
काठमाडौँ | नेपाली कांग्रेसको देउवा पक्षीय नेता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका महतले सभापति थापाले केही दिनअघि पार्टी छाडेर अर्को पार्टीमा लागेका नेता–कार्यकर्तालाई कारबाही गर्ने बताएको विषयमा प्रतिक्रिया दिँदै आपत्ति जनाएका हुन् ।
नेता महतले कांग्रेसको इतिहास, विचार र विरासत बोकेका नेताहरूलाई पन्छाएर स्वघोषणाका आधारमा कसैले आधिकारिक कांग्रेसको दाबी गर्न नसक्ने पनि जिकिर गरे । थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै महतले कांग्रेस निर्माण गर्नेहरूकै पार्टी नहुने अवस्था कसरी आयो भन्दै प्रश्न गरे । कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने उद्देश्यले कसैको नियोजित पात्रका रूपमा काम गर्नेहरूलाई वास्तविक उत्तराधिकारी मान्न नसकिने उनको तर्क थियो ।‘नेपाली कांग्रेस जसले निर्माण गर्यो, उसको नहुने, अनि कांग्रेस र प्रजातन्त्र कमजोर बनाउन कसैको नियोजित पात्र बन्छ, उसको कसरी हुन सक्छ ?’ महतले प्रश्न गरे ।
उनले कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत आफूहरूसँग रहेको दाबी गरे । १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा, बीपीपुत्र डा. शशांक कोइराला, गणेशमानपुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिजस्ता वरिष्ठ नेताहरू आफूहरूसँगै रहेको उल्लेख गर्दै उनले यही समूह आधिकारिक कांग्रेस भएको जिकिर गरे ।