ऋतिक र सैफको ‘विक्रम वेधा’ फ्लप हुनुको पाँच कारण

Posted on: 19 Oct, 2022

कात्तिक २, काठमाडौं | ऋतिक रोशन र सैफ अलि खान स्टारर फिल्म ‘विक्रम वेधा’ बक्स अफिसमा फ्लप सावित भइसकेको छ । यो फिल्म फ्लप हुनुमा मानिसहरूले अनेक कारण देखाएका छन् । कतिपयले फिल्मको मार्केटिङलाई दोष लगाएका छन् भने यसको गीत ‘अल्कोहोलिया’लाई पनि कारण मानिएको छ । यहाँ यो फिल्म फ्लप हुने पाँच कारण प्रस्तुत गरिएको छ ।

ऋतिक र सैफको 'विक्रम वेधा' को टिजर रिलिज - Global TV

अल्कोहोलिया

यो फिल्म तमिल फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेक हो । तमिलमा ११ करोडको लागतमा बनेको फिल्मले बक्स अफिस ६० करोडको कमाइ गरेको थियो । जबकि हिन्दीमा यो फिल्म एक सय ७५ करोडमा बने पनि व्यापार भने करिब ७५ करोड मात्र गरेको छ । फिल्मको गीत ‘अल्कोहोलिया’मा ऋतिकले उत्कृष्ट नृत्य गरे पनि गीतको वर्ड भ्यालुलाई दर्शकले रुचाएनन् । मदिरासँग सम्बन्धित यो गीतमा ऋतिकका अलावा कुनै ठूलो अभिनेत्रीलाई आइटम नृत्य गराएको भए यसले फिल्मलाई फाइदा पुग्ने अधिकांशको बुझाइ छ ।

राधिका आप्टे

फिल्ममा अभिनेत्री राधिका आप्टेले सैफकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । अधिकांश दर्शकले फिल्मले पारिवारिक दर्शकलाई ध्यान नदिइएको आरोप लगाएका छन् । उनीहरूले राधिकाको स्थानमा अन्य कोही नाम चलेको अभिनेत्रीलाई अभिनय गराएको भए दर्शकलाई थिएटरमा तान्न सक्ने उल्लेख गरेका छन् ।

फिल्मको संवाद

उत्तर भारतका दर्शकले फिल्मको संवादप्रति आपत्ति जनाएका थिए । फिल्मको संवाद तिनै मनोज मुन्तशिरले लेखेका हुन्, जसको फिल्म ‘आदिपुरुष’लाई लिएर बोलेको कारण चर्चामा छन् । फिल्ममा विक्रम र वेधा दुवै उत्तर भारतीय हुन् । तर कानपूरबाट आएर लखनउमा आफ्नो वर्चश्व बनाउने वेधाको बोली यी दुई क्षेत्रको सट्टा बिहारको जस्तो छ ।

फिल्मको प्रायोजित मार्केटिङ

फिल्मको रिलिजअघि नै सामाजिक सञ्जालमा फिल्मको प्रायोजित समीक्षा गर्न र यसलाई ट्रेन्डिङमा ल्याउन एक डिजिटल मार्केटिङ एजेन्सीले मोटो रकम खर्च गरेको थियो । फिल्मको राम्रो समीक्षा गर्न पनि राम्रो रकम खर्च गरिएको चर्चा चलेको थियो ।

रिलायन्सको गलत योजना

कानपूर र लखनउका दर्शकले यो फिल्मको प्रचारप्रसार फरक ढंगले गरेको भए फिल्मले पहिलो साता सानदार कमाई गर्ने दाबी गर्छन् । फिल्ममा अनावश्यक बजेट खर्च गरिएको दर्शकको बुझाइ छ । फिल्म रिलिजअघि हिन्दी भाषी क्षेत्रमा प्रचारमा खर्च नगर्नु पनि फ्लप हुने कारण उल्लेख गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!