सानैदेखि नै अत्यन्तै जिज्ञासु र भविष्यमा आफ्नै श्रम र सिपमा रम्ने योजना मात्रै हैन आफूसँगै आफूजस्तै व्यक्तिहरुलाई रोजगार दिन सक्ने सक्षम व्यक्ति बन्ने सपना देखेका उनको जन्म तत्कालीन स्याङ्जा जिल्लाको सेती दोभान गाविस अन्तर्गत वडा नं. ८ मा २०३१ साल साउन १९ बुबा शेर बहादुर थापा र आमा अक्षरा थापाको कोखमा जन्म लिइ यो सन्सारमा पहिलो पाइला टेक्नुभएका रामजी बाबु थापा ३ दिदीबहिनी र ४ दाजुभाइमध्ये कान्छा सन्तान हुनुहुन्छ ।
वि.सं. २०४५ सालमा बर्दियाको बेलवा गाविसमा आएर बसोबास गर्नुभएको र २०५६ मा नेपालगञ्जमा सरेर फेरि त्यहाबाट ठाकुरद्वारा आएर पर्यटन तथा होटल व्यवसायमा लाग्नुभयो । राष्ट्रिय प्रकृतिसंरक्षण कोषमा लेखापालको रुपमा कार्यरत बर्दिया तथा बर्दिया गैंडा क्याम्प रिसोर्ट ठाकुरद्वाराका सञ्चालक थापासँग साझा सबाल बर्दियाका सम्पादक प्रभात सुवेदीले हालै वहाँसग लिनुभएको अन्तवार्ताको आधारमा तयार गरिएको यो प्रसङ्ग ।
बाल्यकाल :
सानैदेखि अत्यन्तै जिज्ञासु र आफ्नो काम आफैले गर्नुपर्छ भन्ने मान्यता भएको व्यक्ति थिए । बर्दिया आएपछि मैले राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गर्ने अवसर पाएँ । हालसम्म पनि कार्यरत रहेको छु ।
अनुभव :
शुरुमा त म यस क्षेत्रमा अनविज्ञ थिएँ त्यसैले मैले शुन्यबाट काम गरेँ । आफ्नो पेशा पनि यही भयो र यसैमा लगनीलताका साथ लागे । कोषले वैज्ञानिक अध्ययन अनुसन्धननको काम गर्दो रहेछ भनेर थाहा पाएपछि मलाइ पनि जागीरको कारण यही क्षेत्रमा कटविद्ध भएर काम गर्न मन लाग्यो । सम्बन्ध र चिनजानका आधारमा पर्यटन व्यावसायमा आकर्षित भएँ ।
शुरुका दिन :
शुरुवातमा बर्दिया राष्ट्रिय निकुञ्जमा नगन्य मात्रामा विदेशी पर्यटक आउने गर्दथे । नेपाली समाजमा भने त्यति घुम्ने परम्परा थिएन । तर विगत ४÷५ वर्षदेखि भने स्वेदेशी तथा विदेशी पर्यटकहरुको आगमन राम्रो छ । त्यतिबेला आउँदा भैतिक पूर्वाधार र होटलहरुको स्तरीयता थिएन त्यसैले यो ठाउँमा राम्रो होटल सञ्चालन गर्नु पर्छ भन्ने भित्रैबाट इच्छा जाग्यो र साथीहरुसँग कुरा राखेर ४ जना मिलेर विटिआर शुरु ग¥यौँ कम्पनीमा विधिवत रुपमा दर्ता गरेर होटल व्यावसाय शुरु गर्यों ।
व्यक्तिगत भूमिका तथा जिम्मेवारी :
शुन्यबाट शुरु गर्यों र मैले विटिआरमा मेनेजर भएर ४ वर्ष काम गरेँ । दिनहरु वित्दै जाँदा धेरै साथीहरुसँग हेलमेल भयो । कमाई राम्रो हुँदै गएपछि लगानी पनि थपिँदै गयो र होटल स्थापित भयो अहिले यस क्षेत्रको राम्रो होटल मानिन्छ बर्दिया टाइगर रिसोर्ट (विटिआर) जहाँ २० जना स्थानीयहरुले रोजगार पाएका छन् ।
एकल व्यावसायको शुरुवात :
काम गर्ने अनुभव भएकाले एकल रुपमा काम गर्न मन लागेर साथीहरुसँग कुरा राखी सहमतिमा म छुट्टिएर २०७३ साल कात्तिक २४ गतेदेखि यो गैंडा रिसोर्टको स्थापना गरी सञ्चालनमा ल्याएँ । होटलका लागि आवश्यक बस्तुहरु तथा अन्य आवश्यकीय सामग्रीहरु संभव र उपलब्ध भएसम्म स्थानीय किसानहरुबाट नै खरिद गरिदिएका छौँ जसले स्थानीय कृषकहरु पनि निकै खुशी छन् ।
के फरक छ त गैंडा रिसोर्टमा ?
