेशमा बस्नुपरेको कारण पनि समस्या हुने देखेका छन् । नेपालमा समेत लकडाउन हुँदा उनिहरुको परिवारले नेपालबाटै पैसा पठाएर भएपनि तत्कालिन समस्या समाधान गर्ने अवस्था समेत नभएको गुनाशोहरु आएको छ ।
यस्तो अवस्थामा वैदेशिक रोजगारमा गएका नेपालीहरुको प्रत्यक्ष जिम्मेवार मानिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई वर्तमान परिस्थितिमा जुन देशमा रहेको हो त्यहि सुरक्षित बस्न आग्रह गरेको छ ।
आइतबार एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयले वैदेशिक रोजगारको सिलसिलामा विभिन्न गन्तव्य मुलुकहरुमा रहनु भएका नेपाली नागरिकहरुमा अप्ठ्यारो पर्न गएको प्रति मन्त्रालय समेत गम्भीर रहेको जनाएको छ ।

मन्त्रालयको जारी विज्ञप्तिमा भनिएको छ 'यस्तो स्वास्थ्यजन्य विपदको परिस्थितिमा यस मन्त्रालय वैदेशिक रोजगारका क्रममा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई तत्कालका निम्ति आफु जहाँ हुनुहुन्छ त्यही सुरक्षित र सावधानीपूर्वक बस्नु हुन हार्दिक आह्वान गर्दछ । सरकारले विदेशमा रहनु भएका नेपालीका निमित्त आवश्यक सहयोग गर्न कुटनीतिक नियोग निरन्तर परिचालन गरिरहेको छ ।' बिज्ञप्तिमा अगाडी भनिएको छ 'विभिन्न कारणवस वेखर्ची भई खान बस्नको समस्या, भिसा वा काम गर्ने संझौताको म्याद सकिएको अथवा तलव लगायतका अन्य विषयमा कुनै गुनासो वा समस्या भएमा सम्बन्धित नेपाली दुतावास, कुटनीतिक नियोग वा आधिकारिक निकायका प्रतिनिधिलाई सम्पर्क राखी आवश्यक सहयोग लिन सकिने व्यहोरा पुनः जानकारी गराउन चाहन्छौं ।'
मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीहरुले मन्त्रालयको कल सेन्टरमा फोन सम्पर्क गर्न समेत अनुरोध गरेको छ । मन्त्रालयका अनुसार विदेशमा रहेका नेपालीहरुले आफ्नो समस्या मन्त्रालयको +९७७ १ ५९७०००८ वा भाइबर मार्फत फोन अथवा म्यासेज गर्न +९७७ ९८०१८०००१३ मा सम्पर्क गर्न सक्ने जानकारी दिएको ।
मिति: २०७७/०१/०७
कोभिड-१९ रोगले महामारीको रुप लिएसंगै विश्वका सबैजसो मुलुकहरुमा यसको प्रभाव देखिएको छ । विद्यमान अवस्थामा संक्रमण दरलाई नियन्त्रणमा राख्न नेपालसंगसंगै विभिन्न मुलुकहरुले बन्दाबन्दी (लकडाउन) को घोषणा गरेका छन् । यस विषम परिस्थितिमा सवैजसो देशहरुमा अत्यावश्यक सेवा वाहेक आवागमनमा नियन्त्रण र कलकारखाना, व्यापार-व्यवसाय तथा कार्यालयहरु बन्द भएका छन् । यसले गर्दा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न गन्तव्य मुलुकहरुमा रहनु भएका नेपाली नागरिकहरुमा अप्ठ्यारो पर्न गएको प्रति यस मन्त्रालय समेत गम्भीर रहेको कुरा आम सरोकारवाला तथा सर्वसाधारणमा जानकारी गराउन चाहन्छौ ।
लकडाउनको अवधि भनेको आफू जहाँ रहिएको छ त्यही सुरक्षित रहेर बस्नु नै हो । यस्तो स्वास्थ्यजन्य विपदको परिस्थितिमा यस मन्त्रालय वैदेशिक रोजगारका क्रममा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई तत्कालका निम्ति आफु जहाँ हुनुहुन्छ त्यही सुरक्षित र सावधानीपूर्वक बस्नु हुन हार्दिक आह्वान गर्दछ । सरकारले विदेशमा रहनु भएका नेपालीका निमित्त आवश्यक सहयोग गर्न कुटनीतिक नियोग निरन्तर परिचालन गरिरहेको छ । विभिन्न कारणवस वेखर्ची भई खान बस्नको समस्या, भिसा वा काम गर्ने संझौताको म्याद सकिएको अथवा तलव लगायतका अन्य विषयमा कुनै गुनासो वा समस्या भएमा सम्बन्धित नेपाली दुतावास, कुटनीतिक नियोग वा आधिकारिक निकायका प्रतिनिधिलाई सम्पर्क राखी आवश्यक सहयोग लिन सकिने व्यहोरा पुनः जानकारी गराउन चाहन्छौं । साथै यस मन्त्रालयले सञ्चालन गरिरहेको निम्न अनुसारको कल सेन्टरमा सम्पर्क गर्न सक्नु हुनेछ र स्वदेशमा रहनु भएका श्रमिकले पनि कल सेन्टरमा सम्पर्क राख्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं ।
(सुमन घिमिरे)
प्रवक्ता
