यतीको टिकट रद्द गरेका पशुपति शर्मा भन्छन्- ग्रहले जोगायो

Posted on: 15 Jan, 2023

माघ १, काठमाडौँ | आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान ६८ जना यात्रु र चालक दलका चारजनासहित पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ ।


चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्घटनामा पर्नबाट जोगिएका छन् । उनले आज यही विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट फर्कन आज विमानको प्रतीक्षामा थिए । अचानक दुर्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् । कर्म र ग्रहले आफू दुर्घटनाबाट बचेको उनको भनाइ छ ।

पशुपति शर्माले विमान दुर्घटनाबारे गरेको कुराकानी-

खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो । फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ । हामी त अब अवतरण हुन्छ भनेर पर्खेर बसेका थियौं । पछि दुर्घटनाको समाचार देखेपछि साह्रै नमज्जा लाग्यो । रुन मन लाग्यो । मेरा कतिपय साथीहरु जानुभयो हेर्न । मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो । तर, त्यहाँ गएर हामीले न उद्दार गर्न सक्छौं त न अरु केही । बेकारमा होहल्ला र उद्दारमा अवरोध हुन्छ भनेर म चाहिँ गइनँ । दुर्घटना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दुर्घटनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दुर्घटनास्थल क्षेत्रतर्फ लाग्नुभयो । त्यसैले दुर्घटनापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ । मेरी आमा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जिन्दगी एक नाटक हो । कहाँ गएर के हुन्छ भन्ने कसैलाई पत्तो नै हुन्न ।’ हामी हिँडिराख्ने मान्छे । कतिपटक यसै प्लेनबाट मैले आवातजावत गरेको छु । आज यस दुर्घटनामा म आफैं पनि पर्न सक्थें । सायद मेरो कामले म आउनु नपरेको भए, म आज यसै प्लेनमा आइरहेको हुन्थें । मलाई मेरो ग्रह र मेरो कर्मले बचाएको हुनसक्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!