२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

१ कार्तिक २०८२, शुक्रबार १४:१६

काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उहाँले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राख्नुभयो ।

उहाँले मुलुकमा भएको जेनजी आन्दोलनलाई शङ्काका रुपमा नहेरी त्यसले उठाएका मूल मुद्दा सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । “जेनजी पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज छन्”, उहाँले भन्नुभयो, “हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ ।”

केन्द्रीय सदस्य पौडेलले पार्टीले पुस्तान्तरण र रुपान्तरणको युवा मुद्दा पार्टीले सम्बोधन गर्नुपर्ने भन्दै पार्टी नेतृत्वमा युवा सहभागिता वृद्धि गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले युवा सहभागिता वृद्धिका लागि डिजी युथ कंग्रेस गठनको अवधारणा प्रस्तुत गर्नुभएको हो । “यसले नयाँ पुस्ताको क्षमता र योग्यतालाई पार्टीमा जोड्ने काम गर्नेछ”, उहाँले भन्नुभयो । पौडेलले वडादेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित हुने गरी नेतृत्व छनोटको प्रस्ताव गर्नुभएको छ ।

पौडेलले विभिन्न देशमा भएका युवा विद्रोहको प्रष्ट सन्देश सुदृढ लोकतन्त्र भएको उल्लेख गर्दै जेनजी आन्दोलनबाट सबैभन्दा बढी लाभ नेपाली कांग्रेसले लिनसक्ने धारणा राख्नुभयो । यसका लागि कांग्रेसले कमजोरीको निर्मम समीक्षा गरी सुधारको वस्तुपरक बाटो रोज्नुपर्नेमा उहाँको जोड थियो । नेता पौडेलले युवा विद्रोहका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको पनि माग गर्नुभयो ।
विद्यमान सङ्कटको निकासमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले पार्टी सभापति शेरबहादुर देउवाप्रति भएको आक्रमणको निन्दा गर्नुभयो । उहाँले सभापतिद्वारा पार्टी बैठकमा असोज २८ गते पेस गरिएको भनाइ जिम्मेवार रहेको भन्दै सोहीअनुसार पार्टी चल्नुपर्नेसमेत बताउनुभयो ।

पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहनुभएका पौडेलले आफूले मन्त्रीका रुपमा रहँदा स्वास्थ्य बिमामा सुविधा वृद्धि र विपन्न वर्गलाई राहतको सीमा बढाएर सुधार थलेको भन्दै बताउनुभयो । यसलाई पार्टीले आधिकारिक नीतिका रुपमा अघि बढाए स्वास्थ्यमा समाजवाद ल्याउन सकिने उहाँको तर्क थियो ।

‘सांसद सङ्ख्या घटाऔँ, जिल्ला समन्वय समिति खारेज गरौँ’

नेता पौडेलले अहिलेको सङ्घ, प्रदेश तथा स्थानीय सरकार खर्चिलो भएका कारण धान्नसमेत जटिल र नागरिकमा असन्तुष्टि बढेको भन्दै पुनःसंरचनाको प्रस्ताव गर्नुभएको छ । उहाँले खर्च कटौती तथा छरितो सरकारको अवधारणा प्रस्तुत गरेर प्रतिनिधिसभा सदस्यको सङ्ख्या २०१ र मन्त्रिमण्डलमा बढीमा १५ जना बनाउनुपर्ने प्रस्ताव पनि गर्नुभएको छ । उहाँले प्रदेशसभाको आकार ४० प्रतिशत कम गर्ने र प्रदेश मन्त्रीमण्डल बढीमा पाँच सदस्यीय बनाउन आवश्यक रहेको धारणा राख्नुभएको छ ।

स्थानीय तह ४०० मा झारेर खर्च कटौती तथा प्रभावकारी सेवा दिन सकिने भएकाले जिल्ला समन्वय समितिको औचित्य नरहेको भन्दै खारेज गर्नुपर्ने उहाँको प्रस्ताव छ । नेता पौडेलले स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखजस्ता पद बोझिलो देखिएको भन्दै त्यसमा कटौतीको प्रस्ताव गर्नुभएको छ ।

महाधिवेशनको मिति कुनै पनि बहानामा नसारौँ

नेता पौडेलले आफ्नो प्रस्तावमा अहिलेको विद्रोहको सम्बोधन, विशेष महाधिवेशनको माग, युवाको संलग्नता वृद्धि तथा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५औँ महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्नुभएको छ ।

“यसले मात्र ताजा जनादेशसहितको नेतृत्व र नीति लिएर पार्टी नयाँ ऊर्जाका साथ अगाडि आउनेछ । नवयुवाको प्रवेश बढ्नेछ । यसले मात्र देशको समस्या हल गर्ने सामथ्र्य राख्नेछ”, उहाँले भन्नुभयो ।

विशेष महाधिवेशनको प्रस्ताव गर्ने साथीलाई धन्यवाद दिँदै उहाँले अहिलेको अवस्थामा यो वा त्यो बहानामा पार्टी अधिवेशन पर म्याद थप्ने आदि विषयले पार्टी र देशलाई गम्भीर सङ्कटमा धकेल्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा