१८ दिनमा हलेसी मन्दिरबाट पाँच लाख भेटी संकलन

Posted on: 03 Apr, 2022

चैत्र २०, खोटाङ | १८ दिनमा खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट पाँच लाख भेटी संकलन भएको छ । गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५ लाख ४ हजार ९०० भेटी रकम संकलन भएको हो । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने मन्दिरको शिव पार्वती थानबाट ४ लाख ३६ हजार र मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ६८ हजार ९०० आम्दानी भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । 

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरबाट भएका आम्दानीमध्ये पानी, भेटी गणना, अतिथि सत्कार, खाजा लगायतमा ६२ हजार ५१० खर्च गरेर बाँकी रहेको ४ लाख ४२ हजार ३९० रकम माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । हलेसीमा आउने दर्शनार्थीले चढाएका भेटी रकमलाई गणना गरेर आम्दानीका रूपमा सार्वजनिक गर्नेगरिएको छ । 

यस अवधिमा सिन्धुपाल्चोक धुमथा–१ का धनबहादुर गुरुङले १ तोलाको सुनको दियो र ३ तोला ८७ लालको चाँदीको प्लेट चढाएको सूचना केन्द्रले जनाएको छ । यस्तै, बुढानीलकण्ठ नगरपालिका–१० कपनका कान्छा तामाङले २५.१० तोलाको विस्फोट आकारको १ थान चाँदी चढाएका छन् । 

यस्तै, अन्य दर्शनार्थीले भारु ३ हजार ४००, अमेरिकन डलर १, चाँदी १४.६५ तोला र सुन ०.००५९ तोला चढाइएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!