
काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीसँग प्रतिस्पर्धा गर्न कठिन हुने देखेपछि नै कांग्रेसमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् । गत मङ्सिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै उनले पार्टीका सबल पक्षको प्रभावकारी प्रचार हुन नसकेको समेत उल्लेख गरे । कांग्रेसलाई नेपालको राजनीतिको ‘विश्वविद्यालय’ को संज्ञा दिँदै महामन्त्री पौडेलले सबैले कांग्रेसबाटै सिक्ने गरेको दाबी गरे । ‘कांग्रेस नेपालको राजनीतिको विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो,’ उनले बैठकमा भने– ‘हाम्रो विधान मुलुककै सबैभन्दा समावेशी छ, तर यस विषयलाई हामीले नागरिक स्तरमा प्रभावकारी रूपमा प्रचार गर्न सकिरहेका छैनौँ ।’ पौडेलले पार्टीको गौरवपूर्ण इतिहास र समावेशी विधानलाई जनस्तरमा स्थापित गर्दै समाजका मुद्दालाई सँगै लिएर हिँड्न सकेमा कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताए ।
बैठकमा महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीको पनि कडा आलोचना गरे । सरकारले संसद्लाई हेपेको, महँगीको भार थोपरेर नागरिकलाई बेवास्ता गरेको र राष्ट्रियतामाथि नै प्रहार गरिरहेको उनको आरोप छ । सुनकोसी मरिन डाइभर्सनदेखि पासपोर्ट काण्डसम्मका अनियमिततामा सरकार जोडिएको दाबी गर्दै उनले सरकारका यस्ता गतिविधिविरुद्ध कांग्रेसले सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए । नागरिकसँग प्रत्यक्ष जोडिनका लागि पार्टीको कार्यशैलीमा सुधार ल्याउनुपर्ने बताउँदै पौडेलले तल्लो तहका बैठकहरूमा स्थानीय नागरिकका ज्वलन्त मुद्दाहरूलाई अनिवार्य एजेन्डा बनाउनुपर्ने धारणा राखे । समाजका हरेक वर्ग, समुदाय र उमेर समूहले कांग्रेसलाई आफ्नो अभिभावक महसुस गर्ने वातावरण निर्माण गर्न वडा तहको बैठक बस्दा कम्तीमा त्यस क्षेत्रका तीन वटा मुख्य समस्यालाई एजेन्डा बनाउनुपर्ने उनको भनाइ छ ।
‘वडाको बैठक बस्दै गर्दा कम्तीमा पनि त्यो वडाको तीन वटा मुद्दा बैठकको एजेन्डा बनोस्,’ उनले भने, ‘बैठकमा कुनै किशोर वा किशोरीले ‘मेरो मुद्दा कांग्रेसको बैठकको विषय बन्यो’ भनेर गर्व गर्ने अवस्था बनोस् । ज्येष्ठ नागरिकहरूले कांग्रेसले मेरो बारेमा बोल्यो भनेर महसुस गरून् र समाजका सबै समुदाय, वर्ग तथा जातिले कांग्रेसले हाम्रो बारेमा आफ्नो एजेन्डा बनायो भन्ने अनुभूति गर्न सकुन् ।’
महामन्त्री पौडेलले पार्टीका प्रतिनिधिहरू जिल्ला, पालिका वा वडामा जाँदा औपचारिक बैठक र कार्यकर्ता भेटघाटमा मात्र सीमित हुन नहुने बताए । कार्यक्रमको परम्परागत स्वरूप बदल्नुपर्नेमा जोड दिँदै उनले भने– ‘अगाडि मञ्चमा गएर सबै जनाले एकै प्रकारको भाषण गर्ने पुरानो शैली अब हामीले बदल्नुपर्छ । पार्टीको प्रतिनिधि भएर जिल्ला, पालिका वा वडामा जाँदा मान्छे मात्र जोड्ने होइन, त्यहाँका ज्वलन्त मुद्दाहरू पनि सँगसँगै लिएर आउनुपर्छ । समग्रमा हामीले नेपाली समाजलाई कांग्रेससँग जोड्नुपर्छ ।