७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमै यस्तो ठाउँः ‘जहाँ लास काटेर गिद्धलाई खुवाइन्छ’

१७ भाद्र २०७४, शनिबार ०१:५७


भदौ १७, काठमाडौँ । मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । 

शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन् ।

उपल्लो मुस्ताङका ६ गाविस मिलेर दुई गाउँपालिका बनेको छ । छोन्हुप, छ्होसेर, लोमान्थाङ गाविस मिलेर लोमान्थाङ गाउँपालिका बनेको छ भने चराङ, घमी र सुर्खाङ गाविस मिलेर दालमे गाउँपालिका बनेको छ । यहाँ विष्ट (थकाली), गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ ।

यो समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प दिन्छन् । ‘कसैलाई जलाउनू भन्छन्, कसैलाई गाड्नू भन्छन् । कसैलाई काटेर पानीमा बगाउनू भन्छन्, कसैलाई चोक्टाचोक्टा पारेर गिद्धलाई खुवाउनू भन्छन्’, विष्ट भन्छन्, ‘काटेर गिद्धलाई खुवाउनुचाहिँ सबैभन्दा राम्रो मानिन्छ ।’

शवको मासु खाएर गिद्धले डाँडाकाँडामा दिसा गरेपछि मरेको मान्छेको पनि वरत्रपरत्र राम्रो हुन्छ र कुलवंश पनि फैलिन्छ भन्ने धार्मिक विश्वास रहेको उनी बताउँछन् । गाड्नुलाई भने नराम्रो मानिन्छ । ‘कुनै डरलाग्दो सरुवारोग लागेर मरेको मान्छेलाई गाड्ने सुझाव लामागुरुले दिन्छन्’, दालमे गाउँपालिकाका प्रमुख राजु विष्टले भने ।

‘सरुवा रोगको महामारी वा घाउ खटिराले मरेकालाई कि गाड्ने कि काटेर कालीगण्डकीमा बगाउने चलन छ’, उनी भन्छन्, ‘गाड्दा लासको रोग अरूमा फैलन पाउँदैन । रोगी मान्छेलाई काट्दा अरूलाई पनि सर्छ । गिद्धलाई पनि सर्छ ।’

पानीमा बगाउने विकल्प पनि रोजाइमा नपर्ने उनी बताउँछन् । ‘पानीले रोगका कीटाणु नाश गर्छ भनेर सरुवा रोगले मरेकालाई चोक्टा चोक्टा बनाएर पानीमा बगाउने विकल्प पनि दिन्छन्’, उनी भन्छन् ।

उनका अनुसार पहिलो प्राथमिकता काटेर गिद्धलाई खुवाउनु, दोस्रो रोजाइको विकल्प जलाउनु, तेस्रो विकल्प काटेर पानीमा बगाउनु र चौथो प्राथमिकता गाड्नुलाई दिने गर्छन् ।लास कुहिने, किरा लाग्ने भएकाले गाड्ने चलनलाई नराम्रो मान्ने धार्मिक विश्वास रहेको स्थानीय शिक्षक धु्रव बराल बताउँछन्।

गिद्धलाई खुवाउनुलाई भने सबैले राम्रो मान्ने लोमान्थाङ गाउँपालिकाका प्रमुख विष्टको भनाइ छ । ‘चराको आहारा हुन पाउँदा मरेपछि पनि सदुपयोग भयो भन्ने धार्मिक विश्वास छ’, उनी भन्छन्, ‘यो विकल्पले चराको संरक्षण पनि हुने भएकाले यो विकल्पलाई सबैले रोज्छन् ।’ जलाउनका लागि उपल्लो मुस्ताङमा दाउरा अभाव हुने उनको भनाइ छ ।

केही वर्षअघि गिद्ध लोप हुँदै गएको थियो । तर, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) ले गिद्ध संरक्षण अभियान चलाएपछि गिद्ध फेरि पर्याप्त हुन थालेको स्थानीय बताउँछन् ।

दालमे गाउँपालिकाका प्रमुख विष्टका अनुसार जलाएर अन्त्येष्टि गर्नु दोस्रो रोजाइको विकल्प हो । ‘वैशाखदेखि असोजसम्म मर्ने मान्छेलाई प्रायः काटेर गिद्धलाई खुवाई अन्त्येष्टि गर्ने चलन छ’, उनी भन्छन् ‘जलाउनका लागि यो क्षेत्रमा दाउराको अभाव छ । जलाउँदा वातावरण बिग्रने, अनावृष्टि हुने डर पनि हुन्छ । त्यसैले लामागुरुले जलाउने विकल्प पनि कम दिन्छन् ।’लास खोलामा फाल्दा पानी प्रदूषित हुने हुनाले पनि गिद्धलाई खुवाउने चलन रोज्ने गरिएको शिक्षक बराल बताउँछन् ।

‘लास काटेर बगाउँदा जलचरले खाने, जताततै फैलिने भएकाले यो चलनलाई राम्रो पनि मान्छन्’, २५ वर्षदेखि मुस्ताङको विद्यालयमा पढाइरहेका शिक्षक बराल भन्छन्, ‘गाड्दाखेरि कुहिने, सड्ने, किरा लाग्ने भएकाले यो विकल्पचाहिँ त्यति राम्रो मान्दैनन् ।’ मान्छे मरेपछि खोला किनारमा लगेर मसिनो टुक्रा पारेर काट्छन् । लामाले मन्त्र पढेर गिद्धलाई बोलाउँछन् र खुवाउँछन् । लास काट्नुअघि दुईदिनसम्म नदीको बगरमा गाडेर राख्ने चलन छ । यसो गर्दा दाहसंस्कार गर्नेलाई मर्ने मान्छेको रोगव्याधी सर्दैन भन्ने विश्वास छ ।

‘लामागुरुले शंख फुकेर अनेक मन्त्र पढेर गिद्धलाई खोला किनारमा बोलाउँछन्’, दाहसंस्कारका प्रत्यक्षदर्शी शिक्षक बराल भन्छन्, ‘लामाले बोलाएपछि गिद्ध पनि हुरुरु आउँछन् ।’ गिद्ध आएपछि मासु र हाडलाई धुलो बनाएर पिठो र रगतमा मुछेर खुवाउने चलन छ । हाड नाताले हाड नफोर्नू, रगतको नाताले मासु नकाट्नू

लास काट्ने पनि यो समुदायको अलग्गै चलन छ । मावलीलाई रगतको र दूधको नाता मानिन्छ । रगतको नाता पर्नेले मासु (रगत) काट्न हुँदैन भन्ने जनविश्वास छ । बुबातर्फका आफन्तलाई हाडनाता भनिन्छ । हाडनाता पर्नेले हड्डी फुटाउनु हुँदैन भन्ने जनविश्वास छ । ‘दूधको नाताले मासु काट्न नहुने, हाडको नाताले हाड फुटाउन नहुने भन्छन्’, उनी भन्छन्, ‘त्यसैले हाडनाता पर्नेले मासु काट्छन् । दूध (रगत)को नाता पर्नेहरूले हड्डी फुटाएर धुलोपिठो पार्छन् । हड्डीलाई पिठो र रगतमा मुछेर गिद्धलाई खुवाउँछन् ।’ धुलोपिठो बनाउन नसक्ने खालको हड्डीलाई गाडेर अन्तेष्टि गर्छन् ।

लास काट्ने मान्छेको अभाव

समयको परिवर्तनसँगै तल्लो मुस्ताङमा लास काट्ने मान्छेको अभाव हुन थालेको छ । जलवायु परिवर्तनका कारण तल्लो भेगमा गिद्ध पनि लोप हुँदै गएको छ । लामाले मन्त्र पढेर, शंख फुकेर बोलाउँदा पनि गिद्ध नआएमा लामाले गिद्धको अभिनय गरेर उफ्रिदै-उफ्रिदै मासु, हाड सबै नदीमा लगेर बगाउने गर्छन् । ‘तल्लो मुस्ताङमा चाहिँ जलवायु परिवर्तनको कारणले होला अहिले गिद्ध पाउन गाह्रो छ’, अर्का स्थानीय शिक्षक प्रदीप पोखरेल भन्छन्, ‘गिद्ध अभाव भए पनि पुरानो चलन त छाड्नु भएन ।

गिद्ध आएन भने लामाले गिद्धको अभिनय गरेर मासु र हड्डी नदीमा बगाउँछन् ।’अहिले लास काट्ने मान्छेको समेत अभाव हुन थालेको उनी बताउँछन् । ‘लास काट्न जो-कोही तयार हुँदैनन्’, उनी भन्छन्, ‘लास काट्ने मान्छे पाउन पनि छाड्यो । गिद्ध पनि आउन छाड्यो । तल्लो मुस्ताङमा यस्तै कारणले त सबैले लास जलाएर अन्त्येष्टि गर्न थालेका छन् ।’कुनै गाउँमा भने लास काट्न बाहिरको (व्यावसायिक) जनशक्ति प्रयोग गर्न पनि थालेको पोखरेलको भनाइ छ ।

तल्लो भेगमा लास काटेर गिद्धलाई खुवाउने परम्पराको अन्त्य भएपछि संस्कृतिप्रेमीहरू चिन्तित भएका छन् । ‘तल्लो मुस्ताङमा पुरानो परम्परा ब्युँताउने कि नब्युँताउने भन्नेबारे छलफल भइरहन्छ’, दालमे गाउँपालिकाका प्रमुख विष्ट भन्छन्, ‘तल्लो मुस्ताङमा दक्षिणतिरको संस्कृतिले पेल्दै लगेको छ । तर, हाम्रो उपल्लो मुस्ताङमा धर्म, संस्कृतिको बढी नै माया गर्ने मान्छे छन् । त्यसैले यो परम्परा चलिरहेको छ ।’ -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश