काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन् । पूर्वाधार विकास समितिको बुधबाररको बैठकमा बोल्दै सांसद सापकोटाले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा र हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको आरोप लगाए ।
‘हिजो कुलमानजी हुँदाको अडिट सिस्टम एउटा थियो, अहिले तपाईंहरूले अर्को अडिट सिस्टमबाट लैजानुभयो । त्यही कुरा त भन्नुपर्छ नि,’ उनले भने, ‘ऊर्जामन्त्रीको कुरा अनुसार विद्युत प्राधिकरणको एमडीसहित आवश्यक परे महालेखालाई समेत झिकाएर छलफल गर्नुपर्ने स्थिति देखियो ।’ प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि छलफल गरी स्पष्ट हुन जरुरी रहेको बताए ।
‘विद्युत प्राधिकरणको बहालवाला एमडीलाई झिकाऔँ । कुलमानजीलाई झिकाऔँ । महालेखालाई ल्याऔँ । सबैभन्दा पहिलो कुरा हामी पारदर्शी ढंगले बुझौँ,’ उनले भने । सांसद दाहालले दोषी देखिए कुलमान घिसिङलाई कानुनअनुसार कारबाही गर्न चुनौती पनि दिए ।
‘हामी प्रतिपक्षको रक्षा गर्ने, सत्तापक्षले खेदो खन्ने कुराको बन्द गरौँ । बिलम्ब नगरी सबैका कुरा सुनेर निर्णय गरौँ,’ उनले भने, ‘कुलमानजीको गल्ती रहेछ भने नेपालको कानुनले कसैलाई छोड्ने कुरा आउँदैन ।’ सांसद सापकोटाले राम्रो गरेको जति राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्नेमा जोड दिए ।