कम्बोडियामा ३ हजार करोड लगानी पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु: केपी ओली

Posted on: 30 Oct, 2023

कात्तिक १३, पोखरा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले त्यसलाई पत्ता लगाएमा थप १ हजार बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने चुनौती दिएका छन् ।

पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम र कमजोर पार्न आफूमाथि यस्ता आरोपहरु आइरहने बताए ।

उनले विगतमा पनि ६० वर्ष पुगेकालाई गोली हानेर मार्छन् भन्ने आरोप लगाएको बताए ।


ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु । देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु । एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो ।’

पहिले स्वीस बैंकमा ६० करोड राखेको, बानेश्वरदेखि विभिन्न ठाउँमा महलहरु बनाएको जस्ता हल्ला चलाइएको भन्दै अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उनले बताए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही दिनअघि भारतीय सञ्चारमाध्यमले विगतमा गरेका फेक प्रचारको सहारा लिँदै ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए । उक्त विषयमा ओलीले जवाफ दिँदै प्रमाणित गर्न चुनौतीमात्र दिएका छैनन्, यस्ता आरोप लगाउनेलाई ‘भुस्याहा कुकुर’को संज्ञा दिएका छन् ।

आफूले नेपालको जमिन समेटेर चुच्चे नक्सा जारी गरेपछि केही भारतीय मिडियाले कुप्रचार गरेको र उनीहरुले गल्ती सच्याइसकेका त्यस्तै प्रचारको सहारा लिएर अहिले ३ वर्षपछि फेरि यस्ता हल्ला चलाइएको अध्यक्ष अ‍ोलीले बताए ।

आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति राष्ट्रका नाममा दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्नेसमेत कार्यकर्तालाई सुनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!