उ एकोहोरो टोलाईरहेछ,

कसैलाई बोलाईरहेछ

लुटियो मेरो स्वाभिमान

चुडियो मेरो आस्था

अनि चिथोरियो

मेरो देशको अखण्डता

किनकी यहाँ छ

साढेहरुको शासन तन्त्र

धन्य छ मेरो देशको गणतन्त्र !

उ कसैलाई सुनाउन चाहिरहेको छ

मेरो देशको बयान

सीता, जानकीको जन्मभुमि

राम, कृष्ण र जनकको

कथाले लेखिएको गाथा

बुद्धले छरेको शान्ति

अनि पुर्खाले कोरेको इतिहास

तर अहँ कोहि छैन बरिपरी

सुनिदिने कोहि छैन

किनकी यहाँ चलिरहेछ

नेतालौटी शासन तन्त्र

धन्य छ मेरो देशको गणतन्त्र !

उ अझै जोडजोडले चिच्याईरहेछ

कोहि हुनु र नहुनुमा

कुनै प्रवाह नगरी

अमरसिंह भक्ती थापा र बलभद्रको

बलिदानीलाई सलोट गर्दै छाती पिटिपिटी

एक मुठी माटो उठाएर

कसम खाँदैछ

आमा म तिम्रो दुधको भारा

तिर्न सकुँला नसकुँला

तर तिमीमाथी कहिल्यै गद्दार गर्ने छैन

थाहा छ आमा

देश टुक्राटुक्रा बनाउन

यहाँ देशद्रोहीहरुको भएको छ

एउटै मन्त्र

धन्य छ मेरो देशको गणतन्त्र !!!

उ घुक्क घुक्क हुदै आँसु पुछ्दै

मसिनो स्वरमा धिक्कारीरहेको छ

मलाई खेद छ प्रकृती

तिमीसंग पनि

किन यति धेरै हराभरा सौन्दर्यता ,

कोहिलीको

कुहुकुहु ,

पातबाट निस्कने मीठो

धुन, छनछन बग्ने झरनाको स्वच्छन्दता दियौ ?

गौरवको

सगरमाथा दियौ ?

जहाँ लाछिहरुको छ तन्त्र

धन्य छ मेरो देशको गणतन्त्र !!

स्वर सुक्दै गएको छ उसको

यताउता केहि हेरेजस्तो गर्छ

नजिकैको खाली बोतलको उठाउँछ

कठै बिचरा हामी

मेलम्चीको पानी कुर्दाकुर्दै

म पनि काकाकुल बस्नुपर्ने भएछ

मेशिनबाट झर्ने पानी पिउन

राजधानी जानुपर्ने बाध्यता

जुन सपना बोकेर म

मुक्ति युद्धमा होमिए टाउको फुटाए

एउटा आँखा गुमाए

तर हाम्रो त उपयोग मात्रै भएछ

पापीहरु

कोहि मोटाए कोहि सुन्निए

जो सुन्निनु पर्ने हो अहँ उ कहिल्यै सुन्निएन

जो मोटाउनु पर्ने हो उ कहिल्यै मोटाएन

किनकी यहाँ लुट्रेराहरुको छ संयन्त्र

धन्य छ मेरो देशको गणतन्त्र !!

खानेले खान हुने मात्रै कहाँ खाए र

जुकाले झै खाए, किर्ना झै अघाए, जुम्रा झै खाए

मुख मिठ्याउदै चपाएर खाए

न अख्तियारले समात्यो न प्रहरीले मुक्कायो

सर्प र भ्यागुतो मिलेपछि

पापी र दुस्ट मिलेपछि

यहाँ नहुने कुरा नि हुदोरहेछ

साधुलाई सुलि चोरलाई चौतारी

बोल्नेको जिब्रो काटिन सक्छ

जुधेका साढेहरुको बिचार मिलेपछी

हरियो घाँस मात्रै कहाँ मासिदोरहेछ र

जमिन नै भ्वाङ पर्नेरहेछ

टालेर टाल्न नसकिने गरि

पुरेर पुर्न नसकिने गरि

पैरो जाला कि भन्ने डर छ

अब किनकी

उनिहरुकै बिहे उनिहरु कै छ जन्त

धन्य छ मेरो देश गणतन्त्र !!

खल्तीमा राखेको एक टुक्रा

कागजमा हेर्दैछ उ

के पो छैन र यसमा लेखिदिए हुने

बोलिदिए हुने गाउँ गाउँमा सिहंदरबार

कसले खोज्छ सिंहदरबार पुग्यो कि

हान्ने सिंह मात्रै पुग्यो

एक छाक टार्न १२-१४ घन्टा जोतिने

साहुको हलियाले कसरी छुट्टाउन सकोस

सिंहदरबार हो कि

रिनदरबार हो

कर तिर्न मात्रै पनि भएपनी

१६ बर्से छोरोलाई

उमेर बढाएर खाडी धकेल्नु पर्छ किनकी

जुम्राहरुले खाडीबाट आएको रियल टोक्छन

किर्नाहरुले मलेसियाबाट आएको रिङ्गगेट हसुर्छन

जुकाहरुले जापानबाट आएको येन चुस्छन र पो

५० केजिको शरीर ८० पुगेकोछ

भुइँबाट बङ्गला सरेको छ

किनकी यहाँ उनिहरुकै छ तन्त्र

धन्य छ मेरो देशको गणतन्त्र !!

धन्य छ मेरो देशको गणतन्त्र !!

एक नारायण पौडेल

भमनपा वाड न १३ चितवन

उनिहरुकै बिहे, उनिहरु कै छ जन्त…
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment