सन्दीपविरुद्ध मुद्दामा अदालतको पूर्णपाठ : असमान हैसियतमा भएको करणीलाई मन्जुरीको भन्न मिल्दैन

Posted on: 30 Jan, 2024

माघ १६, काठमाडौँ | जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ। सोमबार आएको फैसलाको पूर्णपाठमा असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न नमिल्ने व्याख्या गरेको हो।

न्यायाधीश शिशिरराज ढकालको इजलासले १३ पुसमा क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको थियो भने २५ पुसमा उनीमाथि आठ वर्ष कैद र जरिवानासहित पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सजाय निर्धारण भएको थियो। 

भर्खर एसइई दिएकी पीडित र २२ वर्षे लामिछानेबीच विविध आयाममा अन्तर देखिएको फैसलामा छ। न्यायाधीश ढकालको इजलासले दुवैबीच उमेर, आर्थिक र पारिवारिक हैसियत समान नभएको तथा यस्तो अवस्थामा भएको करणीलाई मन्जुरीमा भएको मान्न नमिल्ने निष्कर्ष निकालेको छ। 


सर्वोच्चबाट मन्जुरी र असमान हैसियतबीच करणीका घटनामा प्रतिपादित नजिर टेक्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका लामिछानेबीच समानता नरहेको न्यायाधीशको ठहर छ। अदालतमा बयानका क्रममा वादी र प्रतिवादीका पक्षबाट आएका कुराहरू हेर्दा अदालत उक्त निष्कर्षमा पुगेको हो। 

‘प्रतिवादी सन्दीप लामिछाने २२ वर्षका र निज नेपाली क्रिकेट टिमका कप्तान रही क्रिकेट खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका मानिस देखिन्छन्। पीडित सन्दीप लामिछानेको खेलसमर्थक (फ्यान) देखिन्छिन्,’ फैसलामा भनिएको छ। प्रतिवादीका तर्फबाट अदालतमा उपस्थित पीडितका साथीहरूले उनको आर्थिक अवस्था राम्रो नभएको तथा आर्थिक सहयोगसमेतको आसले पीडित लामिछानेलाई भेट्न गएको र सोही अवस्थामा घटना भएको फैसलामा छ। 

फैसलामा छ, ‘पीडितको उमेर, निजको पारिवारिक तथा आर्थिक अवस्थासमेत र प्रतिवादीको शारीरिक तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तित्वसमेत हेर्दा यी दुईबीचमा समानता रहेको भन्ने देखिँदैन। पीडित आर्थिक अवस्थासमेतका कारणबाट निज सहज रूपमा दुरुपयोग हुने अवस्थाको देखिन्छिन्। ...पीडितले जबर्जस्ती गरेको भनी भनेको अवस्था र पीडित तथा प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा भएको करणीको कार्यलाई मन्जुरीमा भएको भन्न मिल्ने देखिएन।’ 

असमान शक्ति सम्बन्धमा रही कमजोर व्यक्तिहरू अर्को व्यक्तिप्रति सहजै विश्वासमा पर्ने गरेको, आभारी हुने गरेको तथा आश्रित हुने गरेकाले दुरुपयोगको जोखिममा हुने फैसलामा छ। ‘यस्ता निर्बल व्यक्तिहरूलाई अर्को पक्षले सहज रूपमा दुरुपयोग गर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरू यौन जोखिममा रहेका हुन्छन्। यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मन्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट पनि हेरिनुपर्ने हुन्छ,’ फैसलामा छ। 

प्रतिकार नगरेको मात्र कारणले करणीमा मन्जुरी रहेको मान्न नमिल्ने न्यायाधीश ढकालको ठहर छ। एक पक्षबाट भौतिक बल प्रयोग भएमा वा बल प्रयोग गर्ने धम्की दिएको अवस्थामा, अर्को पक्ष अचेत रहेको वा शारीरिक रूपमा अशक्त रहेको अवस्थामा प्रतिकार नगरी समर्पण गर्नुपर्ने हुन सक्छ । यसलाई मन्जुरी मान्न नमिल्ने फैसलामा छ। 

जिल्ला अदालतले यो घटनामा सन्दीपको करणी गर्ने मनसाय देखिएको ठहर गरेको छ । दिनभर नगरकोट घुमेको र बेलुका सिनामंगलस्थित होटल काठमाडौं इनमा ल्याएर राखेको र पीडित बसेकै कोठामा बस्नुले करणी गर्ने मनसाय देखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

‘सन्दीप घटनाको दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ यस्तो अवस्थामा निजले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलमा नबसी पीडित बसेको कोठामा नै बसेको देखियो’ फैसलामा भनिएको छ, ‘प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु रहेको भन्ने अनुमान गर्न सकिन्छ । पीडितले प्रतिवादीलाई फसाउनुपर्ने सम्मको कुनै कारण पनि देखिंदैन ।’ पीडितले ‘सन्दीपले मलाई घरमा छाडिसक्यो’ भनी रुममेटलाई पठाएको म्यासेजलाई सन्दीपको निर्दोषिताको प्रमाण मान्न नसकिने पनि जिल्ला अदालतले उल्लेख गरेको छ ।

 पीडितको उमेर १८ वर्ष पूरा

जिल्ला अदालतले घटना भएको बेला पीडितको उमेर १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । विभिन्न कागजातमा उल्लिखित जन्ममिति र पत्राचारहरुको व्याख्या गर्दै जिल्ला अदालतले गौशाला २६ को जन्ममिति १८ असार २०६१ मा भएको किटान गरेको छ ।

गौशाला २६ को कक्षा ८ को प्रमाणपत्र, एसएलसीको ग्रेडसिट, चारित्रिक प्रमाणपत्र, नागरिकको अनुसूची फारममा उनको जन्ममिति १८ जेठ २०६२ उल्लेख छ ।

जिल्ला अदालतले सम्बन्धित स्थानीय तहको वडाको पत्र, पीडितले दिएको निवेदन, जन्मेको भनिएको अस्पतालको पत्र समेतका आधारमा जन्ममिति १८ असार, २०६१ साल हुने भनी व्याख्या गरेको हो ।

जिल्ला अदालतले शैक्षिक प्रमाणपत्रका आधारमा कायम गरिदिएको जन्ममितिका आधारमा अर्को व्यक्तिलाई दायित्व निर्धारण गर्न नहुने औंल्याएको हो ।

उनको उमेर तलमाथि हुँदा अर्को व्यक्तिको दायित्व समेत फरक पर्ने भन्दै जिल्ला अदालतले त्यही आधारमा पीडितको उमेर यकिन गर्नुपरेको उल्लेख गरेको छ । फैसलामा भनिएको छ, ‘पीडितले शैक्षिक प्रमाणपत्र अनुकूल हुनेगरी जन्मदर्ता संशोधन गरेको र त्यसैका आधारमा अरुलाई दायित्व बोकाउन नहुने….।’

सन्दीप लामिछाने क्रिकेट खेल्न विदेश गएर नेपाल आएको देखिएको, उनले न्यायिक प्रक्रियामा सहयोग नै गरेको, पीडितलाई गम्भीर शारीरिक हानि नोक्सानी पुगेको नदेखिएको, पहिलोपटक कसुर गरेको आदि आधार देखाउँदै जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय गरेको हो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!