देश बनाउने जिम्मेवारी युवाको हो : नेता पौडेल

Posted on: 25 Mar, 2023

चैत ११, दमौली | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताउनुभएको छ । रोट-याक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा आयोजित दोस्रो पिएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै पौडेलले देश विकासका लागि युवा अगाडि सर्नुपर्ने बताउनुभयो ।

“देश आजको अवस्थामा आइपुग्नुमा युवाको ठूलो भूमिका छ, देशको थप विकासका लागि पनि युवा अग्रसर हुनुपर्छ”, पौडेलले भन्नुभयो, “युवाहरू देश बनाउने सोच र सङ्कल्प लिएर हिँड्नुपर्छ ।” पौडेलले सामाजिक सङ्घसंस्थाले युवालाई नेतृत्व गर्न सिकाएको भन्दै नेतृत्व लिनका लागि युवाहरू पनि जागरुक बन्नुपर्ने धारणा राख्नुभयो ।

“रोटरी, लायन्सजस्ता क्लबहरूले युवालाई नेतृत्वमा पुग्न सहयोग पु-याएको छ, युवालाई एकजुट पनि बनाएको छ”, पौडेलले भन्नुभयो, “यस्ता क्लबले लोकतन्त्रको अभ्यास गर्न सिकाएको छ ।” रोट-याक्ट क्लब अफ दमौलीसहित रोट-याक्ट क्लब अफ बज्र मनास्लु, गोरखा र स्यम्बु भैसीपाटीको आयोजना र रोट-याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र वीरगञ्ज मेट्रोपोलिस सहआयोजकको रूपमा छन् ।

कार्यक्रममा देशभरका एक सय ८० रोट-याक्ट क्लबका अध्यक्ष, सचिव तथा सदस्य गरी सात सयभन्दा बढीको सहभागिता छ । आन्तरिक पर्यटन प्रवद्र्धनसहित दमौली र तनहुँका विभिन्न पर्यटकीयस्थलको प्रचार–प्रसार गर्नेसमेत कार्यक्रमको उद्देश्य छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!