कतार भिसा सेन्टरसँग सात बुँदे समझदारी

Posted on: 24 Jun, 2021

असार १०, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारका लागि कतार जाने कामदारको भिसा प्रक्रिया सहज पार्न कतार भिसा सेन्टर (क्यूभीसी) सँग नयाँ समझदारी भएको बताएको छ ।

संघका महासचिव सुजित कुमार श्रेष्ठले बुधबार क्यूभीसी समस्या समाधान सम्बन्धी छलफल भई सात बुँदे सहमति भएको भन्दै अबदेखि हरेक महिनाको २० तारेखदेखि २५ तारेखसम्म बिहान ६ बजेदेखि राति १२ बजेसम्म क्यूभीसी एप्प्वाइन्टमेन्ट प्रणाली खुला रहने र आगामी २ हप्ता भित्र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट ३ सयबाट बढाएर ४ सय ५० पुर्याउन भिसा सेन्टर तयार भएको बताए ।

आगामी महिनाभित्र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट बढाएर दैनिक ६ सय ५० सम्म पुर्‍याइने सहमति भएको भन्दै उनले हरेक दिन थप सय जनाको क्यूभीसी गरी प्रत्येक शुक्रबार थप ४ सय जनाको पनि क्यूभीसी गरिने सहमति भएको पनि बताए ।

भिसा एक्सपाएर हुने अवस्थाका कामदारको हकमा भिसा समाप्त हुने मिति र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट लिएर जुनसुकै दिन क्यूभीसी गर्न सकिने, गत मे महिनाको २ देखि ४ तारेखमा लिएको क्यूभीसी एप्वाइन्टमेन्टहरुको भिसा प्रक्रियालाई टुंगो लगाउन आगामी शुक्रबार ४ सय जनाको क्यूभीसी गरीने सहमति भएको भन्दै महासचिव श्रेष्ठले हालसम्म तयार भएको त्यस सम्बन्धी लिष्ट क्यूभीसीलाई दिइएको बताए । उक्त लिष्ट संघको फेसबुक पेजबाटसमेत डाउनलोड गर्नसक्ने महासचिव श्रेष्ठले बताए ।

क्यूभीसी एप्वाइन्टमेन्ट प्रणालीमा पहुँच पाउन नसकेपछि वैदेशिक रोजगार व्यवसायीहरुले क्यूभीसी सेटिङमा चल्न थालेको गुनासो गरेका थिए । सेन्टरले सीमित व्यवसायीले पहुँच पाउने गरी सेन्टरको अनलाइन प्रणाली खोल्ने र बन्द गर्ने गरिएको आरोप लगाइको थियो ।

कतार जाने कामदारको टाउको दुखाई बन्दै 'कतार भिसा सेन्टर', सेटिङ र सिन्डिकेटको आशंका !

यस बिषयमा तपाइको प्रतिक्रिया...!