माओवादी छाडेका शर्मा जसपा प्रवेशको तयारीमा

Posted on: 22 Mar, 2024

चैत ९, काठमाडौँ | माओवादी केन्द्रबाट राजीनामा दिएका रामकुमार शर्मा जनता समाजवादी पार्टी नेपालमा जाने तयारीमा लागेका छन् ।  

उनले हिजो माओवादी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । स्रोतका अनुसार नेता शर्मा पार्टीमा राजीनामा दिनुभन्दा पहिला नै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरिसकेका थिए । अध्यक्ष यादवले नेता शर्मालाई पार्टीको महाधिवेशन अघि नै पार्टीमा आउन आग्रह गरेका थिए । जसपाको महाधिवेशन २०८१ जेठ २७ गतेदेखि जनकपुरमा हुने भनिएको छ ।  

जसपाका अध्यक्ष यादवले महाधिवेशन अघि नै आएमा पार्टीमा व्यवस्थापन गर्न सजिलो हुने बताएपछि नेता शर्माले माओवादीबाट राजीनामा दिएको स्रोतको दाबी छ । 


नेता शर्माले आफू जसपामा जान लागेको कुरा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई पनि जानकारी गराएका थिए । पार्टीले पछिल्लो समय गरेको कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै आएका नेता शर्माले पार्टीमा जिम्मेवारी दिनुपर्ने माग गर्दै आएका थिए । जिम्मेवारी नपाउँदा पार्टीमा रहनुको अर्थ छैन भन्दै नेता शर्माले मधेस प्रदेशमा कुनै जिम्मेवारी दिन आग्रह गर्दै आएका थिए । 

अध्यक्ष प्रचण्डले थप जिम्मेबारीबारे सोच्न केही समय मागेका थिए । तर सात दिनसम्म प्रधानमन्त्री प्रचण्डबाट नेता शर्मालाई कुनै रेसपोन्स आएन । त्यसपछि थप उनी तीन दिन पर्खे । तैपनि पनि प्रधानमन्त्री प्रचण्डबाट कुनै रेसपोन्स नआएपछि उनले पार्टीबाट राजीनामा दिएको स्रोतले जनाएको छ । 

नेता शर्मासँग यस विषयमा जान्नका लागि पटक पटक प्रयास गरे पनि उनी सम्पर्क आउन चाहेनन् । 

नेता शर्मा आफ्नो सरकारी जागिर छाडेर माओवादी आन्दोलनमा लागेका थिए । माओवादीमा हुँदा उनी उपेन्द्र यादवको साथमा मधेसी जनअधिकार फोरम नेपाल सामाजिक संस्थाको रूपमा गठन गरेका थिए । मधेसमा उनीहरू फोरमका तर्फबाट गतिविधि गरिरहेका थिए । २०६३ मा फोरम पार्टीको रूपमा दर्ता भयो, त्यसपछि रामकुमार शर्मा माओवादी छाडेर फोरममा गए । 

फोरमले सुरु गरेको मधेस आन्दोलनमा नेता शर्मा सक्रिय थिए । सोही क्रममा २०६४ भदौ १३ गते फोरम र सरकार बिच २२ बुँदे सम्झौता भएको थियो । सम्झौतामाथि चित्त नबुझेपछि भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल, किशोर विश्वासलगायतका नेताहरूको साथमा नेता शर्मा फोरमबाट अलग भएर अर्को पार्टी बनाएका थिए । 

त्यही बेला महन्थ ठाकुर, विजयकुमार गच्छदारलगायतका नेताहरू काँग्रेसबाट अलग भएर तराई मधेस लोकतान्त्रिक पार्टी गठनको तयारीमा लागेका थिए । रामकुमार शर्माहरू पनि सोही पार्टीमा समाहित भए । 

२०६४ को पहिलो संविधानसभा चुनाव जितेका रामकुमार शर्मा २०६६ मा तमलोपा त्यागेर माओवादीमा प्रवेश गरेका थिए । त्यतिबेला उनले संविधानसभा सदस्यबाट पनि राजीनामा दिएका थिए । माओवादीबाट डा बाबुराम भट्टराई अलग हुँदा शर्मा पनि उनकै साथमा नयाँ शक्ति पार्टीमा गएका थिए । तर उनी पछि माओवादी केन्द्रमै फर्किएका थिए । 

माओवादीमा रहँदा उनले मधेसका लागि पटक पटक आवाज उठाएका थिए । कहिले समूहमा त कहिले एक्लै पनि माओवादीका अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्रहरु दिइरहेका थिए । मधेसमा पार्टी संगठन सुधार गर्नका लागि उनले पटक पटक प्रयास गरेका थिए । 

उनले कार्यकारी जिम्मेवारी पनि माग गरिरहेका थिए । विघटन भएको राष्ट्रिय मधेसी मुक्ति मोर्चालाई पनि पुनर्गगठन गर्न प्रयास गरेका थिए । त्यसका लागि अध्यक्ष प्रचण्डसँग पटक पटक कुरा गरेका थिए । तर कुनै सुनुवाइ भएन । 

उनी अन्तिम पटक प्रचण्डलाई भनेका थिए, ‘मलाई कुनै एउटा जिम्मेवारी दिनुस् नभए पार्टी छाड्छु ।’ त्यो कुराको पनि सुनुवाइ नभएपछि उनी बाध्य भएर माओवादी पार्टी छाडे । 

तर पार्टी छाड्दा उनले पार्टीका ठुला ठुला नेता भ्रष्टाचारमा मुछिएको कारण आफू नैतिकताका आधारमा पार्टीमा बस्न नसक्ने भनेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!