२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ?

२०७९, २ चैत्र बिहीबार ०६:०३

चैत २, चितवन | नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंसिर ४ मा यही क्षेत्रबाट निर्वाचित रवि लामिछाने चुनावको तयारीमा लागिसकेका छन् । उनी रास्वपाबाट निर्विकल्प उम्मेदवार हुन् । उनैको क्रेजको कारणले गठन गरेको रास्वपा पाँच महिनाभित्र प्रतिनिधिसभाको चौथो दल बनेको छ । सर्वोच्च अदालतको फैसलापछि पदमुक्त लामिछाने फेरि संसद प्रवेशका लागि चितवनमा चुनावी अभियान छन् । उनी पछिल्लो समय पार्टीका नेताहरुलाई साथ लिएर चितवनमै सक्रिय छन् ।


लामिछानेले चुनावको तयारी थालिसकेको पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले बताए । उनले भने, ‘हामीले आन्तरिक तयारी गरिरहेका छौं । उपराष्ट्रपतिको निर्वाचन सकिएपछि हामी चितवनमा जान्छौं । अहिले जिल्ला तहमा नेताहरुले काम गरिराख्नुभएको छ । त्यसमा केही आवश्यक छलफल गर्न हामी गएका हौं ।’ अर्यालले उपराष्ट्रपतिको निर्वाचन सकिएपछि आफूहरु पूर्ण रुपमा निर्वाचनमै केन्द्रित हुने बताए ।

मंसिर ४ को निर्वाचनमा लामिछानेसँग पराजित कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलले चुनाव नलड्ने पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन् । लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रेष्ठले १४ हजार ९८३ मतमात्रै ल्याएका थिए । एमालेका पोखरेलले १४ हजार ६६७ मत पाए ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रेष्ठको भन्दा ३४ हजार २८१ बढी मत पाए । चितवन २ लाई एमालेको प्रभाव क्षेत्र मानिन्छ । तर, रास्वपा सभापति लामिछानेको प्रवेशले यसअघि दुवैपटक जितेका एमालेका पोखरेल हार व्यहोर्न बाध्य भएका थिए ।

हाल यस क्षेत्रमा कांग्रेसबाट चितवन सभापति राजेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठ मुख्य दावेदार छन् । कांग्रेसबाट अर्थशास्त्री स्वर्णिम वाग्लेको चर्चा भए पनि उनको सम्भावना कम छ । उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न पार्टी कमिटीलाई निर्देशन गरिसकेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने, ‘हामीले पार्टी विधानअनुसार प्रक्रिया पुर्‍याएर उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न भनेका छौं । उहाँहरुले पठाएको नाममा पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौं ।’ कांग्रेसको उम्मेदवारले सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको पनि साथ पाउने पक्का छ ।

त्यसो त सात दलीय गठबन्धन भत्किनुअघि एमालेका नेताहरुले रास्वपा सभापति लामिछानेलाई सघाउने संकेत गरेका थिए । तर, अहिले राजनीतिक समीकरण फेरिएपछि एमालेले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ ।

एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्य तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान मेयर गोपी श्रेष्ठको नाम चर्चामा छ । प्रदेश कमिटी सदस्य भट्टराई पोल्ट्री व्यवसायी पनि हुन् ।

यस्तै राष्ट्रिय जनमोर्चाले भने पार्टी उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको छ । अन्य दलले यहाँ उम्मेदवारको घोषणा गरेका छैनन् ।

चितवन २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् । यो क्षेत्रमा २०७० र २०७४ सालको निर्वाचनमा एमालेका पोखरेल निर्वाचित भएका थिए ।

लामिछानेको लोकप्रियताकै कारण २०७९ को निर्वाचनको प्रत्यक्षतर्फ मात्रै होइन समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बनेको थियो । समानुपातिकमा रास्वपाले ३५ हजार ९४५ मत ल्याएको थियो ।

एमालेले १६ हजार ७८४, कांग्रेसले ११ हजार ९१४, माओवादी केन्द्रले ८ हजार ४०७, राप्रपाले ३ हजार २१८ र नेकपा एकीकृत समाजवादीले ६१६ मत प्राप्त ल्याएका थिए । समानुपातिक मत हेर्दा पनि गठबन्धन दलभन्दा रास्वपा एक्लै धेरै अगाडि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति