एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछन् ।
जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त छन् । उनको पुष्ट भरिएका छातीहरु, मृगनयनी आँखाहरु, हरिणको चालबाजीमा चलमलाएका शरीरहरुमा जताततै चुसिरहुँजस्तो रस छ । सलक्क मिलेको कालो केशले उनको मुहारलाई नै प्रष्ट चन्द्रमाजस्तै चम्किलो बनाएको छ ।
उसले पनि उनलाई भेट्ने मौका पाएछ । उ धेरै धनी छ, उसले धेरै चर्चा पाइसकेको छ किनकी उ एसियाकै तेस्रो धनी व्यक्ति हो ।
ति शुन्दर युवतीलाई भेटेपछि उसले धेरै रहरहरु उत्पन्न गरायो । उसको कल्पना अरुको भन्दा बेग्लै छ किनकी उसको त्यो कल्पना अबश्य पुरा हुन्छ, उसले सोच्दछ ।
उसको उमेर ४० कटेको भएतापनि उसलाई यौन इच्छा छ । त्यो युवतीलाई भोग गर्ने इच्छा छ । त्यसैको तृप्तिको लागि पनि उसले तिनै युवतीलाई अंगाल्न आँटेको छ । उसको क्षेणिक आनन्दमा लिप्त बन्नकै लागि उनीसँग नजिकै जान उसको पैसाले ठूलो भूमिका खेल्छ र नभन्दै केहि दिनमा त्यसै भयो ।
सबैलाई चासोको विषय बन्यो । आखिर ती युवतिले उसैसँग प्रेम पनि गरिन् रे, सबैतिर चर्चा चुलियो । 'आखिर त्यो ४० वर्षको बुढोसँग १९ वर्षे शुन्दर युवती कसरी फसिछन्' – धेरैले यस्तै सोचे ।
सबै जादु उसको पैसाले गर्यो । ति युवती उसको पैसाको अगाडी मैन पग्लेझैं पग्लिदै गइन् ।
युवतिको प्रेम महिनौं चल्यो ।
ती युवती त्यो ४० बर्षे पैसावालको ठाउँ -ठाउँका गहना बनी, अनि पल-पलको तृप्ति पनि ।
उसले उनलाई चुस्नुसम्म चुस्यो -अंगप्रत्यांगमा चुस्यो । यति चुस्यो कि रस सिद्धिएको उखुको खोस्टाझैं बनुन्जेल ! अलि-अलि गुलियोको स्वाद जिब्रोले लिउन्जेल !!
सहरमा ठूलो हल्ला चल्यो कि ती युवतीको प्रेम टुट्यो रे… ।
तिनी भर्खर २०/२१ कि सलक्क मिलेका कपाल, पुष्ट छाती, गुलावी ओठ, जताततै खेलाइरहुँजस्ती…, यस्तै सोच्दै उनि कहाँ छिन् ? सबै केटाहरुले उन्लाई खोजेछन् ।
तर उनको खोजि निरर्थक रह्यो । उनि भेटिइनन् वा उनको खोस्टोझैँ रुप कसैले चिनेनन् ।
एकदिन अँधेरी रातमा रत्नपार्कको कालो सडकमाथिबाट प्राकृतिक सवार गरिरहेको एउटा युवकले एउटा कुनामा सानो शिशु रोइरहेको आवाज सुन्यो । – आsss-उआ… ! निरन्तर….
'यति राति त्यो समय कसले त्यो बच्चालाई त्याहाँ राखेछ ?' युवकमा शंकामाथि उपशंका उव्जियो, अनि उतै गएर हेर्यो । त्यो शिशु अझै रोइरहेको थियो । – आsss-उआ… !
युवकले देख्यो – त्यहाँ उसकी आमा समेत थिई । ऊ चिसो भुँइमै सुतेकी थिई, शरीरलाई कोल्टे बनाएर ।
जुनेली रात तर सिनमा झैँ छर्लंग अनुहार देखिएको थिएन ।
त्यो शिशु उनको स्तनपान गर्दागर्दै पनि रोइरहेको थियो ।
युवकले सोच्यो.. 'यो त रत्नपार्क पो हो । मागी खाने अनेकन नाटक हुन्छ यहाँ !'
अरु दिन पनि रत्नपार्क आउजाउ गर्ने उसलाई माग्नेहरुले गर्ने नाटकले आजित बनाएको थियो तर आजको घटना अलि पृथक लाग्यो । किनकी त्यहाँ कुनै नाटक गर्न सक्ने दिमाग भएको मानिस रोइरहेको थिएन । एउटा अबोध बालक रोईरहेको थियो । आफ्नो आमाको दुध चुस्दै-रिसाउदै-रुँदै… !
