काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी कार्यालय एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किएको भन्दै कटाक्ष गरेका छन्। मंगलबार बालुवाटारमा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बैंकले समेत एक रुपैयाँ साटेर नदिने टिप्पणी गरे।
‘एक-दुईवटा साना कामहरूमा साथी भाइहरु बहुत हौसिन्छन्, हामी छौँ भन्छन्, चन्दा उठाउँछन्,’ ओलीको भनाइ छ, ‘अस्ति हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए। एक-एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे। एक-एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ। चन्दा एक-एक रुपैयाँ कहाँ साटेर ल्याउने? दिँदैन त्यो पनि।’
पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिने निर्णयको विरोध गर्दै नेकपा एमालेका नेताहरु वृन्दा पाण्डे, उषाकिरण तिम्सिना लगायतले कार्यकर्ताबाट एक/एक रुपैयाँ चन्दा उठाएर पनि बनाउन सकिने अभिव्यक्ति दिएका थिए।