बारा–२ मा ४ जनाको मनोनयन दर्ता, मुख्य दलका उम्मेदवारको अझै बाँकी

Posted on: 03 Apr, 2023

चैत २०, काठमाडौँ | वैशाख १० को उपनिर्वाचनका लागि बारा–२ मा चार जनाले मनोनयनपत्र दर्ता गराएका छन् । २ स्वतन्त्र, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीको तर्फबाट ४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।

स्वतन्त्र उम्मेदवारहरु विनोदकुमार कर्ण, ध्रवलाल हजरा, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

यो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि उठ्दैछन् । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको साथ छ । जनमत पार्र्टीबाट शिवचन्द्र कुशवाह, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले पनि मनोनयन पत्र दर्ता गर्ने तयारी छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सो क्षेत्रबाट हालका उपराष्ट्रपति राम सहाय यादव जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । उनी १३ हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए ।

माओवादी केन्द्रले उपेन्द्रलाई समर्थन गर्ने भएपछि उनै शिवचन्द्र पार्टी परित्याग गरेर जनमत पार्टीमा गएका हुन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!