युवक हेर्दै टोलायो ।
बच्चा एकोहोरो आफ्नी आमासँग रिसाई रहेको छ । सायद स्तनको लाम्टोसँग उसले रिस पोखिरहेको छ ।
युवकलाई पनि उसकी आमाप्रति अचम्मको रिस उठ्यो ।
'बच्चालाई फकाएर दुध पिलाउनु पर्छ नि ?' मनमनै सोच्यो ।
अनि बच्चा नजिकै गएर ती महिलालाई बिउँझाउने प्रयत्न गर्यो । उसले बोलाउन खोज्यो, त्यो विधि उसलाई उपयुक्त लागेन किनकी त्यो शिशु धेरै अगाडिदेखि रोईरहेको थियो, चकमन्न रातमा । रत्नपार्क वरिपरिका भुस्याहा कुकुरहरु कहिँ कतै रोईरहेका सुनिन्छन् । फाटफुट कारहरु दौडिएका छन् त्यस बाहेक त्यो क्षेत्रमा सबैभन्दा बढी अशान्त त्यो बालक रोएर गराएको छ । शिशु रुँदा रुँदा थाकिसकेको छ, रोदनसँग स्वास मिसिएर आउँदा कहिकतै आवाज टुटेका छन् ।
युवक नजिकै पुग्यो, शिशुको आमाको मुखमा लाईट बाल्यो ।
उ एक्कासी झसंङ्ग भयो । सरिरमा चिट-चिट पसिना निस्किन थाले ।
मनमा कता-कता परिचित, कता-कता देखेको-भेटेकोजस्तो मानिसको अनुहार उसले याद गर्ने कोसिस गर्यो । उसलाई लाग्यो यो महिलालाई मैले कहाँ देखें ? उसले पुराना यादहरुलाई ताजा बानाउँदै टि महिलासँग दाज्ने प्रयास गर्यो ।
अन्तत: उसको दिमागमा १/२ बर्ष अघि आफै पछी लागेको युवतीको अनुहार नाच्न थाल्यो । त्यो महिलाले सलक्क मिलेका कपाल, पुष्ट छाती, गुलावी ओठ, जताततै खेलाइरहुँजस्ती पुरानी युवतीको आकृति देखाईदियो ।
'अरे… तिमी ?' युवक अचम्मित भयो ।
त्यो सडककी युवति त्यही थिई जसलाई उसले संसारकै राम्री भनेर उपमा दिएको थियो । केहि बर्ष अघि उनलाईनै आफ्नो बनाउने सोचेको थियो ।
मतलब – उनलाई पछ्याउने हजारौं युवा मध्ये उ पनि एक थियो !
युवकले उनको सम्पूर्ण स्थिति नियाल्यो ।
पहिलेको पुष्ट छाती ओइलाईसकेको फूल जस्तै बनेछ ।
जून फूललाई कसैले चुसेर भ्याइसकको थियो, सन्तुष्टिको लागि ।
आज त्यही फुल 'स्तन'लाई त्यो रुँदै गरेको शिशुले चुसिरहेको थियो,
जीवनको लागि ।।
उनको सम्पुर्ण शरीरहरुमा कुनै रंग थिएन, नत थियो यौवन रस । पहिले चन्द्रमा झैं टल्किने मूहार पनि उसले हेर्यो, अनि गुलावी ओठ, त्यो ओठ पहिलेको जस्तै थिएन । उनको ओठ निलो थियो । आँखाका घेरामा पहिले पोतिएको रङ्ग अब थिएन । पुक्क पुष्ट गाला पनि ओईलिएर निरस भएको थियो ।
युवक महिलालाई हेरेर टोलाईरह्यो ।
उसले मुटुलाई मस्तिस्कसम्म केन्द्रित गरेर जबर्जस्ति आफूलाई नियन्त्रणमा ल्याउने कोसिस गर्यो ।
केहिबेर अघिसम्म स्वासले मात्र रोइरहेको वालक अब शान्त छ ।
उ अब उसकी आमाको स्तनसँग युद्ध गर्दैछैन । त्यसो त शान्तसँग स्तन चुसिरहेको पनि छैन ।
युवकले हेर्यो – उसकी आमाको स्तन पोटिलो छैन । सुकेर छाला मात्र बाँकी छ ।
….. शंका ।
ती महिला स्वास फेरिरहेकी थिइनन् । अब त शिशु पनि रोईरहेको थिएन… ।
महिला हेर्न छाडेर युवकको ध्यान शिशु तिर गयो । रुँदा रुँदा ओठ-मुख सुकेको त्यो शिशुले आफ्नो परान त्यागिसकेछ ।
युवक आफै झस्कियो । अनि बल गरेर आफ्नो हात शिशुको नारीमा पुर्यायो । शिशु मरिसकेछ… ।
फेरी उसकी आमाको छातीमा हात राख्यो… ।
उ एक्कासी भक्कानियो- महिला चार/पाँच घण्टा अगाडि नै मरिसकेकी रहिछ ।
- अनिल अधिकारी (उपन्यास – 'नयाँ संसार' २०६७) बाट