विटिआरबाट हासिल गरेको अनुभव तथा स्वेदशी तथा विदेशी पर्यटकहरुको रुची बुझिसकेको हुनाले मैले नेपाली मौलिक संरचनाको घरहरु बनाएको हुँ । यसमा स्थानीय साथीभाइहरुको सल्लाह सुझाब पनि लिएको छु । विदेशीहरु नेपालीपन झल्किने घरमा बस्न चाहने र सबै कुरा प्राकृतिक नै हुनु पर्छ भन्ने मान्यता राख्ने रहेछन् । तर पनि भौगोलिक परिवेश र वातावरणीय कुराहरुका कारण पूर्ण रुपले प्राकृतिक आवास बनाउन भने निकै चुनौती रहेछ । तराईको ठाउँ किराहरुको डर, अनि वन्यजन्तुको आक्रमणबाट बच्न सुरक्षा तथा प्राकृतिक दृष्टिकोणबाट सुरक्षित आवास बनाउनु पर्ने भएकोले अलिकति केही आधुनिक तवरबाट यसलाइ फिनिसिङ गरिएको छ ।
प्रारम्भिक लगानी कति लाग्यो ?
यसरी वातनुकुलित आवास गृह निर्माणका लागि एउटा घरको फिनिसिङ गर्दा १६ लाखको लगानी लगानी भएको छ । ४ ओटा घरहरु किचेन डाइनिङ रुम गरेर अहिले ८० लाखको लगानी गरेको छु । यो लगानीबाट म मात्रै पालिएर भएन मैले मेरो परिवारको भविष्य पनि सोच्नु पर्दछ । यसका साथै मैले सञ्चालन गरेको व्यवसायबाट केहीले रोजगार पाउन भन्ने मेरो उद्देश्य हो । विगतमा बस व्यवसाय पनि गरें तर असफल भयो र यसमा लागेँ । अहिले भने आफ्नै व्यावसायमा ४ जनालाई रोजगार दिएको छु ।
रोजगारका लागि कसलाई प्राथमिकता ?
मैले मेरो होटलमा खासगरी द्वन्द्व पीडित र वन्यजन्तु पीडित परिवारका सदस्यलाई मैले अवसर दिनेछु । यसका साथै मेरो कमाईको केही प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्छु ।
भविष्यको योजना ?
निकट भविष्यमा तालीम हलका साथै यसको अझ स्तरोन्नती गर्दै लैजाने योजना बनाएको छु । बर्दिया राष्ट्रिय निकुञ्जले सकेजति सहयोग गरेको छ भने हामीले पनि सहयोग गर्नु पर्छ भन्ने मेरो मान्यता हो । यसका लागि हर प्रयास रहने छ ।
अन्तिममा केही ?
बर्दिया राष्ट्रिय निकुञ्जमा वार्षिक २० हजार पर्यटक आउँछन् र राजश्व पनि त्यत्तिकै मात्रामा संकलन हुन्छ तर राज्यले यो क्षेत्रलाई उपेक्षा गरेको छ । सडक तथा बिजुलीबत्तीको समस्या रहेको छ पोल तथा तारहरु अस्तव्यस्त छन् । लाइन आउँछ तर बत्ती बल्ने अवस्था छैन । इन्टरनेटको सुविधा पनि उस्तै दूर्गती रहेको छ । त्यसैले राज्यले बर्दिया जिल्लामा रहेको राष्ट्रिय निकुञ्जलाई पनि पर्यटकिय गन्तव्य क्षेत्रको रुपमा राखोस् र यहाँको भौतिक पूर्वाधारहरुको निर्माणका लागि राज्यले विशेष ध्यान दिनु पर्दछ भन्ने मेरो धारणा हो ।
कुराकानीका लागि समय प्रदान गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद ।
धन्यवाद हजु र हजुरको लोकप्रिय सञ्चारमाध्यम साझा सबाल अनलाईन प्रति हार्दिक आभार प्रकट गर्दै यस मिडियाको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु ।