काठमाडौं, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका गम्भीर आरोपका सम्बन्धमा आन्तरिक छानबिन अघि बढाउने निर्णय गरेको छ । पार्टीले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
सुनारसँग सम्बन्धित भनिएका विवादास्पद श्रव्य सामग्री सार्वजनिक भएपछि पार्टीले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
सोमबार सार्वजनिक भएका अडियोमा सुनारले एक महिलामाथि अश्लील गालीगलौज, धम्की र आर्थिक दबाब दिएको आरोप लगाइएको छ। अडियोमा महिलाले आफूमाथि कुटपिट, धम्की तथा निजी भिडियोका माध्यमबाट दबाब दिइएको गुनासो गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, सार्वजनिक अडियोको आधिकारिकता र आरोपहरूको स्वतन्त्र पुष्टि भइसकेको छैन ।
यसैबीच, रास्वपाले जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता आरोप अत्यन्त गम्भीर र संवेदनशील रहेको उल्लेख गरेको छ।
पार्टीले विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको बताउँदै आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ ।
महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन तथा पदीय नैतिकता कायम राख्न सुनारलाई छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको जनाएको छ।
पार्टीको आन्तरिक छानबिनसँगै राज्यका सम्बन्धित निकायबाट समेत अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनुपर्ने रास्वपाको भनाइ छ । अनुसन्धानमा पार्टीका तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा आफू दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा विधानबमोजिम थप कदम चाल्ने जनाएको छ । साथै कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धता पनि पार्टीले दोहोर्याएको छ।
अडियो प्रकरण आउनुअघि सुनारले आफूमाथि लगाइएका आरोप प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका थिए ।
सुनार बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट रास्वपाका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
